
ललितपुर – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को थापाथलीमा आफ्नै पार्टी कार्यालय छ। त्यहाँ रोबोटले स्वागत गर्ने प्रबन्ध पनि मिलाइएको छ।
तर, सत्ताबाट बाहिरिएको दुई सातायता उक्त पार्टीका नेतालाई उक्त रोबोटले स्वागत गरेको समाचार आइरहेको छैन। बरु एउटा नयाँ ‘भेन्यू’ उक्त पार्टीका लागि लगातार बैठक बस्ने थलोका रूपमा देखा परिरहेको छ। त्यो हो च्यासलस्थित मनोहरा नदी किनारैको ‘तुल्सीलाल स्मृति भवन’।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् तुल्सीलाल अमात्य। उनी २०१५ सालको संसदीय निर्वाचनमा जित्ने केवल चारमध्ये एक कम्युनिस्ट सांसद पनि थिए।
ललितपुर स्वँठः टोलका तुल्सीलाल पदका पछाडि लाग्नेभन्दा पनि त्यागी कम्युनिस्ट नेता रहेको उनकै टोलभन्दा अलिक परका संस्कृतिविद् सत्यमोहन जोशी स्मरण गर्छन्।
‘२००७ सालमा म सरकारी कामको सिलसिलामा नेपालगन्ज जानको निम्ति रक्सौल पुग्दा पहिलोपटक तुल्सीलालजीसँग त्यहीँ भेट भएको थियो,’ जोशी स्मरण गर्छन्, ‘आफ्नै ठाउँको मानिस त्यसरी प्रवासमा बस्न पुगेको जानकारी पाएपछि म उनको बसोबास थलो खोज्दै हेर्न गएको थिएँ जुन एउटा जर्जर फुसको झुपडी थियो जहाँ पराल ओछ्याएर त्यसैमाथि उनी सुत्दै आएको देखेको थिएँ।’
जोशीका अनुसार त्यो पराल ओछ्याएको ठाउँ अगाडि बिजोग पाराकै निभेको अगेनो पनि देखिन्थ्यो जहाँ उनले पकाएर खाने गरेका थिए।
त्यसरी विचारका लागि कठिनतम परिस्थितिमा बाँचेका तुल्सीलालमा जीवनपर्यन्त सुख सुविधाको लालच नदेखेको जोशी सुनाउँछन्।
त्यस्ता नेता तुल्सीलालले सानै भए पनि आफूले जन्माएको पार्टीलाई पछिसम्म निरन्तरता दिँदै आएका थिए।
उता, ०४६ सालको परिवर्तनलगत्तै नेकपा (माले) शक्तिशाली देखियो। तर, ऊसँग झापा काण्डबाहेक ठूलो चिनारी थिएन। यस्तोमा पुष्पलालको ‘लिगेसी’ बोकेको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी)लाई मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधिकारी र प्रभुनारायण चौधरीलगायतले अघि बढाउँदै आएका थिए। ती दिनमा रिपोर्टिङ गर्न टेकु पुग्दा कमजोर अवस्थाको उक्त पार्टी कार्यालयमा कार्यकर्ता पनि विरलै भेटिन्थे। त्यसरी यी दुई अवस्थाका पार्टी एक भएर भव्य ‘नेकपा (एमाले)’ बनेको थियो।
यता स्वँठः स्थित आफ्नै घरमा नेपाल कम्युनिस्ट पार्टीको साइनबोर्ड झुण्ड्याए पनि तुल्सीलालको घरभित्र पार्टी कार्यालय धरि देखिँदैनथ्यो। त्यसताका म उनकै छिमेकी थिएँ। पार्टीको बोर्ड झुन्डिएको छेउको घरमा कार्यकर्ताको आवतजावत मनमोहन अधिकारीको पार्टीमा भन्दा कम देखिन्थ्यो।
कालान्तरमा तुल्सीलालले पनि आफ्नो पार्टीलाई नेकपा (एमाले)मै विलय गराए। वरिष्ठ वामपन्थी नेता तुल्सीलालको ०५४ सालमा नेकपा (एमाले) नेताकै रूपमा निधन भएको थियो।
अमात्यको निधनलगत्तै माधवकुमार नेपालको अध्यक्षतामा ‘तुल्सीलाल स्मृति प्रतिष्ठान’ गठन गरिएको गोपाल शाक्य बताउँछन्।
ललितपुर निवासी शाक्य प्रतिष्ठानका वर्तमान अध्यक्ष हुन्। ०३३ सालमा नख्खु जेल ‘ब्रेक’ गर्नेमध्येका शाक्य नेकपा (एमाले)कै पूर्वमन्त्रीसमेत हुन्।
‘माधव कमरेडको अध्यक्षतामा स्थापना भएको यो प्रतिष्ठानमा त्यसपछि केशव बडाल हुँदै म तेस्रो अध्यक्ष हुँ,’ शाक्यले भने, ‘यतिबेला हामी १८ जनाको कार्यसमिति निर्वाचनबाटै छानिएर आएका हौं।’
अहिले बैठक थलो बन्दै गएको ‘तुल्सीलाल स्मृति भवन’ प्रतिष्ठानकै स्वामित्वमा छ। ‘समाजवादी नेता तुल्सीलालका विचारहरूको खोजी र अनुसन्धानका साथै त्यसको प्रचार–प्रसार गर्न यो प्रतिष्ठान स्थापना भएको हो,’ शाक्यले खुलासा गरे, ‘त्यसले राजनीतिलाई मार्गनिर्देशन गर्नुका साथै सामाजिक परिवर्तन र जनसेवाका लागि पनि उपलब्धिमूलक हुने ठानेका छौं।’
शाक्यका अनुसार उनकै संयोजकत्वमा ‘नेपालमा कम्युनिस्ट आन्दोलन अध्ययन अनुसन्धान केन्द्र’ पनि गठन भएको छ। त्यो केन्द्रको काम पनि यसै भवनमा चलिरहेको जानकारी उनले दिए।
‘मदन–आश्रित प्रतिष्ठानसँग मिलेर विभिन्न दस्तावेज पनि प्रकाशन भइसकेका छन्,’ उनले थप भने, ‘३० भन्दा बढी नेताको डिस्क रेकर्ड गरेर सुरक्षित संग्रह पनि गरेका छौं।’
यी सब सामग्रीले भविष्यमा अध्ययन अनुसन्धान गर्नेहरूलाई सघाउ पुग्ने शाक्यको विश्वास छ। यतिबेलै पनि डा. प्रेम कुँवरको अध्यक्षतामा ‘नेपालको लोकतान्त्रिक आन्दोलन’बारे र डा. बालचन्द्र मिश्रको नेतृत्वमा ‘नेपालको कम्युनिस्ट आन्दोलन’बारे अध्ययन अघि बढाइरहेको पनि उनले जानकारी दिए।
‘सँगसँगै तुल्सीलालबारे खोजी तथा अनुसन्धान पनि जारी छ,’ उनले भने, ‘केहीअघि मात्र तुल्सीलालको जीवनी पनि प्रकाशन गरिसकेका छौं।’
यस बीचमा प्रतिष्ठानको भाइचारा सम्बन्ध चीनको सिचुवान र सियान्सी विश्वविद्यालयसँग बढेको जानकारी पनि उनले दिए।
‘केही वर्षअघि नेता शंकर पोखरेल र प्रतिष्ठानका महासचिव भीमबहादुर क्षेत्रीसहित हामी सिचुवान विश्वविद्यालय पुग्दा त्यहाँ दक्षिण एसियाली अध्ययन केन्द्र फेला परेको थियो,’ उनले थपे, ‘त्यससँग मिलेर केही काम गर्ने पहल पनि अघि बढेको छ।’
यो भवनचाहिँ माधवकुमार नेपाल अध्यक्ष भएकै बेला भारत सरकारको सहयोगमा तयार भएको उनले जानकारी दिए। यसरी प्रतिष्ठानको चीन र भारत दुवै छिमेकीसँग उत्तिकै आत्मीय सम्बन्ध रहेको पनि उनले प्रस्ट पारे।
करिब डेढ दशकअघि भारतले बनाइदिएको भवनमा हालसालै बागमती प्रदेश सरकारले दुई किस्ता गरेर ८० लाख प्रदान गरेपछि थप तला बनेको उनले जानकारी दिए।
शाक्यका अनुसार यो भवन १० रोपनीभन्दा बढी जमिन छ। ‘प्रदेश सरकारले दिएको पैसाले माथिल्लो तलामा तीन सयभन्दा बढी मानिस अट्न सक्ने हल तयार भएपछि यसलाई विभिन्न प्रयोजनमा उपयोग गर्दै आएका छौं,’ शाक्यले थपे, ‘त्यसैमा पछिल्लो समय नेकपा (एमाले)का केन्द्रीय सदस्यहरूको बैठक बस्दै आएको छ।’
तुल्सीलाल अमात्यको नाममा खुलेको यो प्रतिष्ठान स्वाभाविक रूपले नेकपा (एमाले)सँग नजिक भए पनि यसले कुनै गुटलाई च्याप्ने कामचाहिँ नगरेको शाक्य बताउँछन्।
‘अहिले एकैछिनमा यहाँ माधव नेपाल, मोहन वैद्यलगायतको उपस्थितिमा नेता पुष्पलालको स्मृतिमा कार्यक्रम हुन लागेको छ,’ उनले थपे, ‘हामी कुनै गुटका पक्षमा छैनौं भन्ने यो नै ठूलो दृष्टान्त हो।’
कम्युनिस्ट पार्टी मात्र नभई उपेन्द्र यादवको जनता समाजवादी पार्टीले समेत आफूहरूको हल भाडामा लिएर कार्यक्रम चलाएको शाक्यले जानकारी दिए।
‘हामीकहाँ ठूलो हल मात्र नभई टन्नै सवारीसाधन अट्नेगरी फराकिलो पार्किङ क्षेत्र छ,’ शाक्य भन्छन्, ‘त्यसैले सबैथरी विचारधारालाई स्वागत गर्दै आएका छौं।’
पार्टीको ओली वा नेपाल दुवैपक्षीय कार्यक्रममा आफूलाई निम्ता आउने गरेको र दुवैको कार्यक्रममा पार्टी एकताको पक्षमा आफूले विचार राख्दै आएको शाक्यले प्रस्ट पारे।
‘यो भवनमा हलबाहेक २५ भन्दा बढी कोठा छन्,’ शाक्य भन्छन्, ‘भूकम्पले बल्खुको भवन क्षतिग्रस्त भएपछि केपी कमरेडले पार्टी कार्यालयका निम्ति पनि यो भवन मसँग माग्नुभएको थियो।’
त्यतिबेला आफूले सहमति जनाउँदा जनाउँदै पनि कार्यालय धुम्बाराही सारिएको शाक्य सुनाउँछन्। ‘बल्खु कार्यालयका सबै किताब भने उतिबेलैदेखि यहीँ ल्याएर तुल्सीलाल स्मृति केन्द्रीय पुस्तकालय तथा अभिलेखालयमा राखिएका छन्,’ उनले भने, ‘ती सबै पुस्तक तथा दस्ताबेज अहिले पनि सुरक्षित छन्।’
यसरी पार्टी कार्यालय नआए पनि नेकपा (एमाले)का नेताहरूको निम्ति बेग्ला बेग्लै कोठाहरू अहिले पनि छुट्याएर राखिदिएको शाक्य बताउँछन्।
धुम्बाराहीबाट थापाथलीमा सरेको नेकपा (एमाले)को आफ्नै पार्टी कार्यालय भए पनि यहाँ आएर बैठक बस्नुपर्ने कारणबारे सोध्दा शाक्यले त्यहाँ साँघुरो भएकैले प्रतिष्ठानमा आएको हुनुपर्ने लख काटे।
‘यहाँ नेतादेखि लिएर सुरक्षाकर्मीसम्मका मोटरहरू अटाउने फराकिलो क्षेत्र छ,’ उनी भन्छन्, ‘त्यसबाहेक पार्टीले नै घरीघरी चन्दा दिएर उभ्याइरहेको संस्थामा उसकै कार्यक्रम गर्न सजिलो भएकाले यो ठाउँ चयन गरिएको हुनुपर्छ।’
सुरुमा कृषि अस्पताल
मनोहरा नदी किनारको यो सार्वजनिक जमिन ०५७ सालताका तुल्सीलाल अमात्यका नाममा संस्था खोल्न पास गरिएको पूर्ववडाध्यक्ष मंगलवीर व्यञ्जनकार बताउँछन्।
‘त्यतिबेला तुल्सीलाल एग्रिकल्चर हस्पिटल खोल्ने भनेर जग्गा पास भएको थियो,’ व्यञ्जनकार भन्छन्, ‘अहिले त्यसै स्थानमा तुल्सीलाल स्मृति भवन बनाइएको छ।’
नेकपा (एमाले) कै स्थानीय नेता व्यञ्जनकार आफू केपी ओली पक्षधर रहेको बताउँछन्। ललितपुर महानगरपालिकाको यो वडा नम्बर ९ मा यतिबेला कांग्रेसका वडाध्यक्ष छन्।
‘मनोहरा नदी किनारको दुइवटा फराकिलो जग्गामध्ये एउटालाई एन्फाको रंगशाला बनाउन र अर्कोलाई तुल्सीलालको नाममा एग्रिकल्चर हस्पिटल बनाउन भनेर हामीले नै सिफारिस गरेर पठाएका थियौं,’ व्यञ्जनकार भन्छन्, ‘त्यतिबेला पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री भएका बेला उहाँकै निर्देशनअनुसार सिडिओले मलाई उनको कार्यालयमा बोलाएका थिए।’
यसरी सिडिओ कार्यालय गएका बेला त्यहाँ मालपोतका हाकिम पनि उपस्थित रहेको र त्यतिबेलै कृषि अस्पताल खोल्नका निम्ति यो जमिन पास गरिएको उनले बताए।
त्यतिबेला पार्टी नेता माधवकुमार नेपाल र तुल्सीलालका बुहारीहरूको पनि निकै सक्रियता रहेको व्यञ्जनकार सुनाउँछन्। जुनसुकै प्रयोजनमा अघि बढेको भए पनि आफ्नो पार्टीका एक असल नेताको नाममा यसरी भवन बनेको देख्दा आफू निकै खुसी भएको व्यञ्जनकारले बताए।