साप्ताहिक विश्लेषण  (२०७८ साउन ३ देखि ९)

काेराेना भाइरस महामारी: मृत्यु र मृत्युदरकाे अध्ययन

प्यान्डेमिक मापनका विभिन्न पक्षहरु मध्ये एक महत्वपूर्ण पक्ष हो मृत्यु। यदि मृत्यु अत्यधिक भएमा प्यान्डेमिकको कारक रोगले हाम्रो समाजमा ठूलो महत्व राख्दछ र यदि मृत्यु न्यून रहेमा उक्त प्यान्डेमिकले  हाम्रो समाजमा विशेष स्थान नपाउन पनि सक्ला।

तर प्यान्डेमिकमा मृत्यु मात्रै सबैभन्दा ठूलो या महत्वपूर्ण पक्ष भने पक्कै पनि होइन। संक्रमणको संख्या र  संक्रमण दर पनि त्यतिकै महत्वपूर्ण कुरा हो। सामान्यतया संक्रमण जति धेरै भयो मृत्यु पनि त्यति नै धेरै हुन सक्दछ।

प्यान्डेमिकमा मृत्युको मापन दुई तरिकाबाट गर्न सकिन्छ, जम्मा मृत्यु संख्या र मृत्यु दर। यी दुई फरक फरक कुरा हुन् तर यी दुवै एकअर्कासँग सम्बन्धित हुन्छन्। मृत्यु संख्याको मात्रै त्यति ठूलो महत्व हुँदैन जबसम्म मृत्यु दर थाहा हुँदैन। जम्मा संक्रमित मध्ये कति जनाको मृत्यु भयाे? त्यसलाई मृत्यु दर भनिन्छ।

उदाहरणको लागि सन् १९१८मा सुरु भएको स्प्यानिश फ्लुको प्यान्डेमिककालमा करिब ५० करोड जनसंख्या संक्रमित भएका थिए भने करिब ५ करोडको यसैका कारण मृत्यु भएको थियो। त्यस अर्थमा उक्त प्यान्डेमिकमा मृत्यु दर करिब १०% रहेको थियो। यो विश्वको समग्र मृत्यु दर हो तर मृत्यु दर देश अनुसार फरक भएको पक्कै पनि हुनु पर्दछ।

त्यस्तै मौसमी फ्लु (रुघाखोकी) का कारण अमेरिकामा हरेक वर्ष एक लाख जनसंख्यामा करिब ७० मानिस मर्दछन्, अर्थात् मृत्यु दर करिब ०.०७% हुने गर्दछ। तर कोरोना संक्रमणसँग तुलना गर्दा हालसम्म अमेरिकाको कोरोना मृत्यु दर करिब ३.१% देखिएको छ।

मृत्यु दर विभिन्न कुरामा भर पर्दछ जस्तै रोगको उग्रता (Virulence), संक्रमित व्यक्तिको शारीरिक अवस्था, उसको शरीरको प्रतिरोधात्मक क्षमता, संक्रमणको उपचार प्रविधि, प्यान्डेमिक क्षेत्रको स्वास्थ्य सेवाको स्तर, प्यान्डेमिक क्षेत्रको सामाजिक र आर्थिक अवस्था आदि। तसर्थ कुनै संक्रमणको या प्यान्डेमिकको मृत्यु दरलाई विश्वभरि एकै मापनमा सामान्यीकरण गर्न सकिँदैन। अर्थात् मृत्यु दर देश र ठाउँ हेरी फरक फरक हुन सक्दछ।

मृत्यु दर पनि दुई प्रकारको हुन सक्दछ। एक हो  प्यान्डेमिककालको सुरुदेखि कुनै एक समय बिन्दु या अन्त्यसम्मको समग्र मृत्यु दर (Cumulative Death Rate)। अर्को हो त्यस प्यान्डेमिककालभरिको समयलाई विभिन्न खण्ड गरेर निकालिएको खण्डित मृत्यु दर जस्तै मासिक, साप्ताहिक या  दैनिक मृत्युदर।

यस्ता खण्डित मृत्यु दरबाट प्यान्डेमिककालको कुनै पनि समयमा मृत्यु दरको अवस्था तुलनात्मक हिसाबले अध्ययन गर्न सकिने हुनाले प्यान्डेमिकको सहि मुल्यांकन गर्न मदत पुग्दछ। त्यस्तै मृत्यु दरलाई उमेर समूह, लिङ्ग,भौगोलिक क्षेत्र, जातीय समूह आदि अनुसार विभाजन गरेर पनि हिसाब गर्न सकिन्छ जसले गर्दा बढी जोखिममा भएका समूह पत्ता लगाउन सजिलो हुन्छ।

चित्र न.१ ले विश्वको समग्र कोरोना मृत्यु दर देखाएको छ जुन कोरोना प्यान्डेमिक सुरु भएदेखि हालसम्मको जम्मा संक्रमण र मृत्युको आधारमा हिसाब गरेर निकालिएको हो। हरेक दिनको कोरोना संक्रमण र मृत्यु संख्या फरक हुने भएको हुनाले हरेक दिन समग्र मृत्यु दर र दैनिक मृत्यु दर पनि फरक हुँदै जान्छ। विश्वको पछिल्लो समयको  समग्र कोरोना मृत्यु दर (समग्र संक्रमित मध्ये समग्र मृत्यु) २.१५% देखि २.१७% रहेको छ भने दैनिक कोरोना  मृत्यु दर (दैनिक संक्रमित मध्ये दैनिक मृत्यु) १.७% देखि ४% सम्म रहेको छ।

चित्र न.२ ले दक्षिण एसिया र दक्षिण एसियाली देशहरुको पछिल्लो करिब एक महिनाको दैनिक मृत्यु दरको प्रवृत्ति देखाएको छ। दक्षिण एसियाको हालसम्मको समग्र मृत्यु दर करिब १.३५% छ भने दैनिक मृत्यु दर १.६% देखि ७.७% सम्म रहेको छ। दक्षिण एसियाली देशहरुमा अफगानिस्तानको दैनिक संक्रमण दर सबैभन्दा उच्च, अधिकतम करिब १३%, छ भने भुटानको सुन्ना समान छ। पछिल्लो समय श्रीलंकाको मृत्यु दर पनि केही माथि देखिन्छ।

हाल दक्षिण एसियामा समग्र दैनिक कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी रहेता पनि पछिल्लो समय करीब एकडेढ महिनादेखि संक्रमण र मृत्यु घट्ने दरमा कमि आएको छ र यी दरहरु स्थिररुपमा अगाडि बढिरहेको छ। दक्षिण एसियाको विगत १५ दिनको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र न.३ र ४ मा देखाइएको छ।

चित्रमा देखाइए जस्तै दक्षिण एसियामाहाल दैनिक संक्रमण र दैनिक मृत्यु स्थिर देखिएको छ। दक्षिण एसियामा हाल दैनिक संक्रमण औसतमा करिब ४७०००छ भने दैनिक मृत्यु अझै पनि करीब १२००रहेको छ। चित्रमा देखाइए जस्तै भारतको मृत्यु बेलाबेलामा अत्यधिक बढ्ने गरेको छ।भारतपछि दैनिक संक्रमण र मृत्युमा बंगलादेश हाल पनि अन्य देशहरुभन्दा निकै माथि देखिन्छ। वर्तमान लहर सुरु हुनुभन्दा अगाडि दैनिक नया संक्रमण र मृत्यु क्रमश: न्युनतम (base line) करीब १५००० र १०० थियो।

पछिल्लो समय  विश्वको कुल दैनिक कोरोना संक्रमणको करिब १२% र दैनिक कोरोना मृत्युको करिब १३% दक्षिण एसियामा भेटिने गरेको छ।स्मरण रहोस् दक्षिण एसियामा वर्तमान प्यान्डेमिक लहर उच्च बिन्दुमा पुगेको बेला,मे महिनाको पहिलो सातातिर, यी अनुपातहरु क्रमश: ५५% र ४०% सम्म पुगेका थिए।

चित्र न.५ ले दक्षिण एसियाली र अन्य केही देशहरुको गत पछिल्लो १५ दिनको,जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University)र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइए जस्तै बंगलादेशको संक्रमण दर अझै पनि निरन्तर उकालो लाग्ने क्रम जारि छ। नेपालको संक्रमण दर अझै पनि अन्यभन्दा माथि छ भने अमेरिका,बेलायत र जापानको पनि संक्रमण दरमा केही वृद्धि भएको देखिन्छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुलाई २३ का दिनसम्ममा ३४६१११०४ जनामा यो संक्रमण लागिसकेको छ भने ४८०७५१ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ जुलाई १८ देखि २४ (बि.सं. २०७८ साउन ३ देखि ९)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यसलेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ जुलाई १८ देखि २४ (बि.सं. २०७८ साउन ३ देखि ९) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.६ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन,साउन ९गते शनिबारसम्म,देशभरि जम्मा १३१३१ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६७९०१७ पुगेको छ। विगत करिब डेढ महिनादेखि साप्ताहिक संक्रमण संख्या कम हुँदै गएकोमा गतहप्ता भने त्योभन्दा अगाडिको हप्ताको दाँजोमा साप्ताहिक संक्रमण संख्या करिब १५०० ले वृद्धि भई ११६७४ बाट १३१३१ पुगेको हो। त्यस्तै,गत हप्ताको साप्ताहिक मृत्यु पनि त्यो भन्दा अगाडिको हप्ताभन्दा ३ ले वृद्धि भई १६५ पुगेको छ।

यसरी साप्ताहिक संक्रमण र मृत्यु बढ्नु गत हप्ता दैनिक परीक्षण केही बढी गरिएको कारणले गर्दा हाे। दुई हप्ता अगाडि साताभरि जम्मा ५३११७ परीक्षण गरिएकोमा गतहप्ता जम्मा ६५४५७ गरिएको थियो। यसले फेरि पनि कोरोना संक्रमण हाम्रो समाजमा लुकेर बसेको पुष्टि हुन्छ।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा ३२% जति देखिएको छ। विगत केही हप्तादेखि यो अनुपात क्रमश: झर्दै गएकोमा पछिल्लो समय केही बढेको देखिन्छ जुन लकडाउन खुकुलो भई मानिसको आवतजावत बढेको कारणले हुन सक्दछ। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर कास्की,मोरङ,नवलपरासी, सुनसरी, झापा,आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर(Positivity Rate)


प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न.७ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेता पनि पहिलाको दाँजोमा संक्रमण दर (पोजिटिभिटीदर) घट्ने क्रम रोकिएको जस्तो देखिन्छ। गतहप्ता पोजिटिभिटीदर न्यूनतम १४.४७% देखि अधिकतम २४.९२% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२०%रह्यो जुन दुई हप्ताअघि२२%थियो। नेपालको संक्रमण दर दुई हप्ताअघि भन्दा केही कम भएता पनि अझै पनि दक्षिण एसियामा अन्यको भन्दा निकै माथि छ।

संक्षेपमा, विश्वमा कोरोना प्यान्डेमिकका कैयौ लहरहरु आउने र जाने क्रम जारी छ र हालसम्म यस प्यान्डेमिकको अन्त्य हुने कुनै लक्षण देखिएको छैन। पछिल्लो समय विश्वका लगभग सबै ठाउँहरुमा कोरोना संक्रमणको संख्या फेरि केही बढ्न खोजेको जस्तो देखिन्छ र फलस्वरुप विश्वको समग्र दैनिक कोरोना संक्रमण फेरि बढेको छ। करिब दुई हप्ता अघिको दाँजोमा हालको नेपालको दैनिक संक्रमण र मृत्यु फेरि बिस्तारै बढेको जस्तो देखिन्छ।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

prabinshrestha@hotmail.com

डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।

साउन १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्