शिल्पाले भनिन्, ‘मेरो श्रीमान् निर्दोष छन्’

बलिउड अभिनेत्री शिल्पा सेट्टी हिजोआज प्रहरीको मुम्बई अपराध महाशाखाको अनुसन्धानको घेरामा छिन्। उनका श्रीमान् राज कुन्द्रा अश्लील भिडियो निर्माण गरेको आरोपमा प्रहरी हिरासतमा छन्।

भारतीय मिडियाका अनुसार प्रहरी सोधपुछका क्रममा शिल्पाले राज कुन्द्रा निर्दोष रहेको र यो कारोबारमा अरु कोही नै रहेको बताएकी छन्।

शुक्रबार अदालती सुनुवाइपछि प्रहरी शिल्पा र राजको घरमा छानबिनको लागि गएको थियो। अनुसन्धान टोली पैसा र अश्लील भिडियोको कारोबार सम्बन्धी इमेलको खोजीमा छ।

भारतीय मिडियाका अनुसार प्रहरीले सोधपुछ गर्दा शिल्पाले आफ्नो कम्पनी हटसटमा आएका यस्ता विषयवस्तुप्रति जानकार नरहेको बताएकी थिइन्।

अनुसन्धानका क्रममा शिल्पाले राजले लगानी गरेको विषयवस्तु ‘पोर्न’ नभएको र राज कुन्द्रा यसमा सलंग्न नभएको बताइन्। उनले राजका आफन्त प्रदिप बक्सीले उक्त एपको कामहरु सम्हाल्ने पनि उल्लेख गरेकी छन्।

राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेपछि शिल्पाले राजको कम्पनी भियान इन्डस्ट्रिजबाट राजिनामा दिइसकेकी छन्। उनले यो घटनापछि आफूले काम गरिरहेको चलचित्र र रियालिटी शोबाट पनि राजिनामा दिएकी छन्।

साउन १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्