कोरोना कहरबीच कैलाली भन्सारमा राजश्व संकलनमा बृद्धि

धनगढी – कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ। ०७७/७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा ८ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन भएको जनाएको छ।

०७६/७७ मा कोरोना महामारीका कारण लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन भएको थियो। कैलाली भन्सार कार्यालयको तथ्यांकअनुसार ०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकामा ८ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ।

गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालयले भन्सार महसुल ४ अर्ब ८० करोड १५ लाख ५४ हजार रुपैयाँ संकलनको लक्ष्य निर्धारण गरेकोमा ५ अर्ब ४८ करोड ७६ लाख १४ हजार रुपैयाँ संकलन भएको छ।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तीन अर्ब सात करोड १९ लाख ५८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब १२ करोड चार लाख ७३ हजार रुपैयाँ र अन्तःशुल्क ३४ करोड ३८ लाख ५९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा २३ करोड ३३ लाख ४१ हजार रुपैयाँ असुल भएको छ।

गत वर्ष कैलाली भन्सार कार्यालयमा अन्तःशुल्क भने लक्ष्यभन्दा १० करोड रुपैयाँ कम असुल भएको थियो। ०७६/७७ मा भन्सार कार्यालयले लक्ष्यभन्दा एक अर्ब ७८ करोड २१ लाख ६१ हजार रुपैयाँ कम संकलन गरेको थियो। सो आर्थिक वर्ष ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ४ अर्ब ९२ करोड १० लाख पाँच हजार रुपैयाँ मात्रै संकलन भएको थियो।

सो वर्ष कोरोना महामारीको पहिलो लहर फैलिएको र कडा लकडाउन गरिएकाले आयात पनि घटेको हुँदा राजस्व संकलन प्रभावित भएको कैलाली जिल्ला भन्सार कार्यालयले जनाएको छ।

यस वर्ष वैशाखदेखि कोरोना महामारीको दोस्रो लहर चलेपछि लकडाउन भरिए पनि आयात–निर्यात नरोकिएकाले राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ।

त्यस्तै, ०७५/७६ मा पनि भन्सार कार्यालय कैलालीले राजस्व असुल गर्ने लक्ष्य पूरा गर्न सकेको थिएन। तथ्यांकअनुसार सो आर्थिक वर्षमा पाँच अर्ब २२ करोड १३ लाख ४६ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा पाँच अर्ब १९ करोड ७५ लाख १९ हजार रुपैयाँ मात्रै संकलन भएको थियो।

यसैगरी, ०७४/७५ मा पनि लक्ष्यभन्दा आठ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको थियो। तीन अर्ब ८७ करोड ९९ लाख ५१ हजार संकलन गर्ने लक्ष्य निर्धारण भएकामा ४ अर्ब २१ करोड १२ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

चार वर्षको तथ्यांक हेर्दा जिल्ला भन्सार कार्यालय कैलालीले चार वर्षमा राजस्व संकलनको लयमा फर्किएको देखिएको छ।

साउन १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्