परम्परा तोड्दै राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै

काठमाडौँ – नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यसअघि राज्यमन्त्रीको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले शीतल निवासमा गराउने परम्परा भए पनि यसपटक उक्त परम्परालाई तोड्दै सिंहदरबारमै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो।

शपथ ग्रहण कार्यक्रममा अरु मन्त्री र मुख्य सचिवको उपस्थिति थियो।

शपथ ग्रहण लगत्तै उनले स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।

शिक्षा क्षेत्रमा लगानी गरेका राज्यमन्त्री श्रेष्ठले खोपको व्यवस्थापन नै अहिलेको आफ्नो प्राथामिकता भएको बताए।

उनले भने, ‘मेरो पहिलो प्राथमिकता खोपको व्यवस्थापन हो। म त्यसमा लाग्छु। गरिबलाई स्वास्थ्य सेवा दिनु छ। कोरोनाको तेस्रो लहर आउन नदिन म पूर्वतयारीमा जुट्छु।’

साउन १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्