एक वर्षमा विभिन्न घटनामा २४ प्रहरी घाइते

वीरगञ्ज – रौतहटमा अपराध नियन्त्रणका लागि गरिएको कारबाहीका क्रममा ०७७/७८ मा २४ जना प्रहरी घाइते भएका छन्। सो क्रममा प्रहरीले १ सय ४२ राउन्ड गोली फायर गर्नुपरेको छ।

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा प्रहरी कारबाहीका क्रममा प्रहरी घाइते भएको तथा अपराध नियन्त्रणको क्रममा गोली फायर गर्नुपरेको जनाइएको छ।

जिल्लामा हुने गरेको प्रहरी कारबाहीका क्रममा स्थानीय तथा तस्करको आक्रमणबाट प्रहरी घाइते हुनुपरेको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

तथ्यांकका अनुसार अवैध भैँसी नियन्त्रण गर्ने क्रममा चार जना प्रहरी घाइते भएका थिए। सो क्रममा प्रहरीले आठ राउन्ड अश्रुग्यासको गोली, चाइनिज पेस्तोलबाट १४ र एसएलआरबाट एक राउन्ड गरी २३ राउन्ड गोली फायर गरिएको थियो।

यस्तै, जिल्लामा दलित युवक विजय रामको हत्याको विषयलाई लिएर भएको विरोधलाई नियन्त्रणमा लिन गरिएको प्रहरी कारबाही क्रममा पाँच जना प्रहरी घाइते भएको तथा ३८ राउन्ड अश्रुग्यासको गोली र एसएलआरबाट चार राउन्ड गरी ४२ राउन्ड गोली फायर गरिएको प्रहरी प्रवक्ता चिमरियाले जानकारी दिए।

त्यस्तै, रौतहटका मठको जग्गासम्बन्धी विवादमा प्रहरीले ३ राउन्ड गोली फायर गरेको, बजार नामकरणसम्बन्धी विवाद साम्य पार्न आठ राउन्ड गोली र एक राउन्ड अश्रुग्यास प्रहार गरिएको रौतहट प्रहरीको तथ्यांक छ।

जिल्लामा भइरहेको अवैध कुखुरा तस्करी रोक्न खटिएको प्रहरीले तस्करी रोक्ने क्रममा एक राउण्ड गोली फायर गरेको र एक जना प्रहरीसमेत सो क्रममा घाइते भएका थिए।

गाँजा नियन्त्रणमा लिन गरिएको कारबाही क्रममा तीन जना प्रहरी घाइते भएको तथा ११ राउन्ड गोली फायर गरिएको, निषेधाज्ञाको समयमा डिजे बन्द गराउन गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा डिएसपीसहित दुई प्रहरी घाइते भएको तथा सो क्रममा पाँच राउन्ड गोली फायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

मौलापुर नगरपालिकाको ०७८।७९ को नगर सभाका क्रममा भएको विरोध प्रदर्शनमा सात जना प्रहरी घाइते भएका थिए। विरोध प्रदर्शन साम्य पार्न प्रहरीले २४ राउन्ड अश्रुग्यास र १४ राउन्ड गोली फायर गरेको रौतहट प्रहरीले जनाएको छ।

साउन १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्