काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । त्यसका लागि जसपाको कार्यकारिणी परिषदका सदस्यहरु निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सनाखत अर्थात हेड काउण्ट गर्दैछ ।

सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुन लागेको हो ।

सोमबार केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाए अनुसार सदस्यहरु पुगेका हुन् । अध्यक्ष महन्थ ठाकुरले त्यसलाई रोक्न माग गर्दै रिट निवेदन दिए पनि सर्वोच्चले रोक्न अस्वीकार गरेको हो ।

तर सोमबारको प्रक्रिया रोक्ने आदेश नदिएपछि जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवले पाउने सम्भावना बढेको छ । ५१ सदस्यीय कार्यकारणीका ३२ जना सदस्य यादवको पक्षमा छन् ।