भ्याक्सिन लिएकै मानिस पनि किन संक्रमित हुँदैछन्?

हालै अमेरिकाको ओक्लाहामा राज्यमा एउटा बिहेका लागि उपस्थित मानिसहरु संक्रमित बन्न पुगे। संक्रमित भएका मध्ये १५ जना पाहुनाहरुले त भ्याक्सिन पनि लगाइसकेका थिए। जुलाइ ४ तारिखको त्यो संक्रमण विस्तारले वरपर सबैतिर थप संक्रमितहरु जन्माइदियो।

यसरी संक्रमण फैलाउने भाइरस भने कोरोनाकै डेल्टा प्रजाति थियो जुन हाम्रै छिमेकी भारतमा विकास भएको हो र हामीकहाँ पनि त्यसको व्यापक प्रभाव विस्तार भइसकेको छ।

अमेरिका र युरोपका धेरै मुलुकहरुले उसको अधिकांश जनसंख्यालाई भ्याक्सिन वितरण गरिसकेको छ। अमेरिकाको हकमा अहिले संक्रमित देखिएका ९७ प्रतिशतभन्दा बढी विरामी भने भ्याक्सिन नलगाएकाहरु नै छन्।

‘यसको अर्थ हो यदि तपाइले भ्याक्सिन लगाउनुभएको छ भने तपाईँ सुरक्षित हुनुहुन्छ,’ न्यूयोर्कको बेलेभ्यू हस्पिटल सेन्टरका संक्रामक रोग विशेषज्ञ डा. सेलिन गाउन्डर भन्छिन्, ‘त्यसले तपाइलाई असाध्यै जटिल अवस्थामा लैजाने, अस्पतालै भर्ना हुनुपर्ने वा मृत्युकै मुखमा पुग्ने खतराबाट मुक्त गरिदिन्छ।’

अर्कातर्फ भ्याक्सिन लगाएका मानिसहरु पनि संक्रमित भए भन्ने समाचार पढेर चिन्तित हुनु बेकार भएको राष्ट्रपति जो बाइडेनका मुख्य संक्रामक रोग सल्लाहकार डा. एन्टोनी फाउची बताउँछन्।

‘त्यस्तो केसमा भ्याक्सिन असफल भएको होइन,’ गत बिहीबारको संवाददाता भेटघाटमा फाउचीले भने, ‘बरु रोगबाट आफूलाई मुक्त राख्न तपाईँ खुदै असफल हुनुभएको हो।’

यता हाम्रो भेगको अवस्था झनै विकराल छ। विशेषगरी भारत र नेपालमा अझै प्रभावकारी ढंगले भ्याक्सिन वितरण हुन नसकिरहेको बेलामा यो चिन्ता झनै बढी लिनुपर्ने स्थितिमा हामी छौं। किनभने पछिल्लो समय सबैभन्दा ब्यापक रुपले बिस्तार हुने प्रजातिको रुपमा यो डेल्टाले नै सर्वत्र आतंक मच्चाउँदै गइरहेको सर्वविदित छ।
भ्याक्सिन लगाएका मानिसमा संक्रमणदेखि लिएर त्यसबाट हुने जोखिमको खतरा कम भए पनि उनीहरुले कसैबाट लिएको भाइरस कोही अरुलाई सारिदिन सक्ने सम्भावना भने रहिरहन्छ।

त्यसैले भ्याक्सिन लगाएका मानिसहरुले पनि सक्दो मास्कको प्रयोग गरिदिने हो भने अहिलेको जटिल परिस्थितिमा उनीहरुबाट योगदानै हुने विज्ञहरु बताउँछन्।

पछिल्लो समय विकास भएको डेल्टा प्रजाति कोरोना भाइरसको प्रारम्भिक प्रजातिभन्दा दुई गुणाले बढी संक्रामक पाइएको छ। प्रारम्भिक प्रजातिकै बारेमा पनि अध्ययन अनुसन्धान जारी रहेकै अवस्थामा पछिल्लो डेल्टा प्रजातिबारे त धेरै कुरा वैज्ञानिकहरुले बुझ्नै पाएका छैनन्।

भ्याक्सिन लगाएका मानिसको हकमा उनीहरु फेरि संक्रमित हुनुका पछाडि विभिन्न कारण हुनसक्छन्। सबैभन्दा पहिले त उनीहरुले लगाएको भ्याक्सिनले ती मानिसको शरिरमा कस्तोखाले ‘एन्टीबडी’ विकास गरेको छ भनेर हेर्नुपर्छ। प्रजातिहरुसँग लड्न त्यो ‘एन्टीबडी’ कत्तिको सक्षम भयो? भनेर बुझ्नु पनि जरुरी हुन्छ।

तर, जस्तोसुकै अवस्थामा पनि लगाएको भ्याक्सिनले कुनै न कुनै रुपमा शरीरलाई भाइरसबाट बचाउने काम चाहिँ गरिरहेकै हुन्छ। यसले भाइरसलाई चिनेकै हुन्छ र त्यसले कुनै ठूलै जोखिम गर्नुभन्दा अगावै त्यसलाई ध्वस्त पार्ने काम गरिरहेकै हुन्छ।

‘त्यसैले त भ्याक्सिन लगाएका मानिसहरु यदाकदा संक्रमित भइदिए पनि उनीहरु सिकिस्त हुन पाउँदैनन्,’ न्यूयोर्कस्थित रकफेलर विश्वविद्यालयका रोग प्रतिरोधी विज्ञ डा. माइकल सी नुसेन्ज्वीग भन्छन्।

यता हाम्रो भेगमा भने झनै बढी सतर्कता आवश्यक छ।

दोस्रो लहरको प्रभावबाट हामी अहिलेसम्म पनि मुक्त हुन सकेका छैनौं। दैनिक संक्रमितको संख्यामा अहिलेसम्म पनि हामीकहाँ नियन्त्रण देखिएको छैन। अर्कोतर्फ तेस्रो लहरको खतरा पनि विज्ञहरुले औंल्याउन थालिसकेका छन्।

तुलनात्मक रुपले दोस्रो लहरको उच्च विन्दुभन्दा अलिक नियन्त्रित देखिएको भारतमै पनि आइतबार २४ घन्टा भित्र थप ३९ हजार ४ सय ७२ जनामा संक्रमण देखिएको थियो। भारतले ब्यापक मात्रामा भ्याक्सिन लगाइरहँदा पनि यस्तो अवस्था देखिनुले चिन्ता बढाएको छ। विशेषगरी महाराष्ट्र, केरला र केही उत्तरपूर्वी राज्यहरुमा संक्रमणको दर अझ बढ्नथालेको देखिन्छ। यी लक्षणहरुले नै तेस्रो लहरका सम्भावना पनि बढाउँदै लगेको छ। त्यसैगरि कोरोना भाइरसको पनि थप नयाँ प्रजातिहरु विकास हुनेगरी उत्परिवर्तनका सम्भावना उत्तिकै छन्।

भारतले हालसम्म ४३.३१ करोड डोज भ्याक्सिनको वितरण उसका नागरिकहरुमा गरिसकेको छ। यता नेपालमा भने यो मात्रा ४३ लाखको हाराहारीमै सीमित छ।

यस्तो अवस्थामा कोभिड १९ को तेश्रो लहर या त भाइरसमा उत्परिवर्तनका कारणले वा नभए भरपर्दो भ्याक्सिनको वितरण अभावकै कारण हुनसक्ने अवस्था रहेको भारतका स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले शुक्रबार संसदलाई जानकारी गराएका छन्। भारतमा भ्याक्सिनको वितरणमा व्यवस्थापनको समस्यादेखि लिएर यसमा अनेकथरि औषधि उत्पादक तथा गैर औषधि उत्पादकहरुको पनि संलग्नताले परिस्थिति जटिल बनाइदिएको छ।

एक त पछिल्लो समय डेल्टा प्रजातिले नै समस्या सिर्जना गरिरहेको छ भने भावी दिनमा थप नयाँ प्रजाति देखिनेगरि उत्परिवर्तन हुने पनि उत्तिकै खतरा छ।

‘उत्परिवर्तन भनेको सामान्य कुरा हो,’ जनस्वास्थ्यविज्ञ एवं नयाँदिल्लीस्थित सेन्ट स्टेफेन अस्पतालका पूर्व निर्देशक डा. म्याथ्यु भर्गिज भन्छन्, ‘भाइरस विस्तारसँगै अनेकथरि प्रजाति विकास गर्नेगरी उत्परिवर्तन भइ नै रहनेछन्।’

यस्तो अवस्थामा भारतमा अझै पर्याप्त जनसंख्यामा भ्याक्सिनको वितरण नहुनुले स्थिति जटिल बनाएको डा. भर्गिज थप्छन्। त्यसमाथि भर्खरै दोश्रो लहर भोगेको मुलुकका निम्ति त यो अझ नकारात्मक बन्नपुगेको उनको विचार छ।

लामो समयको अन्यौलपछि पछिल्लो समय संसारमा जब धमाधम भ्याक्सिन वितरण हुँदै थियो त्यतिबेलै भाइरसले पनि अझ कडा रुपमा उत्परिवर्तित हुँदै संकट थप्दै लगेको छ।

सबैभन्दा सुरुमा यस्तो चिन्ताजनक समाचार युरोपतिरबाट आउन थालेको थियो। बेलायतका अधिकारीहरुले उक्त मुलुकमा अझ बढी संक्रामक प्रवृत्तिको कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको जानकारी दिएका थिए। त्यसपछि दक्षिण अफ्रिका हुँदै पछिल्लो समय भारतबाट डेल्टा प्रजातिले आतंक बढाएको हो।

यी नयाँ प्रजातिले वैज्ञानिकहरुलाई चिन्तित तुल्याए पनि यो उनीहरुको निम्ति आश्चर्यजनक भने थिएन। संसारभर आफ्नो प्रभाव फिँजाउन सफल कोरोना भाइरसले सबैतिर अनेक तवरबाट हजारौं किसिमका थुप्रै स–साना परिवर्तन आफूमा देखाउँदै जानथालेको अध्येताहरुले रेकर्ड गरिसकेका थिए।

भाइरसको कुनै कुनै प्रजातिले भने ठूलो जनसंख्यामा एकै प्रकारले आफ्नो उपस्थिति जनाउन पुगिरहेको छ। त्यस्तो एकैखाले भाइरस मात्र देखिने अवस्था चाहिँ भाग्यवश मात्र हुन्थ्यो। त्यो भाग्य भनेको खोप, मानिसमा बढ्दो प्रतिरोधक क्षमताजस्ता कुराहरुले गर्दा अन्य भाइरसहरु निमिट्यान्न हुन पुग्दा भएका थिए। अनुसन्धाताहरुले अझ फैलिन सक्नेगरी अनुकूल हिसाबले भाइरसमा सजिलै उत्परिवर्तन हुनसक्ने वा शरीरभित्रको प्रतिरोधी क्षमतालाई छल्नसक्ने पहिल्यै अनुमान लगाएका थिए।

‘यो कडा चेतावनी थियो जसका प्रति हामी अत्यन्त सावधान हुनुपर्थ्यो,’ सियाटलस्थित फ्रेड हटचिन्सन क्यान्सर रिसर्च सेन्टरका इभोलुसनरी बायोलोजिस्ट जेसी ब्लुम भन्छन्, ‘यस किसिमको भाइरसमा हुने उत्परिवर्तन अवश्यम्भावी थियो जुन अब सबैतिर विस्तार पनि हुनेछ। हामी वैज्ञानिक समुदायले यो उत्परिवर्तनलाई नियाल्ने र यसमध्ये कुन चाहिँ कत्तिको प्रभावकारी छ भनेर छुट्याउने काम गर्नु जरुरी छ।’

सुरुमा बेलायतमा भाइरसको नयाँ प्रजाति विकास हुँदा त्यसमा २० किसिमका उत्परिवर्तन देखिएका थिए।

‘यस किसिमको उत्परिवर्तनबाट सिर्जित प्रजातिले अझ तीब्र किसिमबाट संक्रमित पार्न सक्ने देखिन्छ,’ बेलायत सरकारको वैज्ञानिक सल्लाहकार हुनुका साथै स्कटल्याण्डस्थित सेन्ट एन्ड्रयुज विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञसमेत रहेकी मुगे सेभिक भन्छिन्। उनको भनाइलाई पछिल्लो समय विकास भएको डेल्टा प्रजातिले पुष्टि गरिसकेको छ।

‘मेरो विचारमा हामीले यसबारे थप अनुसन्धानात्मक तथ्यांक केलाउनु जरुरी छ,’ उनी भन्छिन्, ‘यस्ता कुराहरु मानिसका आनीबानीसँग पनि जोडिएको हुनसक्ने तथ्यलाई हामीले ठाडै नकार्न पनि सक्दैनौं।’

अहिले धमाधम लगाउन सुरु भएको भ्याक्सिनले पनि रोक्न नसक्नेगरी भाइरसको विकास हुनसक्नेतर्फ विशेषज्ञहरु यतिबेला बढी चिन्तित छन्।

विशेषगरी भाइरल अनुवांशिक कोडमा हुने एक जोडी परिवर्तनले बढी चिन्ता गराइरहेको छ, जसले केही निश्चित एन्टीबडीहरुमा थोरै मात्र प्रभाव देखाइरहेको छ। तर, अहिले प्रयोगमा आइरहेका भ्याक्सिनहरुको प्रभावकारितालाई लिएरै चिन्तित भइहाल्नुपर्ने स्थिति चाहिँ अझै आइसकेको छैन।

‘भएभरका रोग प्रतिरोधी र एन्टीबडीलाई अचानक एकैपटक प्रभावहीन बनाइदिने गरी कुनै एउटै विपत्तिपूर्ण उत्परिवर्तन हुनेछ भनेर चाहिँ कोही चिन्तित हुनु जरुरी छैन,’ डा. ब्लुम भन्छन्, ‘त्यसका निम्ति समयसँगै थुप्रै भाइरल उत्परिवर्तनका प्रभावहरु थपिँदै जान केही वर्ष नै लाग्नेगरि प्रकृया चल्नेछ। कुनै एउटा स्वीच थिच्नेबित्तिकै हुने जस्तो काम यो होइन।’

सबै भाइरसहरु जस्तै कोरोना भाइरस पनि आफ्नो रुपमा परिवर्तन गरिरहन सिपालु छ। यस्ता केहि अनुवांशिक परिवर्तनहरु विश्रृंखलित हुने प्रकारका पनि हुन्छन् भने कुनै चाहिँ अझ प्रभावकारी बनाइदिने किसिमका हुन्छन्।

पछिल्लो प्रकारसँग चाहिँ वैज्ञानिकहरु बढी सावधान छन्। विशेषगरि करोडौं मानिसमा भ्याक्सिन लगाइसकेपछि भाइरसले नयाँ प्रकारमा आफूलाई रुपान्तर गर्न बाध्य हुनेछ। यस्तो अवस्थामा हुने उत्परिवर्तनले आफूलाई कसरी बचाउने र रोग प्रतिरोधीसँग कसरी लड्ने भन्ने हिसाबले उसको विकास हुनसक्छ। अहिले नै पनि भाइरसमा साना परिवर्तनहरु भइसकेका छन्। यस्ता परिवर्तनहरु संसारभर आआफ्नै रुपमा अनेक किसिमबाट भइरहेका छन्। उत्परिवर्तनहरुले भाइरसलाई नै मद्दत गरिरहेको देखाइरहेको छ।

नयाँ अनुवांशिक अवस्थाले कोरोना भाइरसको सतहमा ‘स्पाइक प्रोटिन’लाई परिवर्तन गरिदिन्छ जसले गर्दा मानव कोषहरुलाई संक्रमित गरिदिन मद्दत पुग्नजान्छ। यस किसिमको अनुवांशिक अवस्थाको भाइरस सन् २०२० को प्रारम्भतिर थाइल्याण्ड र जर्मनीमा देखिएको थियो भने त्यसै वर्षको अगस्त महिनातिर डेनमार्क र बेलायतमा व्यापक भएको थियो।

‘सुरुमा त वैज्ञानिकहरुले नयाँ कोरोना भाइरस यथाअवस्थामै रहन्छ र भ्याक्सिन बनिसकेपछि त्यसले तयार पार्ने प्रतिरोधी क्षमताबाट यो बच्न सक्ने छैन भनेरै ठानेका थिए,’ लण्डनस्थित क्विन म्यारी युनिभर्सिटीकी क्लिनिकल एपिडिमियोलोजिस्ट डा. दिप्ती गुरदासानी भन्छिन्, ‘तर बितेका केही महिनाको अनुभवले यसमा उत्परिवर्तन हुन्छ भन्ने स्पष्ट पारिदिएको छ।’

पछिल्लो समय ठूलो जनसंख्यालाई भ्याक्सिनका लागि तयार पार्दा यो उत्परिवर्तित भाइरस ब्यापक रुपमा फैलने प्रवल सम्भावना रहेको पनि उनी औंल्याउँछिन्। भर्खरै तयार भएका थुप्रै रिपोर्टहरुले दुइभन्दा बढी एन्टीबडी मिलेर तयार हुने ‘मोनोक्लोनल एन्टीबडी’ वा ‘कनभ्यालेसेन्ट सेरम’ दिइएका कुनै पनि व्यक्तिमा रोग प्रतिरोधीले कोरोना भाइरस फेला पार्नै नसकिने अवस्थामा पुग्नसक्ने देखाएको छ।

यद्यपि मानिसको शरीरभित्रको सम्पूर्ण रोग प्रतिरोधी प्रणाली चाहिँ शौभाग्यवश धेरै नै शक्तिशाली हुन्छ। अहिले भ्याक्सिन तयार पार्ने फाइजर–बायो एन टेक र मोडेर्नाका उत्पादनहरु आफ्नो सतहमा ‘स्पाइक प्रोटिन’ तयार पार्ने कोरोना भाइरसमा मात्र प्रभावकारी हुनसक्छ। तर, प्रत्येक संक्रमित व्यक्तिले यस प्रोटिनका लागि ठूलो मात्रामा अनि जटिल किसिमका एन्टीबडीहरुको भण्डार लगाउने काम पनि गरिदिन्छ।

‘यसको अर्थ भाइरसका अघिल्तिर हजारौं ठूला बन्दुकहरु तेर्सिएका हुन्छन्,’ न्यूयोर्कस्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका संक्रामक रोग विशेषज्ञ कार्तिक चन्द्रन भन्छन्, ‘छोटकरीमा भन्नुपर्दा कोरोना भाइरसले जतिसुकै उपाय लगाएर भाग्न खोजे पनि हाम्रो शरीर भित्रको प्रतिरक्षा प्रणालीले पत्ता लगाएरै छाड्छ।’

शरीरभित्रको प्रतिरोधी प्रणालीबाट बच्न भाइरसलाई थुप्रै तहमा उत्परिवर्तित हुनुपर्ने हुन्छ र ती प्रत्येक उत्परिवर्तनले शरिर भित्रको सुरक्षा प्रणालीको प्रभावकारितालाई कम पनि पारिरहेको हुन्छ। ‘इन्फ्लुएन्जा’ जस्ता केही भाइरसले त्यस्तो परिवर्तनलाई असाध्यै छिटछिटो थुपारेर राख्ने काम गरिरहेको हुन्छ। तर, दादुराजस्ता भाइरसहरु भने यस्ता परिवर्तनहरु असाध्यै सुस्त गतिमा थुपार्छन्।

डा. ब्लूमका अनुसार इन्फ्लुएन्जा जस्ता भाइरसले पनि शरीर भित्रको प्रतिरोधी प्रणालीबाट बच्न पर्याप्त मात्रामा उत्परिवर्तित हुनको निम्ति पाँच देखि सात वर्ष लगाउने गर्छ। उनको ल्याबले हालै प्रकाशित गरेको नयाँ रिपोर्टले ‘कमन कोल्ड कोरोना भाइरस’ले पनि प्रतिरोधी प्रणालीबाट बच्न आफूमा उत्परिवर्तन ल्याउने गरेको उल्लेख गरेको छ। तर, त्यस्तो उत्परिवर्तन वर्षौं लगाएर हुनेगरेको पनि रिपोर्टमा प्रष्ट पारिएको छ।

अहिलेको महामारीका बेला संक्रमणको मात्रा अत्यधिक हुनसक्छ जसले ‘न्यू कोरोना भाइरस’मा चाँडै नै विविधता उत्पन्न गरिदिन सक्छ। यद्यपि अहिले पनि विश्वको ठूलो जनसंख्या संक्रमणबाट मुक्त अवस्थामै रहनाले चाहिँ वैज्ञानिकहरुलाई आशावादी बनाएको छ।

‘शरीरभित्रको प्रतिरोधीबाट बच्न सक्रिय तवरले कुनै गतिविधि हुन्छ भने त्यसबाट म धेरै आश्चर्यचकित हुने छैन,’ स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ बर्नकी मोलेकुलर इपिडेमियोलोजिस्ट इम्मा होडक्रोफ्ट भन्छिन्, ‘अहिलेसम्म थोरै मात्र मानिस संक्रमित भएको स्थितिमा भाइरसमा त्यस्तो परिवर्तन नदेखिएला तर लामो समयमा अझ विशेषगरी धेरै मानिसलाई भ्याक्सिन दिइँदै गर्दा यसले के गर्दोरहेछ भन्ने हेर्न चाहिँ हामी पनि उत्सुक छौं।’

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्