हिमालपारिको गाउँ लिमीमा खाद्य बिक्री केन्द्र स्थापना हुने

सिमकोट– हिमालपारिको गाउँ लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम सिमकोटबाट एकतर्फी तीन दिन पैदल लाग्ने लिमीमा खाद्यान्न सहज रूपमा वितरण गर्न लिमिटेडले केन्द्र स्वीकृत गरेपछि खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीले लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए।

यसअघि जिल्ला खाद्य व्यवस्था समितिले लिमीका लागि छुट्टै बिक्री केन्द्रले माग गरेको र लिमिटेडले हाल स्वीकृत दिएपछि सहज भएको हो।

लिमीसम्म खाद्यान्न तथा अन्य सामग्री ढुवानी गर्न प्रतिकेजी सय रुपैयाँभन्दा बढी भाडादर तिर्नुपर्छ। गत कात्तिकमा लिमीमा खाद्यान्न समस्या हुने देखिएपछि गाउँपालिकाले ढुवानी लागत व्यहोरेर सदरमुकामबाट चार सय क्विन्टल खाद्यान्न लिमीमा पुर्‍याएको थियो।

उनले लिमीका स्थानीय जनताको यही समस्यालाई ध्यानमा राखी लिमिटेडले बिक्री केन्द्र स्थापना गर्न लागेको बताए। अब कर्मचारी खटाएर वडाको रोहवरमा केन्द्रले लिमीमै खाद्यान्न बिक्री गर्नेछ।

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ र शाखाको गोदाम सिमकोटबाट लिमीसम्म खाद्यान्न ढुवानी गर्न सेवाग्राहीले आफै भाडा तिर्नु परिरहेका बेला बिक्री केन्द्रले राहत पुर्‍याएको छ। बिक्री केन्द्रका लागि यस वर्ष पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ।

लिमीका लागि खाद्यान्न कोरोना संक्रमणमा सुधार भए काठमाडौँबाट रसुवा हुँदै तिब्बती मार्ग भएर हिल्साबाट ढुवानी भएर पुग्नेछ। शाखाले सो नभए नेपालगञ्ज सुर्खेतबाटै ढुवानी भएको खाद्यान्न लिमी पुर्‍याउने व्यवस्था गरिने जानकारी दिएको छ। त्यसको ढुवानीमा लाग्ने लागत लिमिटेडले व्यहोर्ने जनाइएको छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्