बाराको बिसुनपुर्वामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ– सनराइज बैंक लिमिटेडले नयाँ शाखासँगै एटीएम सेवा सञ्चालनमा ल्याएको छ। बारा जिल्लाको बारागढी गाउँपालिका–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–६, बर्मेलीटोलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा एटीएम सेवा सुरु गरेको हो।

नयाँ शाखाको उद्घाटन बारागढी गाउँपालिका–२ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरी, सनराइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभाध्यक्षता र इलाका प्रहरी कार्यालय बारागढी गापाको प्रमुख उमाशंकर गुप्ताले गरेका हुन्।

साथै एटीएम सेवा उद्घाटन कार्यक्रम सनराइज बैंकका लुम्बिनी प्रदेश प्रमुख सुनील मण्डलको प्रमुख आतिथ्यता, सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण, गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका–६ का अध्यक्ष रामदिनेश यादवको आतिथ्यतामा सम्पन्न भएको थियो।

सो अवसरमा एटीएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत एटीएम सेवाअन्तर्गत एटीएम कार्ड र बिना एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणका प्रहरी कर्मचारीहरु र स्थानीय जनसमुदायलाई लक्ष्य गरी बैंकिङ पहुँच बढाउने उद्देश्यसाथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।

बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्