वडा कार्यालयका सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गर्छौँः मेयर शाक्य

काठमाडौँ – काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेका छन्। वडा–२१ को वडा भवनको सोमबार शिलान्यास गर्ने सिलसिलामा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौं भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौँ। यो हाम्रो घोषणा अनुसारकै कार्य हो।’

शाक्यले यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायत वडा कार्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिए। उनले केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको बताए।

‘मुद्दा परेका कारण हामीले महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेनौँ,’ उनले भने, ‘हामीले निर्वाचनका बेला प्रतिबद्धता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौँ। केही काम भने कानुनी र प्राविधिक कारणले समस्या भएको छ।’

काठमाडौँ महानगरपालिकामा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सर्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उनले खुसी व्यक्त गरे।

प्रमुख शाक्यले आफूले जिम्मेवारी सम्हाल्नुअघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकूल विकास गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले सोमबार शिलान्यास भएको वडा—२१को भवन भूकम्प प्रतिरोधी भएकोे जानकारी दिए। ‘भवन ६ तलाको हुनेछ,’ श्रेष्ठले भने, ‘जमिन तला वडा कार्यालयका लागि प्रयोग हुनेछ। पहिलो तला गुठीका लागि प्रयोग हुनेछ। बाँकी अरु तलामा पनि वडा कार्यालयकै रुपमा प्रयोग हुनेछ।’

शिलान्यास कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायत सहभागी थिए।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्