महोत्तरीको गौशालामा अब नयाँ उद्योग

काठमाडौँ– महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब ५० करोड रुपैयाँ लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शनिबार शिलान्यास गरिएको छ।

आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐन्ड पेपर इन्डस्ट्रिज प्रालिको शिलान्यास गरेका हुन्।

अध्यक्ष ढकाल, उद्योगपति सुनील गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी छ। उनीहरूले सोमबार संयुक्त रूपमा उद्योग स्थापनाको शिलान्यास गरेका हुन्।

आइएमई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ। उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम सुरु गरिने जनाइएको छ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो। उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ।
सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए। नेपालमा कागज उत्पादन क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए।
नेपालमा ‘फिनिक्स प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलो पटक स्थापना हुन लागेको कम्पनीले दाबी गरेको छ। यसबाट नेपालमा अहिलेसम्म हुने गरेको कागजको आयातलाई प्रतिस्थापन हुने अपेक्षा गरिएको छ।

आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन्। रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर एन्ड केमिकल इन्ड्रस्ट्रिज सञ्चालनमा आएको छ।

 

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्