फुटबल खेल्दाको रिसइबी साँध्ने क्रममा एकको मृत्यु

मोरङ – उर्लाबारी नगरपालिकामा खेल खेल्दै गर्दा भएको विवादका क्रममा एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी–८ राजघाटमा फुटबल खेल्दै गर्दा भएको विवादमा १७ वर्षीय युवक अभिषेक चौधरीको सोमबार मृत्यु भएको हो।

प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आइतबार भएको फुटबल खेलमा विवाद भएपछि त्यसले हत्याको रुप लिएको जानकारी दिए।

आइतबार भएको घटनालाई सोही समय मिलाइएको भए पनि रिसइबी राखेर बसेका ६–७ जना युवाको समूहले आइतबार दिउँसो करिब सवा १ बजे आक्रमण गरेको खुलेको उनले बताए।

स्थानीय भुरन चौधरीको घरमा बसिरहेको अवस्था अभिषेक र उनीसँगै रहेका २१ वर्षीय सुसन धामीमाथि सो समूहले अन्धाधुन्ध छुरा प्रहार गरेको थियो।

यस क्रममा ढाड र शरीरका विभिन्न भागमा छुरा लागेर गम्भीर घाइते भएका अभिषेकलाई झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका लागि पु¥याइएको थियो।

प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार अभिषेकलाई चिकित्सकले मृत घोषित गरेका थिए। घटनामा घाइते भएका सुसनको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ।

घटनासँगै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवा पवन कार्की र निशान राईलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले फरार अन्य युवाको खोजी भइरहेको जनाएको छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्