युद्धमा खटिँदै आएका अमेरिकी सैनिक यो वर्षको अन्त्यसम्ममा इराकबाट फिर्ता हुने

अमेरिकी सैनिकहरु यो वर्षको अन्त्य (सन् २०२१) सम्ममा इराकबाट फिर्ता हुने भएका छन् । राष्ट्रपति जो बाइडेनले युद्धमा अमेरिकी सैनिक वर्षको अन्त्यसम्ममा इराकबाट फिर्ता हुने घोषणा गरेका हुन् ।

युद्धमा खटिने सैनिक फिर्ता भए पनि इराकी सेनालाई तालिम तथा सल्लाह प्रदान गर्ने प्रयोजनमा खटिएका अमेरिकी सैनिक अधिकारी भने कायम रहने छन् ।

अमेरिकाले इराकी सैनिकलाई तालिम तथा आवश्यक सरसल्लाह भने प्रदान गरिरहने राष्ट्रपति बाइडेनले बताएका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँगको वार्तापछि बाइडेनको यस्तो घोषणा आएको हो ।

इराकी सैनिकलाई इस्लामिक स्टेट (आइएस) सँगको युद्धका लागि सहयोग गर्न अहिले २५ सय अमेरिकी सैनिक इराकमा छन् । अहिले युद्धमा खटिने सैनिकहरु वर्षको अन्त्यसम्म फिर्ता हुने छन् ।

इराकमा हुने अमेरिकी सैनिकको संख्या लगभग उस्तै रहे पनि उनीहरु युद्धमा खटिने छैनन्, मात्रै इराकी सैनिकलाई तालिम र सरसल्लाह प्रदान गर्ने छन् ।

गएको वर्ष अमेरिकाको ड्रोन आक्रमणमा इरानका सैनिक जनरल कासिम सुलेमानी र इरानको साथ पाएको शिया बिद्रोही समूहका नेता मारिएपछि इराकमा अमेरिकी सैनिकको उपस्थिति प्रमुख मुद्दा बन्दै आएको छ ।

इरानसँगको सहकार्यमा जोड दिने इराकका राजनीतिक दलहरुले आइएसविरुद्धको युद्धका लागि भन्दै खटिएका अमेरिकी सैनिक फिर्ता हुनु पर्ने माग गर्दै आएका छन् । इराकी प्रधानमन्त्रीसँगको छलफलपछि राष्ट्रपति बाइडेनले युद्धमा खटिने सैनिक फिर्ता हुने घोषणा गरेका हुन् ।

अमेरिकाले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा सुरु भएको अर्को युद्ध पनि अन्त्य गर्ने भएको छ ।

यसअघि राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका थिए । अहिले सो प्रक्रिया जारी छ । अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने छन् ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्