राजनीतिमा तेस्राे पुस्ता

‘हाम्रो चाहना सडक आन्दोलन होइन’

उनी भन्छिन्, ‘बुवा जे हुनुहुन्छ, म त्यही हुनुपर्छ भन्ने होइन।’

तर केसरी रेग्मीका लागि कम्युनिष्ट आन्दोलनमा लागेका बुवा प्रेरणा बने राजनीतिमा लाग्न। सानी केसरी बुवाहरुले गर्ने कोठे बैठक लुकेर हेर्थिन्। शिक्षक संगठनको राजनीतिमा लागेका बुवा लम्बोधर रेग्मी २०४८ सालताका कोठे बैठक बस्दै एमाले बनाउनु पर्छ भन्दै लागेको उनले सुनिन्।

सजिलो थिएन बुवाहरुलाई राजनीति गर्न। तर केसरीहरुलाई राजनीति गर्न सहज बनाइदिए उनका बुवाहरुको पुस्ताले।

सानैदेखि हक्की स्वभावकी केसरी हरेकसँग लड्दै विद्यार्थीको केन्द्रीय राजनीतिसम्म आइपुगेकी छन्। ‘कांग्रेस हुनुपर्छ’ भन्दै धेरैले प्रलोभन देखाए। बाटो छेक्न आएका माओवादीलाई ढुङ्गा हानिन्, अनि सानै छँदा गाउँघरमा हुने कार्यक्रममा जाँदा गाउँलेहरुका तिखा वचनसँग लडिन्।

२०६५ सालमा अछाममा आफू पढेको विद्यालय अन्नपूर्ण मा.वि.मा प्रारम्भिक कमिटी अध्यक्षबाट सुरु भएको उनको राजनीतिको यात्रा अखिलको केन्द्रीय उपाध्यक्षसम्म आइपुगेको छ।

केसरीले सुरुमा भुगोलको राजनीति गरिन्। अहिले केन्द्रीय राजनीतिमा छिन्।

केसरीले खोजेको राजनीति यो थिएन। उनले रोजेको राजनीति यस्तो थिएन।  राजनीतिको व्यवस्था त बदलियो तर काम गर्ने परिपाटी बदलिएन। केसरीलाई लागेको थियो– राजनीतिक व्यवस्थाविरुद्ध सडक आन्दोलन अब विद्यार्थीहरुले गर्नु पर्दैन, जुन उनीभन्दा अघिका विद्यार्थी अगुवाहरुले गरे।

‘हामीले सडक आन्दोलन कुनै नेताका लागि गरेका होइनौँ। र विद्यार्थी राजनीति कोही नेता बचाउनका लागि हुनु हुँदैन,’ आफूले मानेका नेता माधव नेपाल, झलनाथ खनालले गल्ती गरेमा सडकमा उत्रिने उनको संकल्प छ।

सबैले राजनीति गर्न सक्दैनन्। अझ महिलालाई त धेरै समस्या छन् राजनीतिमा। धेरैसँग भिड्नु पर्छ।

परिवारसँग लड्नु पर्छ। समाजसँग लड्नु पर्छ।

केसरीलाई परिवारसँग त लड्नु परेन तर छिमेकी र समाजसँग धेरै लडिन्। बाल क्लबको अध्यक्ष हुँदा उनी गाउँघरमा विभिन्न कार्यक्रम जाँदा गाउँले र छरछिमेकीका तिखो वचन र अपशब्द उनले भुलेकी छैनन्।

हिजोको दिनमा राति हिँड्नै मिल्दैन थियो। केटा मान्छेहरुसँग संगठन बनाएर हिँड्दा विभिन्न आक्षेप लाग्थ्यो। अहिले त्यतिबेलाका जस्ता अप्ठेरा त छैनन् तरपनि त्यति सहज भने छैन।

तर लड्नु त छ।

उनी दिक्क छिन्, आफ्नो नेतृत्वप्रति। र, पहिलो पुस्ताका नेतृत्वप्रति।

भन्छिन्, ‘केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवाले इतिहासको कुनै समयमा राम्रो काम गर्नुभयो होला तर अहिलेको समयमा उहाँहरुको भूमिका देख्दा पदका लागि मात्र हो कि भन्ने लाग्न थालेको छ। उहाँहरुले आफ्नो विचार, एजेण्डा भुलेकोजस्तो लागेको छ जुन उहाँहरुले हामीहरुलाई आश्वासन दिनुभएको थियो।’

‘देशमा चलिरहेका राजनीतिक घटनाहरु हामीले नजिकबाट नियाल्नु पर्छ। युवा जो शिक्षित छन्, उनीहरुले खबरदारी नगरेमा कसरी यो मुलुकलाई सही बाटोमा डेर्‍याउन सकिन्छ?’ उनले प्रश्न गरिन्।

‘तर अबको हाम्रो चाहना सडक आन्दोलन होइन,’ केसरीले थपिन्।

भिडियाे: रविन आचार्य

 

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्