भेरी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्न आग्रह

नेपालगञ्ज– नेपालगञ्जको भेरी अस्पतालले १३१ औं वार्षिकोत्सव मनाएको छ।

वि.सं. १९४७ मा पृथ्वी वीर अस्पतालको नामबाट स्थापना भएको अस्पताल रत्नराज्य लक्ष्मी देवी प्रसूती गृह हुँदै भेरी अस्पतालमा रुपान्तरण भएको थियो।

लामो इतिहास बोकेको भेरी अस्पतालले पहिलो पटक वार्षिकोत्सव बनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाको उपस्थितिमा भेरीले वार्षिकोत्सव मनाएको छ।

अस्पतालको वार्षिकोत्सव कार्यक्रममा बोल्ने प्रदेश सांसद, जिल्ला नेता, नेपालगञ्जका मेयर, चिकित्सकहरुले भेरीलाई मेडिकल कलेजको रुपमा विकास गर्न आग्रह गरेका छन्। तत्कालीन संरचनामा मध्य र सुदूरपश्चिमको रिफरल सेन्टर बनेको भेरीले वर्षमा एक लाखभन्दा बढी बिरामीको सेवा दिँदै आएको छ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले अस्पतालले गरेका सेवाका बारेमा विस्तृत जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा ‘अक्सिजन’नामक स्मारिका विमोचन गरिएको थियो भने २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न खेल गतिविधिका विजेतालाई पुरस्कृत गरिएको थियो।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्