हात्तीको दाह्रासहित बाराबाट तीन जना पक्राउ

साङ्केतिक तस्बिर

वीरगञ्ज– हात्तीको दाह्रासहित तीन जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

प्रहरीले बाराको निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ, सोही स्थानका ३५ वर्षीय दिल बहादुर घलान र मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने सुवास तामाङलाई पक्राउ गरेको हो।

जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बजारमा उनीहरुलाई हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५० प १२२७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको एक थान हात्तीको दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ। तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्