अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा चार हप्ता लकडाउन थपियो

सिड्नी – कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई कम्तीमा चार हप्ता थपिएको छ।

यसअघि जुलाई ३१ सम्म रहेको लकडाउन यो घोषणासँगै आगामी अगष्ट २८ तारिखसम्म लम्बिएको हो। लकडाउनबाट राज्यका ग्रेटर सिड्नी, सेन्ट्रल कोष्ट, ब्लु माउन्टेड, सेल हार्बर र ओलोङगङ क्षेत्र प्रभावित हुनेछन्।

न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज १ सय ७७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमणलाई नियन्त्रणमा लिने प्रयासस्वरूप थप चार हप्ताका लागि लकडाउनको अवधि लम्ब्याइएको जानकारी दिइन्।

राज्यमा गत सात दिनमा एक हजार ५० जना नयाँ कोरोना सङ्क्रमित भेटिएका थिए भने यो सङ्ख्या अघिल्लो हफ्ता ६ सय ८१ रहेको सरकारी तथ्याङ्क रहेको छ।

तथ्याङ्कका अनुसार हाल राज्यभर २ हजार २ सय ९१ जना स्थानीय सक्रिय कोरोना सङ्क्रमित रहेका छन् भने ५२ जना सक्रिय सङ्क्रमितहरू विदेशबाट भित्रिएका छन्।

डेल्टा भेरियन्टको नयाँ लहर शुरू भएपछि प्रिमियर ग्लेडिज बेरिजिक्लिनले न्यूसाउथवेल्स राज्यमा गत जुन २५ मा पहिलोपटक लकडाउनको घोषणा गरेकी थिइन्।

‘गत केही दिन यताको सङ्ख्यालाई मध्यनजर गर्दा यो अवश्यम्भावी नै थियो। हामी लकडाउनबाट भोलि अथवा आगामी शुक्रबार छुटकारा पाउने सम्भावना थिएन’, प्रिमियर बेरिजिक्लिनले बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा भनिन्।’

गत २४ घण्टामा राज्यमा खोप नलगाएकी एक ९० वर्षीया वृद्धाको लिभरपुल अस्पतालमा मृत्यु भएसँगै हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

साथै सङ्क्रमितमध्ये १ सय ६५ जना अस्पतालमा उपचाररत छन् जसमध्ये ५६ जना आइसियु तथा २२ जनाको भेन्टिलेटरको सहायताले उपचार भइरहेको जानकारी राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा. केरी चान्टले दिइन्।

न्यूसाउथवेल्स राज्यमा हालसम्म ३०.४ प्रतिशत जनसङ्ख्याले फाइजर अथवा एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइसकेको र १३.१ प्रतिशतले खोपको दुवै डोज लगाएको सरकारी तथ्याङ्क रहेको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्