१८ महिनाकी छाेरी, ९ दिनकाे छाेरा र आमाकाे शव पाेखरीमा फेला

सांकेतिक तस्बिर।

मलङ्गवा – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा नौ दिनको शिशुसहित तीनजनाको शव फेला परेकाे छ।

स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको शव स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेकाे अवस्थामा फेला परेकाे ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए।

मंगलबार राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव बुधबार बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ।

उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

तीनैजनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्