एमाले प्रवेश गरेका चार सांसदले भने- ‘हामी माओवादीमै छौँ, पद खारेजी बदर होस्’

काठमाडौँ– नेकपा एकता भंग भएपछि एमालेमै रहेर मन्त्री बनेका माओवादी केन्द्रका चार नेताहरुले आफूहरु निर्वाचित भएकै दलमा रहेकाले सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका छन्।

माओवादीले निष्काशन गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह र गौरिशंकर चौधरीले आफूहरु निर्वाचित भएकै दलमा रहेको भन्दै सांसद पदबाट निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय र त्यसलाई सदर गर्ने संसद सचिवालयको निर्णय बदरको माग गरेका हुन्।

अदालत पुगेका नेता रायमाझीले भने, ‘म एमाले केन्द्रीय कमिटीमा छैन। माओवादी केन्द्रीय कमिटीमै छु।’

नेकपा विघटन भएपछि एमालेमै बसेर उनीहरु केपी शर्मा ओली सरकारमा मन्त्री बनेका थिए। माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्काशन गरी सांसद पदसमेत खारेज गर्ने निर्णय गरेको थियो। माओवादीको सो निणर्य संसद सचिवालयले सदर गरेपछि उनीहरुको सांसद पद गुमेको थियो।

तर उनीहरुले बुधबार सर्वोच्च अदालतमा गएर आफूहरु माओवादी नै रहेको र सांसद पद खारेज गरेको भनेर माओवादी केन्द्रले गरेको निर्णय र संसद सचिवालय सदर खारेज गर्न माग गर्दै रिट दर्ता गरेका हुन्। उनीहरुले आफूहरुको सांसद पद यथावत राख्न माग गरेका छन्। सो रिटको पहिलो पेशी बिहीबार राखिने भएको छ।

केही दिन पहिले यी चार नेताहरु माओवादी केन्द्रको वैधानिकता सकिएको भन्दै वैधता शून्यमा झार्न माग गरी निर्वाचन आयोग पनि गएका थिए।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्