कछुवा बिक्री गर्न लागेको अवस्थामा तीन जना पक्राउ

फाइल तस्बिर

काठमाडौँ– संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले उनीहरुलाई काठमाडौँको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट पक्राउ गरेको जनाइएको छ। संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुका साथबाट जिउँदो कछुवासमेत बरामद गरेको छ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ। उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढेको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्