कर्णालीमा कोभिडविरुद्ध चार हजार स्वयंसेविका परिचालन

सिमकोट– कर्णाली प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण प्रतिकार्यका लागि संयन्त्र, पूर्वाधार एवं बजेट व्यवस्था (कोभिड कोष)को व्यवस्था गरेको छ।

सो कोषबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि प्रोत्साहन तथा चार हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीले जनाएको छ।

प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कोभिड–१९ प्रतिकार्य व्यवस्थापन गरेको जनाइएको छ। उक्त कार्यक्रमबाट आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होल्डिङ सेन्टर एवं रणनीतिक अस्पताल निर्माणलगायत स्वास्थ्य पूर्वाधार विकासमा टेवा पुगेको कर्णाली सरकारको दावी छ।

स्वास्थ्यका लागि जनशक्तिको करार सेवामा व्यवस्थापन गरेर महामारीको अवस्थामा समेत नियमित स्वास्थ्य सेवालाई पुनःसञ्चालन गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्। उनले कोभिडविरुद्ध स्वास्थ्य स्वयंसेविका परिचालन भएर समुदायमा सहज भएको समेत जानकारी दिइन्।

यसबाट प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन पाइपलाइन विस्तार, टेलिमेडिसिन सेवा पुनः सञ्चालन, विशेषज्ञ, चिकित्सकलगायत स्वास्थ्यकर्मीको करार व्यवस्था गरिएको उनको भनाइ छ।

प्रदेश सरकारले फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका लागि मूल प्रवाहीकरण नीतिको मस्यौदा तयारी सुरु गरेको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्