लक्षित समूहलाई फर्काएर वडाध्यक्ष र स्वास्थ्यकर्मीका आफन्तलाई कोरोनाविरुद्धको खोप

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा लक्षित समूहको लागि ल्याइएको कोरोनाविरुद्धको खोप अन्य व्यक्तिहरुलाई लगाइएको पाइएको छ।

महानगरपालिकाका विभिन्न वडाहरुमा साउन ११ र १२ गते गरी दुई दिनसम्म लगाइएको कोरोनाविरुद्धको खोप लक्षित समूह बाहेकलाई लगाइको पाइएको हो।

दुई दिनसम्म महानगरका स्वास्थ्य चौकीहरुमा यहाँका स्थानीयहरुलाई कोरोनाविरुद्धको अमेरिकी जोन्सन कम्पनीको खोप लगाइएको छ।महानगरपालिकाले नै सूचना जारी गरेर कोरोनाविरुद्धको जोन्सन कम्पनीको खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहलाई लगाउने जनाएको थियो।

यस्तै ‘क’ र ‘ख’ वर्गका पूर्ण र अति अशक्त अपाङ्ता भएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई खोप लगाउने भनिएको थियो। जसका लागि महानगरको ३२ वटै वडाहरुको स्वास्थ्य चौकीमै खोप लगाउने व्यवस्था गरिएको थियो।

तर, महानगरका अधिकांश वडाहरुमा लक्षित समूह बाहेकका व्यक्तिहरु वडाध्यक्षका आसेपासे, नातागोताका व्यक्ति, स्वास्थ्य चौकीका ईञ्चार्जहरुको चिनेजानेकाले समेत लगाएका छन्। उनीहरु खोप लगाउने लक्षित समूह बाहेकका व्यक्तिहरु रहेको पुष्टि भएको छ।

खोप लगाएका लक्षित समूहका व्यक्तिहरुले समाजिक सञ्जालमा खोप कार्ड नै राखेर खोप लगाएको देखाएका छन्। यसले महानगरमा लक्षित समूहको लागि आएको खोप अरुलाई नै लगाइएको पुष्टि भएको छ।

लक्षित समूहमा पर्ने महानगरका अधिकांश स्थानीयहरुले भने खोप केन्द्रमा धाउँदासमेत खोप लगाउन नपाएको बताएका छन्। महानगरको वडा नम्बर ३० लालपर्सा टोलमा त्यहाँ रहेको स्वास्थ्य चौकीका ईञ्चार्ज र वडाध्यक्षको मिलेमतोमा लक्षित समूहको लागि आएको कोरोनाविरुद्धको खोप अन्य व्यक्तिहरुलाई लगाइएको छ। उक्त वडामा रहेका व्यक्तिहरुले लक्षित समूहमा नपर्ने भएपनि खोप लगाएको र खोप कार्डसमेत समाजिक सञ्जालमा राखेका छन्। उनले आफूसहित आफ्नो श्रीमतीले समेत खोप लगाएका बताएका छन्।

तर, उक्त वडामा दर्जनौँ लक्षित समूहका स्थानीयहरु भने खोप लगाउनबाट बञ्चित भएका छन्। दुई दिनसम्म खोप केन्द्रमा जाँदासमेत खोप नपाएको वडा नम्बर ३० लालपर्साका ५८ वर्षीय एक पुरुषले बताए। उनले ११ गते पनि गएको तर, त्यस दिन खोप केन्द्रबाट फर्काइएपछि १२ गते जाँदा खोप नै सकियो भनेर खोप नलगाइएको गुनासो गरे।

‘दुई दिनसम्म खोप लगाउन भनेर स्वास्थ्य चौकीमा गएँ तर खोप लगाउन सकिएन,’ ती स्थानीयले भने, ‘अन्तिम दिन १२ गते जाँदा खोप नै सकियो भनेर फर्काइदिए।’ लक्षित समूह बाहेक अन्यलाई समेत खोप केन्द्रमा खोप लगाइएको तर, आफूहरुलाई नलगाइएको उनको भनाइ छ।

वडा नम्बर ३० लालपर्सा टोलमै दुई दिनमै २ सय २३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य चौकी लालपर्साका ईञ्चार्ज मेवालाल ठाकुरले बताए। उनले पनि लक्षित समूह बाहेकलाई पनि खोप लगाइएको स्वीकार पनि गरे। सबैको लागि खोप ल्याइएको भएपनि भीडभाडका कारण र वडाध्यक्षले भनेअनुसार खोप लगाएको उनले बताए।

‘दुई दिनमा २२३ जनालाई खोप लगाएका हौँ,’ उनले भने, ‘भीडभाड बढी भएकोले वडाध्यक्षसित समन्वय गरेर खोप लगाएका हौँ। केही अन्यलाई पनि लगाएका छौँ। छुटेकाहरुको लागि एक हप्तापछि आउने खोप लगाउँछौँ।’

खोप बढी भएकाले अन्य व्यक्तिहरुलाई खोप लगाइएको वडा नम्बर ३० का वडाध्यक्ष अमानत अन्सारीले बताए। खोप फिर्ता नहोस् भनी बाँकी रहेको खोप मात्रै अन्यलाई लगाइएको उनले दावी गरे।

‘अन्य व्यक्तिहरुलाई लगाइएको खोप भने बाँकी रहेको खोप हो,’ उनले भने, ‘खोप फिर्ता गर्नुभन्दा पनि लगाइदिउँ भनी खोप लगाएका हौँ।’

लक्षित समूहको लागि आएको खोप अरुलाई लगाउनु गलत भएको वीरगञ्ज महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोले बताए। लक्षित समूह बाहेक अन्य व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप दिइएको विषयमा आफूले स्वास्थ्य चौकीका इञ्चार्जसित कुराकानी गर्ने उनको भनाइ छ।

‘लक्षित समूह बाहेक अन्यको हकमा बाँकी रहेको खोप मात्रै दिन सकिन्छ,’ उनले भने, ‘त्यस बाहेक अन्यलाई दिइएकोबारे म सम्बन्धित स्वास्थ्यचौकीको इञ्चार्जसित कुरा गर्छु।’

आफूले महानगरले खोप वितरणमा सहजिकरण मात्रै गरेको  हुँदा यसबारे थप बुझ्न खोप समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुपर्ने बताए।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्