काठमाडौँ– मंगलबार साँझ करिब ७ बजे। झमझम पानी परिरहेको थियो। त्यही पानीमा प्रहरीको गाडीको साइरन बज्यो। प्रहरीको साइरन बजेको सुनेपछि व्यापारीहरुले हतार–हतार सटर झारे। यो दृश्य हो, ललितपुरको भैसेपाटीको।

सरकारले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म व्यापार व्यवसाय गर्न अनुमति दिएको छ। तर व्यवसायीहरुले सरकारले तोकेको समयमा पनि पसलहरु बन्द गरेका हुँदैनन्। भैसेपाटीका लुगा व्यापारी गोपाल झा भन्छन्, ‘व्यापार नै छैन, के गर्नु नखोलेर? अलि ढिला नै भए पनि मान्छेहरु आउँछन् कि भन्ने आश लाग्छ।’

व्यवसायीहरुले थोरै भए पनि आम्दानी होस् भन्ने आशा गरे पनि कतिपय व्यापारीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेको देखिँदैन। न त पसलमा स्यानिटाइजर, न त मास्क। मास्क पनि सही तरिकाले लगाएको देखिँदैन।

व्यवसायीले मात्र होइन, किनमेल गर्न आउने ग्राहकहरुले पनि त्यतिकै लापरवाही गरेको देखिन्छ। सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पालना भएको देखिँदैन। जसका कारणले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको छ।

‘संक्रमण बढे पनि खानै पर्‍यो। आम्दानी भनेको यही व्यापार हो,’ सरिता पराजुलीले भनिन्, ‘सरकारले केही समय खोल्न दिएको छ। थोरै भए पनि आम्दानी भएको छ।’

उनी असनमा श्रृंगारको व्यवसाय गर्छिन्। हाल साउनको महिना भएकाले केही आम्दानी भएको उनले बताइन्। साउन महिनामा महिलाहरुले हरियो चुरापोते, मेहन्दी लगायतका सुहागका सामान खरिद गर्छन्। सामान्य अवस्थाजस्तो व्यापार नभए पनि केही व्यापार भएको उनी बताउँछिन्।

‘कोरोना भाइरस संक्रमणको डर भए पनि काम गर्नु परिहाल्यो। काम गरेन भने त भोकै मरिन्छ,’ उनले भनिन्।

लामो समयदेखि मारमा परेका व्यवसायीहरुलाई रोगभन्दा पनि भोकको चिन्ता छ। व्यवसायबाटै भएको आम्दानीले भाडा तिर्नेदेखि लिएर सम्पूर्ण  खर्च टार्नु पर्ने उनी बताउँछिन्।

न्यूरोडस्थित राजेन्द्र स्टोरका सञ्चालक जितेन्द्र मित्तलका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै व्यापार राम्रो भइरहेको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको व्यापार हाल सामान्य रुपमा भए पनि आफ्नो गति लिइरहेको उनी बताउँछन्।

‘अहिले बेलुकाभन्दा दिउँसो व्यापार हुन्छ। ७ बजे बन्द गरिहाल्नु पर्छ,’ उनले भने, ‘पानी परेन भने राम्रो व्यापार हुन्छ।’

उनले निषेधाज्ञा खुकुलो भएपछि यति राम्रो व्यवसाय हुन्छ भनेर सोचेका थिएनन्।

उनकै जस्तो भनाइ छ, न्यूरोडकै व्यापारी सुन्दर श्रेष्ठको। व्यापार सञ्चालन गर्न पाउँदा थोरै भए पनि राहतको सास फेर्न पाएको उनी बताउँछन्। ‘लामो समयदेखि बन्द रहेको व्यापार सञ्चालन गर्न पाउँदा राहत मिलेको छ,’ उनले भने।

व्यवसायीहरुको व्यापार लयमा फर्कन थाले पनि कोरोनाको जोखिम भने दिनहुँ बढ्दो नै छ। बुधबार थप ३ हजार ८ सय ४० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमणको दर केही दिनदेखि बढ्दैछ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगर तथा वडाले नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन बारम्बार आग्रह गरिरहेको बताए। यति मात्र नभएर नागरिकलाई सचेत गराउन कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक काम पनि गरिरहेको बताए।

उनका अनुसार व्यापार व्यवसाय सञ्चालनमा आएसँगै मान्छेहरुले हेलचेक्र्याइँ गरिरहेका छन्। ‘मान्छेहरु कोरोना छैन भने जसरी खुलेयाम घुमिरहेका छन्। हामीले बारम्बार जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका छौँ,’ उनले भने।

सरकारले मात्र नभइ नागरिक आफैले पनि सचेत रहनु पर्ने महानगरपालिकाले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले पनि कोरोनाको तेस्रो लहर आउने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन आग्रह गरिरहेको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्