हतियारसहित सुन पसल लुट्ने प्रयास गरेको आरोपमा ६ जना पक्राउ

मोरङ– मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुन पसलमा हतियारसहित लुटपाट गर्ने प्रयासमा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले घटना भएको १२ औँ दिनमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सुन पसलमा दिनदहाडै लुट्ने असफल प्रयास गरेका सुनसरीगढी गाउँपालिकाका ४५ वर्षीय प्रमोद चौधरी, इटहरी उपमहानगरपालिका तरहरामा बसोबास गर्दै आएका संखुवासभा सभापोखरीका ३९ वर्षीय चन्द्रबहादुर राई, सुन्दरहरैंचा नगरपालिका ७ का ३१ वर्षीय सन्तोष राई, इटहरी उ.प.म.नगरपालिका तरहरामा बसोबास गर्दै आएका भोजपुर पौवादुम्मा ३ का ३० वर्षीय नगेन्द्र राई, तरहरानै बसोबास गर्ने संखुवासभा बारबिसे ६ का ३० वर्षका चिरन्जीवी राई र सुन्दरहरैंचा नगरपालिका ५ का २२ वर्षीय मिसन राईलाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनका क्रममा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले घटनामा संलग्न ६ जनालाई बुधबार बिहान करिब ३ बजे नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार साउन १ गते दिउँसो करिब सवा १ बजे खगेन्द्र थापाले सञ्चालन गर्दै आएको सुन पसलमा ६ जनाले हतियार देखाइ लुटपाटको असफल प्रयास गरेका थिए।

उनीहरु ३ वटा मोटरसाइकलमा पसल लुटपाटका लागि पुगेको भएपनि पसल सञ्चालकले प्रतिकार गर्दा ६ जना नै भागेको उनले बताए। यसक्रममा प्रहरीले अभियुक्तलाई खोजी गर्दै बुढी खोलासम्म पछ्याए पनि सबैजना भाग्न सफल भएका थिए।

यस घटनालाई लिएर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मोरङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङको नेतृत्वमा विशेष टोली परिचालन गरेका थिए। सोही क्रममा बुधबार बिहान घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी अनुसन्धानका अनुसार उनीहरु तीन वटै मोटरसाइकलबाट बढी खोला हुँदै इटहरीतर्फ लागेका थिए। यसक्रममा उनीहरुले आफूसँग रहेको एउटा एसएमजी, एउटा अटोमेटिक पेस्तोल र अर्को एउटा कटुवा पेस्तोल सुन्दरहरैंचा ५ मा पर्ने नमुना सामुदायिक वन जंगलमा रुखमा लुकाई राखेको मोरङ प्रहरी प्रमुख जिसीले जानकारी दिए।

प्रहरीले अनुसन्धानका क्रममा एसएमजीको म्यागजिन १ थान, अटोमेटिक पेस्तोलमा लाग्ने म्याग्जिन १ थान र २ वटा गोली, ३ सय ३ राइफलको ४ बान गोलीसमेत प्रहरीले बरामद गरेको उनले बताए। सुनपसल लुटने प्रयासका क्रममा प्रमोद, चन्द्र र अर्का एक जनाले हतियारसहित पसलभित्र प्रवेश गरेको र बाँकी ३ जनाले बाहिरको वातावरण निगरानी गरेको उनको भनाइ छ।

प्रहरीले घटनाका क्रममा संलग्न एउटा अटो रिक्सा, ४ वटा मोटरसाइकल, ८ वटा मोबाइल र १६ हजार १ सय रुपैयाँसमेत फेला पारेको छ।

प्रहरीले हाल पक्राउ परेकाहलाई लुटपाट प्रयास, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग लगायतमा मुद्धा दर्ता गर्ने देखिएको छ। यद्यपि हाल प्रहरीले उनीहरुविरुद्ध जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्