लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे बिरामी

बुटवल– लुम्बिनी प्रदेशकी मन्त्री कल्पना पाण्डे बिरामी परेकी छिन्। न्युरो सम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी उद्योग वन तथा वातावरण मन्त्री पाण्डे गत आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत छिन्।

नर्भिक अस्पतालमा उपचाररत लुम्बिनी प्रदेशकी मन्त्री पाण्डेको स्वास्थ्यमा आइतबार सुधार आएको छ। स्वास्थ्यमा सुधार आएपछि बुधबार उनलाई आइसियुबाट नर्मल वार्डमा सारिएको छ।

पाण्डेको अवस्था खतरामुक्त रहेको र अहिले नर्मल वार्डमा राखेर उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले बताए।

दुवै खुट्टा नचल्ने भएपछि मन्त्री पाण्डेलाई आइतबार भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा लगिएको थियो।

उनलाई न्युरोनसम्बन्धी रोग जिडिएस भएको चिकित्सकहरुले बताएका छन्। मन्त्री पाण्डेलाई चिकित्सक पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको अस्पतालले जनाएको छ।

चिकित्सकका अनुसार कोभिडको खोप लगाएपछि उनमा यस्तो लक्षण देखिएको हो। यो समस्या खुट्टाबाट शिथिल हुँदै घाँटीसम्म पुग्ने र घाँटीबाट खुट्टामा झरेर मात्र रोग निको हुने उपचारमा संलग्न चिकित्सक बताउँछन्। उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्नेछ।

जिडिएस रोगको उपचार पद्धति खर्चिलो छ। हाल दैनिक प्रति सुई १८ हजार खर्चेर दिनको ६ पटक सुइ लगाइएको छ। औषधिसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैयाँ रहेको पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले बताए।

मन्त्री बिरामी भएपनि अहिलेसम्म प्रदेश सरकारले उपचारमा सहयोग नगरेको उनले बताए।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्