समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढ्याे: शेखर काेइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औँ महाधिवेशनका लागि पूर्व निर्धारित कार्यतालिकाको पालना नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

उनले अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन नसकेकोले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको बताउँदै यसबाट पार्टीका नेता कार्यकर्ताहरुमा गहिरो चिन्ता छाएको उल्लेख गरेका छन्।

‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो? यसको जवाफ कसले दिने?, कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले संवैधानिक सीमाभित्र महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढाउन नसके कांग्रेसले वैधानिकता गुमाउने निश्चित रहेकोमा पनि नेतृत्वलाई सचेत गराएका छन्।

‘यसबाट हामी उम्कने बाटो छैन। लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने?’ उनले भनेका छन्, ‘तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ।’

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्