विराटनगरमा रात परेपछि नेताका घरमै पुगेर खाेप!

विराटनगर – विराटनगरमा कोरोना भाइरस विरुद्धको खोप महानगरपालिका ले व्यक्तिगत घरमा पुगेर लगाएको भन्दै स्थानीय बासिन्दाले विराेध जनाएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बुधबार राति व्यक्तिको घरमा गएर खोप लगाएको घटनाबारे आफूलाई जानकारी भएको बताए। उनले खोपबारे भएको घटनाबारे सम्बन्धित निकायसँग बुझ्ने काम भैरहेकाे बताए।

राति महानगरपालिका ५ स्थित एक घरमा महानगरपालिकाले खोप लगाइरहेको सूचनासँगै स्थानीयले विरोध गरेका थिए। नेपाली कांग्रेसका नेता दिपक चाँपागाईका अनुसार राति महानगरपालिकाको टोलीले खोप लगाउने कार्यक्रम गरेको थियो।

चाँपागाईले खोप लगाउनका लागि सर्वसाधारण घण्टौँ लाइनमा बसेर पनि नपाइरहेको अवस्थामा कसैको घरमा मेयर स्वयंको उपस्थितिमा खोप लगाइनु आपत्तिजनक भएको बताए।

दिउँसो लाइनमा बसेर समेत खोप लगाउन नपाइरहँदा पहुँचको भरमा राति राति घरमा पुगेर आफू निकटस्थलाई खोप लगाउने कार्यक्रम गरिएको उनको भनाइ छ।

राति खोप लगाइरहेको घर कांग्रेस नेताको भएको र याे घटनाले समग्र कांग्रेसलाई नै क्षति पुगेको उनले बताए।

त्यसैगरि, स्थानीय प्रभाकर कार्कीका अनुसार राती खोप लगाउने क्रममा होहल्ला भएपछि मेयर पराजुली गाडी चढेर भागेका थिए। खोप लगाइरहेको थाहा पाएपछि आफूले गेटभित्र पसेर राेक्ने काम गरेकाे चाँपागाईले बताए।

मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले घटनामा मेयरको उपस्थिति नभएको दाबी गरेका छन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्