नेपाल खेमा सरकारमा किन गएन? आजै मन्त्रीको टुंगो लगाउने तयारीमा अन्य दल

फाइल तस्बिर।

काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वकाे सरकारमा सामेल हुनुपर्ने दबाब सत्ता गठबन्धनमा आवद्ध दलहरु र आफ्नै खेमाबाट चर्को रुपमा आए पनि नेकपा एमाले माधवकुमार नेपाल खेमा तत्काल सरकारमा सहभागी नहुने भएको छ।

नेपाल खेमा सरकारमा सामेल हुने तीव्ररुपमा अड्लबाजी भइरहेको बेला उसले तत्काल सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको हो। सरकारमा सहभागी हुने या नहुने भन्नेबारे निधो गर्न नेता नेपालले बिहीबार बिहानसम्म आफ्ना सांसदहरुसँग गहिरो छलफल गरेका थिए।

बुधबार बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा उनले देउवालाई विश्वासको मत दिन सांसदहरुको राय लिएका थिए। उक्त बैठकमा देउवालाई मत दिएका २३ जना मध्ये १९ जनाकाे सहभागिता थियाे।

उनीहरु मध्ये धेरैले तत्कालै सरकारमा जानु पर्नेमा जोड दिएका थिए। छलफलपछि सांसद मेटमणि चौधरीहरुले आफूहरु अधिकांशले सरकारमा जानु पर्नेमा जोड दिएको बताएका थिए।

‘म र अधिकांश साथीहरु सकारमा जानुपर्छ भन्ने मान्यता अघि सार्दै छलफलबाट निस्केका छौँ। हाम्रा सुझावहरु निकै गम्भीर भएर नेता नेपालले सुन्नु भएको छ। सम्भवत उहाँ पनि सरकारमा जानु पर्छ भन्ने निर्णयमा पुग्नुहुन्छ,’ उनले भनेका थिए।

तर नेपालले आफ्नै खेमामा रहेका खासगरी एमाले कार्यदलका पूर्वसदस्यहरु (दोस्रो तह)सहितका स्थायी कमिटी सदस्यहरुसँगको छलफलपछि सरकारमा तत्काल सहभागी नहुने निष्कर्ष निकालेका हुन्।

एमाले केन्द्रीय कमिटी सदस्य एव देउवालाई विश्वासको मत दिने नेपाल निकट सांसद विरोध खतिवडाले लामो छलफलपछि आफूहरु सरकारमा तत्काल सामेल नहुने निष्कर्षमा पुगेको पुष्टि गरे।

‘तत्काल सरकारमा सहभागी नहुने निष्कर्ष हामीले निकालिसकेका छौँ। यसका मुख्यतया दुई कारण छन्। पहिलो पार्टी एकताका लागि प्रयास जारी रहनु, दोस्रो कानुनी अड्चन ,’ उनले भने ।

सरकारमा सहभागी नहुने भएकाले नै बिहीबार मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा आयोजित सत्ता गठबन्धनको बैठकमा नेता नेपाल सहभागी भएनन्।

उनले बुधबार भने आफू निकट विजय पौडेललाई बालुवाटार पठाएका थिए। यता नेपाल खेमाले अब मुद्दा अनुसार सरकारलाई सहयोग / असहयोगको नीति लिने निष्कर्ष पनि निकालेको छ।

‘देउवा सरकारलाई हामीले सुरुदेखि नै मुद्दा अनुसार समर्थन गर्दै आएका छौँ। संसद पुर्नस्थापनाका लागि हामी गठबन्धनसँगै उभिएको हो। ब्यूँतिएको संसदलाई लामो समय टिकाउन विश्वासको मत दिएको हो। अब हरेक विषयमा भन्दा पनि संविधान, लोकतन्त्र रक्षाका लागि सरकारसँग सहकार्य गर्न सकिन्छ। गल्तीहरुमा आलोचना, विरोध र सुझाव दिने छौँ,’ उनले भने ।

अर्थात नेपाल खेमा आगामी दिनमा सरकारको गुण र दोषका आधारमा प्रस्तुत हुने तयारीमा छ। त्यसका लागि पहिलो माध्यम संसदलाई बनाउने छ। सम्भवत सबैभन्दा पहिले एमसीसी, देउवाको आफूखुशी विवादास्पद व्यक्तिलाई मन्त्री बनाउने निर्णयलगायतको विरोध नेपाल खेमाले गर्ने देखिन्छ।

नेपाल खेमाका नेता भीम रावलले सामाजिक सञ्जालमार्फत एमसीसी लागू नगर्न देउवा सरकारलाई चुनौती दिइसकेका छन्।

‘नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरण तर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ,’ रावलले बुधबार ट्वीट गरेका छन्।

एमसीसी यथावत अवस्थामा लागू गर्न नहुने पक्षमा नेपाल पनि छन्। त्यसप्रतिको आफ्नो अडानलाई उनले निरन्तरता दिने देखिन्छ । यद्धपि उनले यसबारे सार्वजनिक रुपमा मुख खोलेका छैनन्।  बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका नेताहरुले एमसीसी लागू गरेमा त्यसमा आफूहरुले विरोध जनाउने चेतावनी दिएका थिए। त्यसबारे नेपालका प्रतिनिधिका रुपमा बैठकमा सामेल डा. विजय पौडेल मौन थिए।

संसद पुर्नस्थापनाको आन्दोलनमा देउवासँगै गठबन्धनमा रहेको नेपाल खेमाभित्रको एक समूहले उनलाई विश्वासको मत दिएको थियो। अब सरकारमा नजाने निर्णय नेपाल खेमाले गरे पनि देउवालाई विश्वासको मत दिएपछि ओलीमा चुलिएको आक्रोश अझै साम्य भएको देखिन्न।

यस्तो अवस्थामा ओली र नेपाल एक हुने सम्भावना निकै कम छ। पछिल्लो साता यता दोस्रो तहका नेताहरुले ओली र नेपालबीच वार्ता गराउन प्रयास गरेपनि असफल भए। यो साता पनि उनीहरुले प्रयास जारी राखेका छन् । तर नेपाल र ओलीका आफ्नै शैलीमा कार्यक्रमहरु भइरहेका छन् ।

आगामी शनिबारसम्म वारपार गर्न ओलीको निर्देशन


यद्धपि ओलीले बुधबार पार्टी कार्यालयमा पुगेका बेला महासचिव ईश्वर पोखरेललाई आगामी शनिबारसम्म पार्टी एकता गरिसक्न निर्देशन दिएको बुझिएको छ।

स्रोतका अनुसार ओलीले पोखरेललाई भनेका थिए,‘ अब धेरै ढिलासुस्ती गर्ने ठाउँ छैन। आगामी शनिबारसम्म वारपार गरौँ। नेपाल आउँदै गर्नु होला। अरु साथीहरुलाई समेटेर आइतबार स्थायी कमिटी बैठक बोलाउनुहोस्। अब धेरै कुर्न सकिन्न। महाधिवेशन र चुनावलाई ध्यान दिन दिएर अघि बढ्नुपर्छ।’

ओलीको निर्देशन अनुसार पोखरेलले एमाले एकता कार्यदलका पूर्वसदस्य खासगरी विष्णु पौडेल र सुवास नेम्वाङलाई एकताका लागि प्रयास तीव्र पार्न आग्रह गरेका छन्। यसलाई लिएर उनीहरुले नेपाल खेमाका कार्यदलका पूर्वसदस्यहरु भीम रावल र सुरेन्द्र पाण्डेसँग बिहीबार भेट्ने योजना बनाएपनि समय निश्चित भइसकेको छैन।

नेपाल खेमा सरकारमा सहभागी नहुने निश्चित भएपछि बिहीबार मध्यान्हबाट खुमलटारमा प्रचण्डले, तुलसी स्मृति प्रतिष्ठानमा उपेन्द्र यादव र बालुवाटारमा देउवाले मन्त्रीको नाम टुंगो लगाउने गरी छलफल गरिरहेका छन्।

त्यसअघि बिहान प्रचण्ड, यादव र देउवा सँगै बसेका थिए भने त्यसपछि प्रचण्डले नेता नेपाललाई भेटेर खुमलटार पुगेका थिए। सम्भवत बिहीबार या सुक्रबारसम्म देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने छन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्