झुठो विवरण पेश गरेर नागरिकता बनाउने भारतीय युवतीसहित उनका नक्कली बुवा पक्राउ

वीरगञ्ज– झुठो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा एक युवतीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत घर भई हाल पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने २८ वर्षीय कविता कुमारी भनिने सीता पटेल र नागरिकता बनाउँदा नक्कली बुवा बनेर सनाखत गर्ने बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल रहेका छन्।

पक्राउ परेकी भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रहरीले जनाएको छ।

प्राप्त सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरबाट पटेललाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको ना.प्र.नं.३४–०१–७०–१०३५२ को नेपाली नागरिकता उनकाे साथबाट जफत गरिएकाे पनि प्रहरीले जनाएकाे छ।

उक्त नागरिकता बनाउन बुवा बनेर सनाखत गरेको आरोपमा धुरुपलाई पनि सोही स्थानबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका दुवैजनालाई नागरिकता सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खनालले बताए।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्