‘बाघ संवाद’मा प्रधानमन्त्री देउवाले भने- बाघ जोगाउन हामी प्रतिबद्ध

फाइल तस्बिर ।

काठमाडौँ– बाघको संरक्षणमा नेपालले निर्धारित लक्ष्य अनुसार सकारात्मक उपलब्धिहरु हासिल गरेको भए पनि थपिएका चुनौतीहरुको सामनाका लागि उपयुक्त र पर्याप्त प्रयासको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन्।

विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ संरक्षण समितिको आयोजनामा बिहीबार भएको प्रधानमन्त्री–बाघ संवादमा संरक्षणको क्षेत्रमा भएका सकारात्मक कामहरुलाई निरन्तरता दिँदै चुनौतीहरुको सामनाका लागि सबै तहमा तयार रहनु पर्ने बताइएको हो।

समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुर्लभ वन्यजन्तुका रुपमा रहेको पाटे बाघको संरक्षण तथा थप बिस्तारका लागि सरकार प्रतिवद्ध रहेको बताए। उनले बासस्थानको सुरक्षा तथा चोरी शिकार नियन्त्रणलाई प्राथमिकतामा राखिनु पर्ने र आफ्नो नेतृत्वको सरकारले यसलाई ध्यान दिने बताए।

पछिल्लो एक दशकमा बाघ संरक्षणको क्षेत्रमा नेपालले राम्रो उपलब्धि हासिल गरेको र त्यसमा स्थानीय बासिन्दादेखि सुरक्षा, संरक्षणदेखि नीतिगत तहसम्मको भूमिका महत्वपूर्ण रहेको उनले बताए।

विकास निर्माणका काम गर्दा बासस्थानमा असर नगर्ने कुरामा ध्यान दिइनु पर्ने, जैविक मार्गमा सकेसम्म मानवीय दखल कम गर्ने कुरामा विशेष ध्यान दिइने पनि उनले बताए।

सन् २०१० मा रुसमा भएको सम्मेलनले तय गरे अनुसार बाघ पाइने नेपालसहितका १३ देशले सन् २०२२ सम्म प्राकृतिक बासस्थानमा रहेका बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएका थिए। सोही अनुसार नेपालले पनि सन् २०२२ सम्ममा बाघको संख्या २३५ पुर्‍याउने लक्ष्य लिएको थियो।

सन् २०१८ को गणना अनुसार नेपालमा प्राकृतिक बासस्थानमा रहेका बाघको संख्या सन् २०१० मा रहेको १२१ बाट बढेर २३५ पुगेको छ। चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ रहेका छन्।

कार्यक्रममा वन मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले संख्या दोब्बर गर्ने लक्ष्य प्राप्तिका लागि बासस्थान तथा आहार प्राजातिको संरक्षण तथा बिस्तार, मध्यवर्ती तथा सामुदायिक वन कार्यक्रम तथा स्थानीय बासिन्दाको सहभागितामा सचेतना मुलक अभियान चलाइएको र त्यसले चोरी शिकार नियन्त्रणसहितका कार्यमा सहयोग गरेको बताए।

तर अबको चुनौतिका रुपमा प्राप्त उपलब्धीको संरक्षण सँगै थपिएका चुनौतिहरुको सामना गर्नु रहेको उनले बताए। सचिव कँडेलले यातायातको सुविधाका लागि बाटोहरुको बिस्तार वन क्षेत्रबाट हुँदा बासस्थान मासिनेसँगै दुर्घटनाका जोखिमहरु पनि बढेको परिवेशमा विकल्पहरु सम्बन्धी अध्ययनको खाँचो रहेको बताए।

यस्तै देशभरका बाघ बासस्थानहरुमा बहन क्षमता र भावी रणनीतिका लागि अध्ययनको खाँचो रहेको पनि उनले बताए। गएको वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन–पर्सा क्षेत्रमा गरेको पाटे बाघको पारिस्थितिक बहन क्षमताको मूल्यांकन सम्बन्धी अध्ययनले चितवन र पर्सा क्षेत्रमा अहिलेको जैविक, भौगोलिक तथा पारिस्थितिक अवस्था अनुसार १७५ पाटे बाघका लागि उपयुक्त रहेको देखिएको थियो।

वन मन्त्रालयका सचिव कँडेलले त्यस प्रकारको अध्ययन थप हुनु पर्ने बताए। खुलमटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नेतृत्वको सरकारले तय गरिएको लक्ष्य प्राप्त भएकोमा खुशी व्यक्त गर्दै जलवायु परिवर्तनका कारण बासस्थानमा आएको चुनौतिहरुको सम्बोधनका लागि अबको ध्यान जानु पर्ने सुझाव दिए।

मानव र बाघबीचकाे द्वन्द्व समाधानका उपायहरुकाे खाेजी अबकाे चुनाैती रहेकाे वक्ताहरुले बताए।

सन् २०१० मा रुसमा भएको बाघ सम्मेलनमा तत्कालीन वनमन्त्री दीपक बोहोरासहितको टोलीको नेतृत्व गरी तत्कालीन प्रधानमन्त्री नेपाल सहभागी भएका थिए। पूर्व वन मन्त्री बोहोराले देउवा सरकारलाई यही वर्ष नेपालमै बाघ सम्मेलन गर्न सुझाव दिए।

राष्ट्रिय प्रकृति संरक्षण  कोषको खुमलटारस्थित कार्यालयमा भएको कार्यक्रममा सहभागी भएका भारत र रुसका राजदूतहरुले संरक्षण प्रयासमा स्थानीयसँगै क्षेत्रीय–अन्तर्राष्ट्रिय सहकार्य महत्वपूर्ण हुने बताउँदै त्यसका लागि आफूहरु तयार रहेको बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले संरक्षणको प्रयासमा नीतिगत तहदेखि स्थानीय बासिन्दासम्मको महत्वपूर्ण भूमिका हुने भएकाले आफूहरुले सहकार्य तथा समन्वयसँगै अध्ययनको क्षेत्रमा काम गरिरहेको बताए।

उनले संरक्षण प्रयासमा रहँदै आएको सबै पक्षको साथको निरन्तरतासँगै थप प्रयासहरुको खाँचो रहेको बताए। विश्वभर जुलाई २९ मा बाघ सम्बन्धी सचेतनाका कार्यक्रम गरि बाघ दिवस मनाइन्छ। यो वर्ष ‘बाघको अस्तित्व, मानवको दायित्व’ भन्ने नाराका साथ मनाईँदै छ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्