सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्सबीच अटो प्लसमा सम्झौता

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्सबीच अटो प्लसमा सम्झौता भएको छ।

शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।

यस अटो प्लस सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ। यस अटो प्लस स्कीममा सवारीसाधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागु हुनेछ।

साथै यो स्कीम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागु हुनेछ। जस अन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर १ हजार ५ सय प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाइदाहरु रहेका छन्।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्गको आफूलाई पायक पर्ने नेपालभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन्। अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी छ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्