जुवा खालबाट दुई वडाध्यक्षसहित १५ जना पक्राउ

सांकेतिक तस्विर।

सिमकोट– जुवा खेलिरहेको अवस्थामा हुम्लामा दुई वडाध्यक्षसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गस्तीमा रहेको प्रहरीले सुराकीका आधारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको मुख्य बजार श्रीनगर क्षेत्रबाट दुई वडाध्यक्षसहित १५ जनालाई पक्राउ गरिएको हो।

उनले जुवा खेल्ने गरेको सूचना पाएपछि नियमित गस्तीमा रहेको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा जुवा खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्ति नै जुवा खेलिरहेको अवस्थामा फेलापरेका हुन्। पक्राउ पर्नेमा दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोली रहेका छन्।

प्रहरीले जुवाडेहरुलाई केही समय नियन्त्रणमा लिएको भएपनि खोजतलास गर्दा पैसा नभेटिएपछि अब पुनः यसरी जुवा नखेल्ने सर्तमा छाडेको जनाएको छ। सोधपुछपछि अबका दिनमा यस्तो कार्य नगर्ने कागज गरी जरिवाना तिरेर घर पठाएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई वडाध्यक्षसहित १५ जनालाई अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्