सांसद पुनर्बहाली माग गर्दै परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ – सांसद पदमा पुनर्बहालीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको छ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेशी तोकिए पनि कार्कीले ‘हेर्न नभ्याइने’ जनाउँदै सुनुवाइ नै सुरु नगरेका हुन्। सर्वोच्च स्रोतका अनुसार बिहीबार कार्कीले एउटा मात्रै निवेदनको सुनुवाइ गरेर बेलैमा इजलासबाट उठेका हुन्।

राजनीतिक रुपमा माओवादी छाडेका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधबार सर्वोच्च अदालतमा अलग–अलग रिट दिएका थिए।

उनीहरुले आफूहरु एमाले प्रवेश नगरेको र माओवादी केन्द्रको केन्द्रीय कमिटिको सूचीमा अझै आफ्नो नाम रहेकाले सांसद पद खारेज गर्ने गरी भएको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च पुगेका हुन्।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए।

त्यसपछि माओवादी केन्द्र दल त्यागेको भन्दै गत चैत २४ गते संसद सचिवालयलाई पत्र लेखेका थियो। पार्टीले सांसद पदबाट बर्खास्त गरेको झण्डै चार महिनापछि उनीहरु पुनर्बहालीको माग राखेर सर्वोच्च गएका हुन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्