‘बच्चाको पहिलो बर्थडेभन्दा पहिल्यै डेन्टिस्टकहाँ लैजानू’

दाँत बलियो भएमात्र समग्र स्वास्थ्य राम्रो हुन्छ। दाँतले मानिसको सौन्दर्यमा जति महत्वपूर्ण भूमिका खेलेको हुन्छ, यसको महत्व शारीरिक स्वास्थ्यमा पनि उत्तिकै हुन्छ। तर दाँतमा समस्या नआउँदासम्म हामी यसको बारेमा खासै ध्यान दिँदैनौँ। झन् आजभोलि जंक फुडले गर्दा बालबालिकाको दाँत बिग्रने समस्या पनि दिनानुदिन बढिरहेको छ।

यसै सन्दर्भमा हामीले बालबालिकाको मुखको स्वास्थ्यको ख्याल कसरी राख्ने भनेर हाल युनाइटेड डेन्टल केयर नयाँबजारमा डेन्टल सर्जनका रुपमा कार्यरत तथा आलोकनगरस्थित मम्स केयर पोलिक्लिनिकको डेन्टल युनिट पनि सम्हाल्दै आएकी डा. अश्मिना दाहाल क्षेत्रीसँग कुराकानी गरेका छौँ।

१) बच्चाको पहिलो चरणमा दाँत आउँदा देखिने समस्याहरु के—के हुन्?

— बच्चाको पहिलो चरणमा दाँत आउँदाखेरि सुरुमा देखिने समस्याहरु भनेको बच्चालाई ज्वरो आउन सक्छ, झाडापखाला हुन सक्छ, र्‍याल अलि बढी चुहिन सक्छ। त्यस्तै गरेर आइरहेको दाँतको वरपरको गिजाहरु सुन्निने, बच्चाहरुलाई खाना नरुच्ने पनि हुन सक्छ।

२) यस्तो खालको समस्या सबै बच्चामा देखिन्छ?

हरेक बच्चामा यही समस्या देखिन सक्छ भन्ने चाहीँ हुँदैन। बच्चाहरुको ३ वर्षसम्ममा २० वटा दाँतहरु आउन सक्छ। यो २० वटा दाँतहरु सबै झरेर फुक्लिन्छ। तर ६ वर्षभन्दा पछाडि आउने दाँतहरु परमानेन्ट दाँतहरु हुन्। र यी दाँतहरु फेरिँदैनन्।

३) बच्चाहरुको दाँत किराले खाने कारणहरु?

— बच्चाको दाँत किराले अलि बढी खाने कारणहरु भनेको चाहीँ हामीले बच्चाहरुलाई बोतलबाट दुध खुवाउने गर्छौँ। र दाँत सफा नगरिदिँदा दुधको कस दाँतमा जमेर बस्ने हुन्छ। र दाँत किराले खाने सम्भावना हुन्छ। तर हामीले दुध खुवाउने वित्तिकै एकपटक सफा गरेर बच्चालाई सुताइदियौँ भने दाँतमा किराले खाने संभावना अलि कम हुन्छ।

त्यस्तै गरेर हाम्रो दाँत तीन वटा लेयरले बनेको हुन्छ। सबैभन्दा माथिल्लो लेयरलाई इनामेल भनिन्छ, बीचको लेयरलाई डेनटिन भन्छौँ र सबैभन्दा भित्री भागलाई पल्प भन्छौँ। बच्चाको केसमा इनामेल अलि पातलो हुने भएकाले किराले गहिरो खाने संभावना छिट्टै हुन्छ।

४) बच्चाहरुको दाँतको सुरक्षाका लागि चकलेट खान दिनै नहुने हो?

— हामीले बच्चाहरुलाई चकलेट खायो भने दाँत किराले खान्छ भनेर चकलेट खान नदिने गछौँ। तर त्यसो गर्नुभन्दा अलि स्मार्ट तरिकाले बच्चालाई चकलेट खुवाउन सकिन्छ। खाना खाइरहेको समयमा बीचबीचमा चकलेट दियौँ भने किराले खाने संभावना अलि कम भएर जान्छ।

५) बच्चाको हल्लिएको दाँत निकालिएन भने कस्ता समस्या आइपर्छन्?

— बच्चाको दुधे दाँतहरु समयमै निकालिएन भने या समय पुग्नुभन्दा अगाडि नै निकालियो भने दाँतहरु बाङ्गोटिङ्गो भएर आउने, दाह्रा आउने जस्तो समस्याहरु देखिन्छ।

६) बच्चालाई कति समयमा डेन्टिस्टकोमा लैजान जरुरी छ?

— बच्चाहरुको पहिलो डेन्टल भिजिट चाहीँ पहिलो जन्मदिन भन्दा अगाडि नै या सबैभन्दा पहिलो दाँत आउने वित्तिकै एकपटक डेन्टिस्टकोमा गएर चेकअप गराउन जरुरी हुन्छ।

७) दिनमा कति पटक ब्रस गर्न जरुरी छ?

— हामीले दिनको दुईपटक बिहान र बेलुकी खाना पछाडि नरम रेसा भएको ब्रसमा फ्लोराइडयुक्त मञ्जन राखेर ब्रस गर्नुपर्छ। साथसाथै दिनको एकपटक डेन्टल फ्लस पनि युज गर्नुहोला। डेन्टल फ्लस भनेको एउटा धागो जस्तो हुन्छ। यसले दुईवटा दाँतको बीचमा अड्किएको फोहोरहरु निकाल्न मिल्छ।

त्यस्तै गरेर हामीले हरेक खाना खाइसके पछाडि एकपटक मुख कुल्ला गर्न जरुरी छ। त्यस्तै हरेक तीन महिनामा आफूले प्रयोग गरिरहेको ब्रस फेर्नुपर्ने हुन्छ।

८) दाँँत बलियो बनाउन कस्ता खानेकुराहरु खान जरुरी छ?

— आफ्नो मुख स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरुमा विशेष जोड दिनुपर्ने हुन्छ। जस्तै फाइबरयुक्त खानेकुराहरु, फलफूल, तरकारीहरु, त्यस्तै गरेर दुध, दही, ब्लाक टि, ग्रीन टि यस्तो खानेकुरामा विशेष जोड दिनुपर्छ।

र दाँतको भनुम् या ओभरअल मुख स्वास्थ्यको लागि हानिकारक हुने खानेकुराहरु जस्तै स्टिकी फुडहरु, क्यानडिजहरु, जुन चाहीँ दाँतमा अलि धेरै बेरसम्म अडकिएर बस्छ, यस्तो खानेकुराहरु, बाहिरको खानेकुराहरु, जङ्क फुडहरु, र सफ्ट ड्रिङ्क्सहरु अभोइड गरिदिनुहोला।

९) बच्चाहरुको दाँतको सुरक्षा कसरी गर्ने?

दाँत मुखमा आउनुभन्दा अगाडिदेखि नै सरसफाइ तथा सुरक्षामा ध्यान दिनुपर्छ। यस्तो बेलामा सफा टालोलाई पानीमा भिजाउने र यसलाई चोरी औंलामा बेरेर गिजाहरु पूरै सफा गराइदिनुपर्छ। र बच्चाहरु ७—८ वर्ष पुग्दासम्म बच्चाहरुकै लागि भनेर डिजाइन गरिएको ब्रस युज गर्ने र अभिभावकको रेखदेखमा बच्चालाई ब्रस गर्न लगाउने। त्यसपछि बच्चाहरुले आफैंले ब्रस गर्न सक्छन्।

१०) सामान्यतया कति समयको फरकमा दाँतको नियमित चेकअप गर्नुपर्छ?

— हामीले के सोच्छौँ भन्दा दाँत नदुखेसम्म, नसुन्निएसम्म, या अलि बढी रगत नगएसम्म हामीले समस्या हो जस्तै मान्दैनौँ। तर यस्तो भइसक्दा समस्याले अलि बढी जटिल रुप लिन थालिसकेको हुन्छ। त्यही भएर यो समस्याले जटिल रुप नलियोस् भन्नको लागि हरेक ६ महिनामा डेन्टिस्टकहाँ  भिजिट गर्नुहोला। जसरी हामीले फेसियल, थ्रेडिङ गर्न हरेक महिना सम्झन्छौँ, त्यही समयमा एकपटक डेन्टिसकोमा पनि भिजिट गर्नुछ है भनेर सम्झियो भने जटिल समस्याहरु भोग्नु पर्दैन।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्