ओलम्पिक चलिरहँदा जापान कत्तिको सुरक्षित छ?

ओलम्पिक सुरु भएको केही दिनमै मंगलबार टोकियोमा कोरोना भाइरस संक्रमितको संख्याले नयाँ उचाइ लियो। गत जनवरी ७ तारिखका दिन एकैपटक २५ सय २० जना संक्रमित यस सहरमा देखिएका थिए। त्यसलाई पनि उछिन्दै मंगलबार यहाँ २८ सय ४८ जनामा संक्रमण देखा पर्‍यो। यो यस सहरका निम्ति आजसम्मकै सर्वाधिक संक्रमित संख्या बन्न पुगेको छ।

यो संख्यासँगै ओलम्पिक चलिरहेको सहरमा अब कुल संक्रमितको संख्याले दुई लाख नाघेको छ।

शुक्रबारदेखि सुरु भएको ओलम्पिक जारी रहिरहँदा अब यस सहरमा अत्यन्त संक्रामक डेल्टा प्रजातिले ब्यापक विस्तार गर्ने चेतावनी विज्ञहरुले दिइसकेका छन्।

राम्रोसँग भ्याक्सिनको वितरण नभएको अवस्थामा भ्याक्सिन नलगाएका मानिसहरु र विशेषगरी सानो उमेरका जापानीहरुमा कोभिड १९ को प्रकोप बढी देखिन थालेको छ। अझ ५० वर्ष आसपासका मानिसहरुमा यसको खतरा झनै बढी देखिएको छ। त्यस्ता उमेर समूहका मानिसहरु यति बेला टोकियोमा कोभिडकै कारण उपचाररत ३ हजार विरामीहरुको संख्यामा तीब्र गतिले अंक थप्दै अस्पतालमा उपलब्ध बेडहरुको संख्या पनि घटाउन थालेका छन्। स्वास्थ्य सम्वन्धित निकायहरुलाई यो क्षमता सकेसम्म छिटो विस्तार गरेर छ हजार विरामीलाई सेवा दिन सक्ने संख्यामा पुर्‍याउन अधिकारीहरुले दबाब दिने भएका छन्।

जापानमा भ्याक्सिन वितरणको क्रम तुलनात्मक रुपले अलिक ढिला सुरु भएको थियो भने यसको गति पनि अलिक सुस्त हिसाबले नै अघि बढिरहेको अवस्था थियो। यसैबीच ओलम्पिकको रफ्तार बढेपछि प्रधानमन्त्री योशिहिदे सुगाको सरकारले नाटकीय रुपमा मे महिनादेखि भ्याक्सिन भित्र्याउने र धमाधम लगाउने काम अघि बढाएको हो।

जापान सरकारका अनुसार यतिखेरसम्म २५.५ प्रतिशत जापानीहरुले भ्याक्सिनको पुरै डोज लिइसकेका छन्। तैपनि आम रुपले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति यो मात्रा निकै कम हो।

यद्यपि जापान अहिलेसम्म पनि कोभिडका कारण धेरै समस्या झेलेको वा बढी मृत्यु भोगेको मुलुक मानिँदैन। यो मुलुकमा अहिलेसम्म जम्माजम्मी ८ लाख ७० हजार ४ सय ४५ जनामा कोभिड देखिएको छ भने १५ हजार १ सय २९ को यसबाट मृत्यु भएको देखिन्छ।

मुलुकका नागरिकहरुको जनस्वास्थ्यलाई भन्दा ओलम्पिकलाई बढी प्राथमिकता दिएको भनेर प्रधानमन्त्री सुगाको सरकार आलोचित बन्दै आएको छ। भर्खरै गरिएको मिडिया सर्भेमा उनको लोकप्रियता ३० प्रतिशतमा खुम्चिएको देखिएको थियो। यस्तो परिस्थितिका बीच जापानले आफूकहाँ ओलम्पिक सुरु गर्दा धेरै तामझाम देखाउनु उपयुक्त पनि मानेन। ओलम्पिकको इतिहासमै यसपाला साधारण हिसाबले उद्घाटन समारोह सम्पन्न भएको थियो।

त्यसै पनि महामारीको बीचमा ओलम्पिक आयोजना गर्नु चानचुने काम थिएन।

त्यसै हुँदा टोकियो ओलम्पिक कमिटीका आयोजकहरुले यथासक्य बढी मात्रामा जनस्वास्थ्य विज्ञहरुसँग रायसल्लाह पनि लिएका थिए। उनीहरुले ओलम्पिकको भिडभाडका बेला महामारीको विस्तार सकभर नियन्त्रित होस् भनेर ‘ट्र्याकिङ एप्स’हरुमा मनग्गे लगानी पनि गरेका थिए।

तर, यो सब गर्दागर्दै पनि अझै भरपर्दो बन्न नसकेको प्रणाली र व्यवहारिक रुपमा उत्पन्न कतिपय कठिनाइले विश्वभरबाट थुप्रिएका हजारौं मानिसले अनेक समस्याहरु भोग्नु परिरहेको अवस्था छ। र, यिनै परिस्थितिहरुले अर्कोतर्फ कोभिड १९ को खतरा, अझ विशेषगरी डेल्टा प्रजातिको विस्तारका सम्भावनालाई ब्यापक बनाउँदै लगिरहेको देखिन्छ।

उदाहरणका निम्ति टोकियोमा आइपुगेका सञ्चारकर्मीहरुको लागि आयोजकले असाध्यै कडा नियम त बनाएका छन्। कडा परीक्षणको व्यवस्था, सम्पर्कहरुको सूचनादेखि अनेक उपायहरु अपनाउनुका साथै मास्क अनिवार्य गरिएको छ। तर, यति हुँदाहुँदै पनि कमजोरीका विन्दुहरु देखिएकै छन्, जसबाट संक्रमण फैलनसक्ने खतरा देखिन्छ।

जापानले ओलम्पिकका निम्ति उसको मुलुकमा भित्रिएका खेलाडीदेखि पत्रकार हुँदै दर्शकसम्मलाई उनीहरु प्रवेश गरेको दिनबाट १४ दिनसम्म त्यहाँका सार्वजनिक यातायातका साधनहरु प्रयोग गर्नबाट निषेध गरेको छ। उनीहरु यो अवधिभित्र सहरमा मनलाग्दी तवरले हिँडडुल गर्न पनि पाउने छैनन्। तर, त्यहीँनिर अर्कातर्फ यी तमाम मानिसहरुलाई बसोबासका लागि जुनजुन होटलहरु तय गरिएका छन् ती होटलमा ओलम्पिकभन्दा बाहिरका पाहुनाहरु पनि बसिरहेका देखिन्छन्। त्यसैगरी यी होटलमा सरसफाइ गर्नेदेखि लिएर खानपिनको प्रवन्ध गर्ने कर्मचारी पनि स्थानीय वासिन्दा नै हुनसक्छन् जसको ठूलो संख्याले अझै भ्याक्सिन लगाइसकेका छैनन्।

खेलाडी र सञ्चारकर्मीलाई ओहोर दोहोर गर्नका निम्ति ओलम्पिककै निम्ति भनेर विशेष प्रवन्ध गरिएका सवारी साधनमात्रै प्रयोग गर्न निर्देशन दिइएको छ। त्यस्ता साधनमा बसदेखि लिएर तोकिएका ट्याक्सीसम्म छन्। यस्ता सवारीसाधनका स्थानीय चालकहरु पनि भ्याक्सिन लगाएकाजस्ता देखिँदैनन्। यी तमाम कामदारहरु दिनभर पाहुनाहरुको नजिक संसर्गमा रहने मात्र नभई बेलुकीपख सम्भावित खतरालाई बोकेरै आआफ्ना परिवारमा पनि पुगिरहेका छन्।

सबैभन्दा अनौठो त ओलम्पिकका निम्ति राखिएका बसहरु जताततै भरिभराउ सञ्चालन भइरहेका देखिन्छन्। त्यसरी बसहरु भित्र कोचाकोच यात्रा गरिरहेको देखिरहँदा भौतिक दुरीको नियम पालनाजस्ता कुराहरु ठट्टाको विषय बनिरहेको पाइन्छ। जबकि यो कोभिड १९ लाई नियन्त्रण गर्नको निम्ति सर्वमान्य सामान्य नियम बनिसकेको छ।
यी प्रश्नहरुलाई लिएर टाइम म्यागजिनले कुरा उठाउन खोज्दा टोकियो ओलम्पिकको आयोजक कमिटीले तत्काल जवाफ दिन चाहेन।

‘मास्क पहिरेकै मानिसहरुको पनि नाक र मुखलाई नभई निधारलाई त्यस्ता मास्कले छोपिरहेको देखिन्छ जसका वरपर स्वास फेरिरहेका ब्यापक मानिस उभिएका देखिन्छन्,’ हार्भर्ड विश्वविद्यालयको बायो इन्जिनियरिङ विभागका सदस्य डेभिड एडवार्ड भन्छन्, ‘यस्तोमा संक्रमण सर्नसक्ने असाध्यै खतरा रहन्छ।’

त्यसमा पनि झ्यालढोकासमेत डम्म थुनिएर गुम्सिएकै अवस्थामा चल्ने सार्वजनिक यातायातका बसहरु यस्ता भाइरस विस्तार गर्नका निम्ति सबैभन्दा डरलाग्दा स्थल हुन्।
एडवार्डका अनुसार बन्द हल तथा कोठाहरु झनै बढी खतरनाक हुन्छन्।

‘त्यस्ता बन्द कोठामा मानिसहरुको संख्या जति मात्रामा बढ्दै जान्छ त्यतिमात्रामै त्यो डरलाग्दो हुँदै जान्छ,’ उनी भन्छन्, ‘मास्क लगाएकै मानिसलाई पनि त्यसले खतरा थप्दै लैजान्छ।’

उदाहरणका निम्ति ओलम्पिक आयोजकहरुले बनाएको मुख्य प्रेस सेन्टरको कार्यकक्ष नै लिउँ। सयभन्दा बढी मानिस त्यसमा अटाउन सक्छन्। यी सबै कक्षहरुमा छ फिटभन्दा पनि कम दुरीमा बसेर सञ्चारकर्मीहरु घन्टौं काम गरिरहेका देखिन्छन्। उनीहरुको बीचमा सिसाको बार मात्र देखिन्छ।

यस्ता बारहरुले दुईतिर बस्नेका स्वासप्रश्वासबाट उत्पन्न छिटाहरुलाई रोक्ने काम गरेता पनि दुवैतर्फ हावा बगिरहेकै हुन्छ र त्यसले संक्रमणको संभावनालाई कम गरेता पनि निमिट्यान्न चाहिँ नपार्ने एडवार्ड तर्क गर्छन्।

यस्तै अवस्था मुख्य खेल आयोजना स्थलको सुरक्षा प्रणालीदेखि लिएर प्रेस र प्रशारण सेन्टरहरुमा पनि देखिन्छ। यस्ता स्थानहरुमा प्रवेश गर्ने बेलामा खेलाडी र सञ्चारकर्मीहरुले तस्बिर लिनको निम्ति मास्क फुकाल्नै पर्ने अनिवार्य नियम राखिएको छ। त्यो बेला तस्बिर लिने काममात्र नभ‍ई उनीहरुले मेसिन अघिल्तिर  उभिएर घाँटीमा भिरेको पासको समेत स्क्यान गर्नुपर्ने हुन्छ। अझ कतिपय सञ्चारकर्मीहरुले त पासलाई घाँटीमा नभिरेकै कारण एकछिनसम्मै यो प्रकृयामा समय लगाइदिँदा त्यतिन्जेलको स्वासप्रश्वासले वातावरणमा मजासँग फैलिने मौका पाइरहेकै देखिन्छ। त्यसैगरी संवाददाता भेलामा सरिक हुनका निम्ति जाने खेलाडीहरुले पनि यही प्रकृयाबाट गुज्रेका देखिन्छन्। यी तीनै खेलाडी हुन् जसलाई सुरक्षाका खातिर नै उनीहरुले प्राप्त गर्ने मेडलसमेत यसपालाको ओलम्पिकमा कसैले लगाइदिने नभई आफूले जितेको मेडल आफैले पहिरिने नियम लगाइएको छ। अर्थात्, सुरक्षाका निम्ति अपनाइएका यी उपायहरुको बीचमा तारतम्य मिलिरहेको देखिँदैन।

यस्तो अवस्थामा लगातारको कडा परीक्षण र मानिसहरु बीच सम्पर्कको खोजी (कन्ट्याक्ट ट्रेसिङ)का गतिलाई तीब्र बनाउँदा केही नियन्त्रण हुन सक्ला कि भन्ने एउटै झिनो आशा स्वास्थ्य अधिकारीहरुमा पाइन्छ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्