कोभिड १९ को तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

मोरङ– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको सन्दर्भमा तयारी अवस्था रहन मातहतका निकायलाई निर्देशन दिएकी छन्।

मन्त्रालयमा बिहीबार कोभिड १९ को सम्भावित तेस्रो चरणको पूर्व तयारी सम्बन्धी भर्चुअल बैठकमा मन्त्री राईले निर्देशन दिएकी हुन्।

कोभिडको तेश्रो चरणको तयारीमा लाग्न निर्देशन दिँदै मन्त्री राईले समस्या र चुनौतीको सबैले मिलेर मात्र समाधान गर्न सकिने बताएकी थिइन्।

कोरोना परास्तका लागि सबै एकजुट भए मात्र सम्भव हुने उनको भनाइ छ। मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको जानकारी दिएकी थिइन्।

भर्चुअल कार्यक्रम मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो। सो भर्चुअल बैठकमा १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्