असोज मध्यदेखि तेस्रो लहर आउने चेतावनी, झनै खतरनाक हुनसक्छ: विज्ञ

गएको सोमबार स्वास्थ्य मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको थियो।

समितिको बैठकमा मन्त्रालयका सह–सचिव गंगा लोहनीले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको बताएका थिए। यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्न सक्ने समेत उनले उल्लेख गरेका थिए।

मन्त्रालयले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘कोभिड–१९ को वर्तमान अवस्था तथा संक्रमणदरलाई हेर्दा तेस्रो लहर सम्भवतः असोज १५ देखि मंसिर महिनाको बीचमा फेरि आउन सक्छ। यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यको आधारभूत मापदण्ड पालनाको स्तरले यसलाई अगाडि पछाडि धकेल्न सक्दछ।’

मन्त्रालयले आसोज १५ गतेबाट तेस्रो लहर सुरु हुने प्रतिवेदन बुझाउँदै गर्दा कतिपयले विज्ञहरुले भने अहिले नै दैनिक रुपमा उकालो चढ्दै गरेको संक्रमण दर हेर्दा तेस्रो लहर सुरु भएको संकेत दिइरहेका छन्।

अहिले दैनिक रुपमा थपिदै गएका संक्रमितको संख्यामा कमी नआउने हो भने संक्रमणको तेस्रो लहरको सुरुवात हुने जनस्वास्थ्यविज्ञ डा. केदार बरालले बताए।

उनले भने, ‘अहिले हाम्रोमा टेष्ट पोजेटिभिटी त्यति घट्न सकेको छैन। हुन टेष्ट थोरै भएको पनि हुन सक्छ। थोरै हुनुको मतलब धेरै विरामी पहिचान भएन। थाहा पाइएन भन्ने भयो। त्यसैले यो तेस्रो लहरको सुरुवात हुन सक्छ। टेष्ट पोजेटिभिटी रेट एकदमै हाई छ।’

डा. बराल तेस्रो लहर सुरु हुनका लागि संक्रमित संख्या भन्दा पनि प्रवृत्ति हेर्ने बताउँछन्। उनी भन्छन्, ‘हामी प्रवृत्तिलाई हेर्छौँ, नम्बरलाई होइन। हरेक दिनको प्रवृत्ति हेर्ने, हप्ताको औसत हेर्ने यो हप्ताको अर्को हप्ताको त्यसरी गर्ने हो। हिसाब गर्दा खेरी पोजेटिभिटी रेट घटेन भने यसले संकेत गर्छ कि अझै पनि पोजेटिभ विरामीहरु उत्तिकै छन्। पोजेटिभ मात्रै आउनुको मतलब अरु छुटेका छन् भन्ने बुझिन्छ। यसरी नै अर्थ लगाउछौँ हामी।’

मन्त्रालयले भने अनुसार असोजको बीचबाट संक्रमणले पिक लिन सक्ने उनले बताए। उनका अनुसार तेस्रो तहर चाँडो पनि आउन सक्छ, अलि ढिलो पनि आउन सक्छ। अहिले नै यसमा ध्यान पुर्‍याउन सकिएन भने भने तेस्रो लहरमा प्रवेश गर्ने दिन ढिला नहुने उनले बताए।

संक्रमण दर बढ्दै जाँदा अहिले नै जनस्वास्थ्यका मापदण्डको पालना गर्दै ‍गराउँदै ध्यान पुर्‍याउन सकिएको खण्डमा यसलाई यत्तिकै रोक्न सकिने डा. बरालले बताए।

उनले भने, ‘अहिलेकै अवस्थामा हुने हो भने तेस्रो लहरको सुरुवात हुन सक्छ भन्ने हो। तेस्रो लहर सुरु भयो भने असोज १५ मा पिकमा पुग्छ। अहिलेको प्रवृत्ति नै भनौँ या जसरी औसत रुपमा हप्तामा अहिले बढिरहेको छ, यही स्थितिमा गयो भने लहरकै रुपमा असोजमा आइपुग्छ भन्ने अर्थ हो। हामीले नियन्त्रण नै गर्न नसक्ने अवस्थामा आउँछ भन्ने हो। फरक यति मात्र हो यो अलिकति चाँडो पनि आउन सक्छ, अलिकति ढिलो पनि हुन सक्छ।’

यस्तै पछिल्लो केही हप्ता यता बढ्दै गएको संक्रमण दर पुरानै भएको डा. मरासिनीले बताए।

उनले भने, ‘तेस्रो लहर अझै सुरु भएको छैन। दैनिक ३ हजार केस पुगेका छ। अहिलेको संक्रमण दर हेर्दा पुरानो नै हो। तर कुनै पनि बेला माथि जान सक्छ। यही दर ह्वात्तै बढेर गयो भने तेस्रो लहर सुरु भयो भनेर बुझ्नु पर्छ।’

६० प्रतिशत नागरिकलाई खोप लगाउन सकिएमा संक्रमिण नियन्त्रण र सामाजिक तथा आर्थिक गतिविधिहरू सुचारु गर्न सकिने मन्त्रालयले जनाएको थियो।

तर डा. बराल भने खोपले लगाउने बित्तिकै तत्काल काम नगर्ने बताउँछन्।

‘खोप अहिले दिए अहिले नै त्यति धेरै अर्थ हुँदैन। खोपको असर आउनका लागि केही समय लाग्छ। तर नियमित भइरहेको जुन यो खोप छ, यसको प्रभाव आउन कसेकम ६ देखि ८ हप्ता लाग्छ’, उनी भन्छन्,‘पहिलो डोज लगायो। फेरि दोस्रो डोज लगायो। यसले शरीरमा एन्टिबडी अर्थात प्रतिरोधात्मक क्षमता बन्नु पर्ने हो त्यो बन्नलाई समय लाग्छ। आज खोप दियो भोलिदेखि नै काम गर्दैन।

डा. बरालले जति टेष्ट पोजेटिभिटी रेट बढ्यो त्यति खतरा हुने बताए।

‘हामीले टेष्ट पोजेटिभिटी रेट हेर्नु पर्ने हुन्छ। कति टेष्ट गरियो भनेर जति टेष्ट पोजेटिभिटी रेट बढ्यो त्यति खतरा हन्छ। त्यसको मतलब दुई वटा कुरा हुन्छ। या त टेष्ट कम भइरहेको हुन्छ, अथवा विरामीलाई हामीले उपचार गर्न ल्याउन सकिरहेका छैनौँ वा आउन सकिरहेका छैनन्’, उनले भने।

यस्तै कोरोना भाइरसको सम्भावित तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने सम्भावना रहेको भन्दै विज्ञहरुले सजग रहन सबैलाई आग्रह गरिरहेका छन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्