महाधिवेशनबारे कांग्रेसमा अन्योलता कायमै, विवाद समाधान गर्न शीर्ष नेतालाई थप पाँच दिन

काठमाडौँ– कांग्रेसको महाधिवेशनबारेको अन्योलता थप बढेको छ। भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने र मंगलबारदेखि नै वडा तहबाट अधिवेशन हुनुपर्ने भए पनि क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन थप अन्योलमा परेको हो।

बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले तत्कालै तल्ला तहको अधिवेशनको नयाँ कार्यतालिका ल्याउने बताइए पनि नेताहरुले विवाद समाधानका लागि थप पाँच दिन लिएका छन्।

स्थगित भएको अधिवेशनको नयाँ कार्यतालिका आउनुपर्ने बेला शीर्ष नेताहरुले नै थप पाँच दिन समय लिएपछि तोकिएको समयमा अधिवेशन नहुने लगभग निश्चित भएको हो।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकबारे जानकारी दिँदै क्रियाशिल छानबिन समितिका संयोजक नेता रामेश लेखकले भने, ‘हाम्रो तहबाट आज पनि प्रतिवेदन बुझायौँ। नेताहरुले क्रियाशिल र नयाँ पार्टीबाट समायोजन भएर आएकाको सदस्यता मिलाउन पाँच दिन थप समय माग्नुभएको छ।’

बधुबारको बैठकले क्रियाशिल समितिलाई २४ घण्टाको समय दिएर विवादलाई साँघुर्‍याउन निर्देशन दिएको थियो। त्यसअनुसार आफूले पुनः प्रतिवेदन बुझाए पनि धनुषा–४, सर्लाही, बारा र सप्तरीको क्रियाशिल विवाद टुंगिन बाँकी रहेको छानबिन समितिका अर्का सदस्य प्रदिप पौडेलले बताए। बारा र सप्तरीमा थप गरिएका क्रियाशिल विवाद रहेको छ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार कांग्रेसको गाउँ र नगर वडा अधिवेशन साउन १२ गते हुनुपर्थ्यो। गाउँ र नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते हुने कार्यतालिका थियो।

त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि निर्धारित थियो। तर अब वडा अधिवेशन नै स्थगित भएको अवस्थामा समग्र कार्यतालिका नै प्रभावित हुने निश्चित भएको छ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्