वन्यजन्तु संरक्षण र पूर्वाधार विकास ‘सँगसँगै’

सांकेतिक तस्बिर।

काठमाडौँ– वातावरण तथा वन्यजन्तु संक्षणका लागि संरक्षण प्रयास र विकास एकअर्काका विरोधी होइन परिपुरक बन्नु पर्ने संरक्षण तथा विकासकर्मीहरुले बताएका छन् ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार भएको बाघ संरक्षण र पूर्वाधार विकास विषयक संवाद कार्यक्रममा वक्ताहरुले संरक्षण र विकासलाई भिन्दाभिन्दै हेरिँदा साझा उदेश्य प्राप्त गर्न नसकिने बताएका हुन्।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभागको आयोजना तथा विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी अफ लण्डनको सहयोगमा भएको कार्यक्रममा विकास तथा संरक्षण क्षेत्रका विज्ञहरु सहभागी थिए।

वन्यजन्तु विज्ञ तथा संरक्षणकर्मी डा. शान्तराज ज्ञवालीले पूर्वाधार विकास र संरक्षण अभियानलाई एकीकृत गरेर दुवै पक्षको हितको संरक्षण हुने अवस्थासहितको मोडालिटीमा अघि बढ्नुको विकल्प नरहेको बताए।

विकासका काम गर्दा वन्यजन्तुको हित तथा वातावरणीय अवस्थामा असर कम भन्दा कम पर्ने खालको विकल्पको खोजी गरिनु पर्ने उनले बताए।

डा. ज्ञवालीले भने, ‘विकासका काम गर्दा वन्यजन्तुको हित रक्षालाई केन्द्रमा राखिनु पर्छ। अहिलेसम्मका प्रयासहरुमा खासै यस्तो खालको अभ्यास भएको पाइँदैन। तर पछिल्लो केही घटनाहरुमा दुवै पक्षको हितको रक्षालाई ख्याल गर्न थालिएको छ। यसलाई सबै खालका विकास प्रयासमा अनिर्वाय गरिनु पर्छ।’

विशेष गरि राजमार्ग, सिचाइँ, ट्रान्समिसन लाइन तथा रेल मार्गसहितका विकासका काम गर्दा बन्यजन्तुको बासस्थान खण्डित हुने, कतिपय अवस्थामा बासस्थान मासिने र मिचाहा प्रजातिको असर पर्ने गरेका छन्।

संरक्षणका साझेदार संस्थाहरुले जैविक मार्गहरुको संरक्षण, विकल्पका रुपमा अण्डर पास वा ओभर पाससहितको व्यवस्थाका लागि सरोकारवाल निकायलाई सहकार्यका लागि एकीकृत गर्न भूमिका खेल्नु पर्ने पनि डा. ज्ञवालीले बताए।

कार्यक्रममा वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले संरक्षण प्रयासलाई प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै उचित व्यवस्थाको प्रयास भइरहेको बताए। मन्त्रालयको पहलमा तयार भएको वन्यजन्तु मैत्री पूर्वाधारण निर्माण कार्यविधि र मापदण्ड स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने अवस्थामा पुगेको उनले जानकारी दिए। सबै पक्षको सुझाव लिएपछि कार्यविधि तथा मापदण्डलाई अन्तिम रुप दिएर कानून र अर्थ मन्त्रालयको समेत स्वीकृतिमा मन्त्रिपरिषदमा टेबुल गर्न तयारी अवस्थामा पुगेको उनले बताए। सो कार्यविधि तथा मापदण्ड स्वीकृत भएपछि संरक्षण र विकासका कामबिचको तालमेलका लागि नीतिगत रुपमा थप स्पष्टता प्राप्त हुने अपेक्षा रहेको उनले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. दीपक खरालले मानव–वन्यजन्तुबीचको द्वन्द्वका कारण उत्पन्न परिस्थितिको समाधानका लागि आफूहरुको ध्यान केन्द्रित गर्नु परेको र त्यसले संरक्षण तथा संरक्षण प्रयासका विकल्पहरुबारे काम गर्न बाधा भइरहेको बताए। यो अवस्था आउन नदिनका लागि विकासलाई वन्यजन्तु र वातावरण मैत्री बनाइनु पर्ने भन्दै उनले सबै पक्षको सहकार्यमा काम गर्न आफूहरु तयार रहेको उल्लेख गरे।

तर सडक विभागका महानिर्देशक इन्जिनियर अर्जुन जंग थापाले भने विकासलाई संरक्षणको शुत्रका रुपमा लिनु नै समस्या रहेको बताए। उनले भने, ‘विकासलाई संरक्षणको विरोधीका रुपमा लिइन्छ, यो धारणा परिवर्तन हुन जरुरी छ। हामी संरक्षणका सारथी हौँ र बन्न चाहन्छौँ। त्यसका लागि के के गर्न सकिन्छ हामी सहकार्यका लागि तयार छौँ। हामीलाई वन्यजन्तु वा वातावरण संरक्षणका विरोधी होइन सहकर्मीका रुपमा लिइयोस् र विकल्पहरुबारे सुझाव दिइयोस्। हाम्रा सन्तानका लागि पनि वातावरण र वन्यजन्तु चाहिन्छ भन्ने थाहा छ। हामी विकाससँगै संरक्षणलाई साथमा लिएर हिँड्न तयार छौँ।’

डब्लुडब्लुएफका संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले सहजिकरण गरेको संवाद कार्यक्रममा चुरे क्षेत्रमा बाघको गतिविधिमा विद्यावारिधी गरेका डा. कञ्चन थापाले विकास र वन्यजन्तु (विशेषगरि बाघ) बिचको द्वन्द्व र अवस्थाका बारेमा जानकारी गराए। प्रमाणहरुले अहिलेको लिनियर विकास प्रयासहरु वन्यजन्तुको हितमा तालमेल मिलाउन असफल देखिएको उनले उल्लेख गरे। संरक्षण र विकासमा सहकार्य गरि एक अर्कालाई जोखिम हुने गरि काम नगर्ने नीति नै उचित विकल्प रहेको सबै वक्ताहरुले उल्लेख गरेका छन्।

पछिल्ला केही वर्षमा बाघको संख्या बढ्दै जाँदा मानव र बाघ द्वन्द्व बढेको तथा त्यसको कारकको रुपमा विकासका काम रहेको रहेको देखिएको अवस्थामा बाघ दिवस पारेर संवाद कार्यक्रम भएको हो। गएको आर्थिक वर्षमा बर्दियामा मात्रै बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको थियो।

सन् २०१० मा रुसमा भएको सम्मेलनले तय गरे अनुसार बाघ पाइने नेपालसहितका १३ देशले सन् २०२२ सम्म प्राकृतिक बासस्थानमा रहेका बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएका थिए। सोही अनुसार नेपालले पनि सन् २०२२ सम्ममा बाघको संख्या २३५ पुर्‍याउने लक्ष्य लिएको थियो।

सन् २०१८ को गणना अनुसार नेपालमा प्राकृतिक बासस्थानमा रहेका बाघको संख्या सन् २०१० मा रहेको १२१ बाट बढेर २३५ पुगेको छ। चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ रहेका छन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्