कोरोनाविरुद्धको खोप दुरुपयोग नगरेको विराटनगरका मेयर पराजुलीको दावी

मोरङ– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना भाइरसविरुद्धको खोप कतै पनि दुरुपयोग नगरेको दाबी गरेका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै मेयर पराजुलीले बुधबार राति भएको खोप प्रकरणमा आफ्नो उपस्थिति नभएको समेत दावी गरेका छन्।

विज्ञप्तिमा मेयर पराजुलीले पार्टीभित्रका आन्तरिक बेमेललाई लिएर आफूविरुद्ध केहीले प्रतिशोध साँधेको बताएका छन्। उनले पार्टीभित्रको आन्तरिक चित्त नबुझेको विषयमा तुष राखेर आफूविरुद्ध अनर्गल प्रचारवाजी गरिएको दाबी गरेका छन्।

बुधबार राति महानगरपालिका ५ स्थित व्यक्तिगत घरमा खोप लगाउन कार्यमा आफ्नो नाम अनावश्यक रुपमा मुछिएको र आफू सो स्थानमा नभएको उनको भनाइ छ।

नजिकिँदो पार्टी महाधिवेशनलाई मध्यनजर गर्दै कांग्रेसभित्रकै एक समूहले आफूलाई बदनाम गराउने प्रयास गरेको उनले जनाएका छन्।

उनले कोभिड १९ महामारीका क्रममा अहोरात्र खटिएको महानगरपालिकाको टोलीलाई बदनाम गराउने र हतास पार्ने कार्य भइरहेको बताएका छन्।

कोरोना भाइरसको संक्रमणको सुरुवातबाटै महानगरपालिकाको टोलीसहित जनताको सेवामा खटिएको जनाउँदै उनले विज्ञप्तिमा कोरोना संक्रमितको घरघरमा चिकित्सक तथा अक्सिजन सेवा उपलब्ध गराएको बताएका छन्।

विराटनगरमा कोरोना भाइरसविरुद्धको खोप महानगरपालिकाले व्यक्तिगत घरमा पुगेर लगाएको भन्दै स्थानीय बासिन्दाले विराेध गरेका थिए।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्