सिमकोटमा फल्यो क्यारो अंगुर

सिमकोट – हुम्ला सदरमुकाम सिमकोटमा अंगुर फलेकाे छ। एक वर्ष अगाडि परीक्षणका लागि लगाएको अंगुरकाे बाेटमा फल लागेको हो।

सिमकोट गाउँपालिका–५ का गगन रोकायाले परीक्षणका लागि लगाएको अंगुरकाे बाेटमा फल लागेकाे जानकारी दिए।

यो अंगुर दुई हजार ९५० मिटर उचाईमा फलेको हो। उनले आफ्नै बारीमा क्यारो जातको कालो अंगुर लगाएका थिए।

अघिल्लो वर्ष थोरै फलेर असोज महिनामा पाकेको अंगुर यस वर्ष धेरै फलेको उनले बताए।

राेकायाका अनुसार स्वादमा केही अमिलोपन हुने अंगुर खेती उच्च हिमाली जिल्लामा सफल भएको हो। अहिले उनले राेपेकाे विरुवामा अंगुर लटरम्म फलेको छ।

कृषि प्राविधिक समेत रहेका रोकायाले अंगुर खेतीको सम्भावना राम्रो देखिएको बताए। उनले आफूले लगाएका दुवै बोटमा साढे दुई सय भन्दा बढी झुप्पा अंगुर फलेकाे बताए।

परीक्षणका लागि लगाएका अंगुर राम्रोसँग फलेपछि अब व्यवसायिक खेतीको तयारी गरिरहेको उनले बताए।

पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै तराई मधेशमा फल्ने फलहरु हिमालमा पनि फल्न थालेको कृषि प्राविधिकले बताउन थालेका छन्।

कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीका अनुसार अंगुर खेती दुई हजार पाँच सय मिटर उचाइमा लगाउन सकिन्छ।

साउन १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्