मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन लाग्ने

प्रधानमन्त्री शेरबहादुर देउवा। फाइल फोटो।

काठमाडाैँ – मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन समय लाग्ने भएकाे छ। सरकारमा सहभागी हुने तीनवटै दलले मन्त्री हुनेको नाम टुंगो नलगाएकाले मन्त्रिपरिषद् विस्तार हुन सोमबारसम्म समय लाग्न सक्ने प्रधानमन्त्री निकट श्राेतले जानकारी दियो।

जसपाले शनिबार संसदीय दलको नेता चयन गर्ने र त्यसपछि मात्रै सरकारमा सहभागी हुनेहरुको नाम दिने जानकारी प्रधानमन्त्रीलाई गराएको छ। कांग्रेस र माओवादी केन्द्रले पनि मन्त्री हुनेहरुकाे नाम टुंगो लगाएका छैनन्।

एमालेकाे माधव नेपाल पक्ष सरकारमा नगएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीसहित १०, माओवादी केन्द्रले ८ र जसपाले ७ मन्त्री पाउने समझदारी सत्तारुढ गठबन्धनमा बनेकाे छ। नेपालपक्ष सरकारमा सहभागी हुन राजी भए भागबण्डा बदलिँने छ।

तर वरिष्ठ नेता नेपालले अझै केही दिन पार्टी एकताका लागि पहल गर्ने जनाउँदै तत्काल सरकारमा सहभागी नहुने जानकारी गठबन्धनलाई गराएका बताइएकाे छ। सरकारमा सहभागी हुने कि नहुने भन्नेमा नेपाल समूहभित्र मतभेद चुलिएको छ ।

एकथरीले पार्टी एकता कायम गर्दै सरकारमा सहभागी हुन नहुने भनिरहेका छन् भने अर्काे थरीले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने दबाब बढाएका छन् ।

माधव समूहका सांसद विरोध खतिवडाले तत्काल आफूहरु सरकारमा सहभागी नहुने बताए। तर माधव समूहकै अर्का सांसद मेटमणि चौधरीले भने आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताए।

अहिले आफूहरु सरकारमा सहभागी भएपछि उत्पन्न हुने कानुनी जटिलताहरुबारे परामर्शमै रहेको उनले जानकारी दिए। संसद र सरकारलाई बलियो बनाउन पनि आफूहरुको सरकारमा सहभागिता अपरिहार्य रहेको चौधरीको भनाइ छ।

बिहीबार एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई क्षमतावान सहयोद्धाहरुलाई लिएर काम गर्न नेता नेपालले सुझाव दिएका थिए। प्रधानमन्त्री एक्लै सक्षम भएर नहुने बताउँदै उनले सहयोद्धाहरु पनि क्षमतावान छान्न सुझाव दिएका थिए।

पछिल्लो समय समूहगत निर्णय नलिएर व्यक्तिगत रुपमा माधव समूहका सांसदहरुलाई सरकारमा सहभागी गराउने तयारी पनि चलिरहेको छ। नेपाल पक्ष औपचारिक रुपमा नगए पनि माथिल्लो सभामा उनी समर्थक स्वतन्त्र हैसियतमा रहेका बेदुराम भुसाल र खिमलाल देवकोटा मन्त्री बन्ने सम्भावना रहेकाे श्राेतले जानकारी दियाे।

माधव समूह सरकारमा सहभागी हुन नमाने विभिन्न राजनीतिक नियुक्तीमा ठूलो भाग दिने गरी सत्ता सञ्चालन गर्ने तयारी पनि गठबन्धनले गरिरहेको छ ।

साउन १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्