इमामनगर ब्यारेकमा पृथ्वीनारायण शाहको शालिकसहित एकता बाटिका निर्माण

नेपालगञ्ज – नेपाली सेनाको राँझास्थित इमामनगर ब्यारेकमा राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसहित एकता बाटिका निर्माण गरिएको छ।

ब्यारेक हाताभित्र निर्माण गरिएको श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसहित एकता बाटिकाको शुक्रबार बिहान नेपाली सेनाको पश्चिम कमाण्डका प्रमुख उपरथि प्रेम शाही, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्घाटन गरे।

शालिकको ब्याकग्राउण्डमा दायाँतर्फ गणेश भगवानको मूर्ति र बायाँतर्फ गोरखास्थित गोरखा दरबारको उपल्लो दरबारमा अवस्थित बज्र भैरवको मूर्ति राखिएको छ। शालिकको पछाडि गोरखा दरबार, गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरको प्रतिविम्ब रहेको छ।

शालिकको दायाँ दक्षिणतर्फ नेपालको नक्सामा हिमाल, पहाड र तराई प्रतिनिधित्व गर्ने गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको महत्वपूर्ण नाका, सडक, नदी, शहर र सैनिक किल्लाहरु समेत प्रतिनिधित्व हुने गरी निर्माण गरिएको छ।

नेपाली सेनाले हालै शुरु गरेको नदीमा आधारित कमाण्ड क्षेत्र पूर्व, मध्य, पश्चिम र उपत्यका छुटिने गरी राखिएको छ। नक्साको उत्तरतर्फ नेपाली सेनाको नयाँ झण्डा, विचमा पश्चिम कमाण्डको झण्डा र नम्बर ४ बाहिनीको झण्डासहित भैरवप्रसाद गणको झण्डासमेत प्रतिनिधित्व हुने गरी तयार गरिएको छ।

शालिकको बायाँतर्फ फूलहरुद्वारा नेपालको राष्ट्रिय झण्डाको प्रतिक तयार गरी फूलको बगैँचासहित सदैव रहने गरी एकता बाटिका निर्माण गरिएको भैरवप्रसाद गणका गणपति एवं प्रमुख सेनानी नकुल थापाले जानकारी दिए।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसहित एकता बाटिका उद्घाटन कार्यक्रममा श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, बाँकेका एसपी श्यामकृष्ण अधिकारी, अनुसन्धानका उपनिर्देशक नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो।

साउन १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्