राजनीतिमा तेस्राे पुस्ता

एमसीसी र नेतृत्वले दिएको चोट खेपिरहेका निर्ग!

निर्ग जैसी

काठमाडाैँ – २७ जेठ २०७७, चर्को घामले तातेको थियो माइतीघर। चर्का नारा गुञ्जिरहेका थिए, एक कुनामा। दिउँसो एक बजिसकेको थियो। मानिसहरु जम्मा हुँदै थिए।

दीपा प्रायः हरेक आन्दोलनमा दाइसँगै हुन्छिन्। त्यस दिन पनि निर्ग जैसी बहिनी दीपासँगै माइतीघर पुगे। योजना थियो– सदा झै एमसीसीविरुद्धको आन्दोलनमा सहभागी हुने।

एमसीसीविरुद्धका चर्का नारा सुरु भए। निर्ग आन्दोलनको अगुवामध्ये एक भएकाले अग्रपंक्ति हुन्थे। अरुसँगै अग्रपंक्तिमा रहेर दाजु–बहिनीले नारा लगाए।

उनीहरुले माइतीघरमा प्रहरीले तोकेको क्षेत्रमा नाराबाजी गरिरहेका थिए। तर त्यस दिन उनीहरुको योजना प्रहरीको घेरा तोडेर सिंहदरबारसम्म पुग्ने थियो।

करिब ९० जनाको टोली नाराबाजीसहित सिंहदरबारको दक्षिण गेटतिर अघि बढ्यो। प्रहरीसँग धकेलाधकेल गर्दै उनीहरु केही पर रहेको नेपाली सेनाको क्याब्लरीको गेटसम्म पुगे। त्यहाँ उनीहरुले प्रहरीकी घेरा तोडेर अगाडि बढे। तर प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई धकेल्दै फेरि पहिलेकै ठाउँ माइतीघर ल्याइ पुर्‍यायो, जहाँ उनीहरुले सुरुमा आन्दोलन गरेका थिए।

माइतीघरको आन्दाेलनमा घाइते निर्ग जैसी

उनीहरु उग्र भए। आन्दोलन दबाउन प्रहरीले ल्याएको वाटर क्यानको गाडीमा चढे। त्यसपछि प्रहरीले लाठी चार्ज सुरु गर्‍यो।

पानीको फोहोरासँगै प्रहरीको लाठी चार्जले प्रदर्शनकारी तितरबितर हुन थाले। प्रहरीले भटेजतिलाई घेरा हाल्दै लाठी बर्साइरहेको थियो। एउटा घेरामा निर्ग  जैसी पनि परे।

२०७७ साल वैशाख २८ गते संसद भवन अगाडिको प्रदर्शनमा निर्ग जैसी

२०७७ साल वैशाख २८ गते संसद भवनमा सांसदहरु बैठकको तरखरमा थिए। भवनको पश्चिमतर्फको गेट बाहिर युवाहरुको समूहले नारा लगाउन सुरु गरे। उनीहरु संसद भवनको गेटतर्फ अगाडी बढे। प्रहरीले रोक्ने प्रयास गर्‍यो तर सकेन।

‘हाम्रो जमिन फिर्ता ले’ भन्दै उनीहरु गेट खोल्न पुगे। भारतले नेपाली भूमि लिपुलेक–कालापानीमा बाटो बनाइरहेको थियो। संसदलाई झक्झकाउन उनीहरु गेट खोलेर संसद भवनमा पुग्ने योजना थियो। विरोधमा निर्ग जैसी पनि सहभागी थिए।

२०७७ साल वैशाख २८ गते संसद भवनमा गरिएको प्रदर्शन

गेटमा पुगेका उनीहरुलाई प्रहरीले भ्यानमा हालेर लग्यो र बेलुका कागजमा हस्ताक्षर गराएर छोड्यो।

प्रहरीले त्यत्तिकै छोडेन, निर्गको पिछा गर्न थाल्यो। त्यसपछिका हरेक दिन उनले आफूलाई कसैले पिछा गरिरहेको अनुभव गर्न थाले। उनले आफू बस्ने पुतलीसडकको कोठा वरिपरि पनि प्रहरीको सीआईडीले रेकी गरिरहेको सुइको पाएका थिए।

उनी माइतीघरको आक्रमण पनि त्यसैको परिणाम मान्छन्। बानेश्वरको आन्दोलनबाट रेकी गरिरहेको प्रहरीले टार्गेट नै गरेर आक्रमण गरेको उनको अनुमान छ।

त्यसदिन माइतिघरमा आफू प्रहरीको घेरमा परेको उनले थाहै पाएनन्। सिंहदरबारको कुनाबाट धकेल्दै ल्याएको प्रहरीले माइतीघरको अर्को कुनामा पुग्ने बेलासम्म घेरा हालिसकेको थियो। उनलाई १२ जना प्रहरीले घेरा हालेर तीन मिनेटसम्म कुटे।

२०७७ जेठ २७ गते माइतिघरको आन्दाेलनमा घाइते निर्ग जैसी

प्रहरीको लठ्ठी दुई पटक लागेको उनले थाहा पाए। तेस्रो पटकको प्रहारमा उनी बेहोस भए। ‘पहिलो पटकको प्रहारमा मलाई रिङ्गटा लाग्यो। दोस्रो पटकको प्रहारमा मेरो आँखा धिरमिरायो। छामछुम गरेर भाग्दै थिएँ तर तेस्रो पटकको प्रहार टाउकोमा लागेछ बेहोस भएछु,’ उनले भने।

बेहोस भएका दाइमाथि प्रहरीको लाठी बर्सिरहेकै थियो। दीपाले देखिन्। नकुट्न आग्रह गर्दै उनले प्रहरीको लठ्ठी छेक्न आफ्नो ढाड थापिन्। दुई–चार लठ्ठी उनको ढाडमा पनि पर्‍यो।

२०७७ जेठ २७, माइतीघरमा भएको प्रदर्शनबाट निर्ग जैसीकी बहिनी दीपा जैसीलाई पक्राउ गर्दै प्रहरी

प्रहरीले नै उठाएर गाडीमा हालेर वीर अस्पताल छेउको ट्रमा सेन्टरतिर लियो। दीपालाई प्रहरीले भ्यानमा हालेर भृकुटीमण्डपको पुलिस क्लबमा पुर्‍यायो।

उता निर्गलाई ट्रमा सेन्टरमा लगेर छोडिदियो। हस्पिटलले आफन्त खोज्यो। आफन्त नभएसम्म उपचार नगर्ने बतायो। बहिनी प्रहरीको नियन्त्रणमा थिइन्। तत्काल कोही पुग्नसक्ने अवस्था थिएन। पत्रकार सागर चन्द र सौरभ कार्कीले मेरो आफन्त हो भनेर भित्र पुर्‍याए।

उपचार सुरु भएको करिब ६ घण्टापछि ११ बजेतिर उनको होस् आयो। हस्पिटलमा प्रहरी घुमिरहेकै थिए। ‘एक्सरे’, ‘एमआरआई’, ‘सीटी स्क्यान’ गर्न यताउता जाँदा वरिपरी उनी प्रहरी देख्थे। प्रहरीको निगरानीमै उनको उपचार भयो। भोलिपल्ट उनी उपचारका लागि अन्नपूर्ण न्युरो गए।

उनको दुई दिन त्यहाँ उपचार भयो। यता आन्दोलन चलिरहेकै थियो। निर्गलाई उपचारभन्दा आन्दोलनको चिन्ता थियो। घाइते भएको चौथो दिनमा उनी अन्नपूर्ण अस्पतालबाट डिस्चार्ज भए। आराम गर्न घर नपुगी उनी वैशाखी टेक्दै सिधै माइतीघर सोझिए आन्दोलनमा मिसिन।

निर्ग अझै पनि माइतीघरमा हुने आन्दोलनमा टुपलुक्क पुगिहाल्छन्। एक हातले वैशाखी टेक्दै आन्दोलनमा नारा लगाउँछन् ‘एमसीसी खारेज गर।’

पुतली सडकको कोठाबाट माइतीघर पुग्न टाढा त छैन तर उनलाई साहराको आवश्यक पर्छ। कहिले साथीहरुको मोटरसाइकलमा बसेर त कहिले साथीको हात समातेर नारा लगाउन माइतीघर पुग्छन्।

वैशाखीको साहरामा हिँड्नु पर्छ। बाटोमा ढले उठाउने साथीको साहरामा चाहिन्छ। त्यसैले बाहिर निस्कदैनन्। निस्कनु परे साथीको साहरामा निस्कन्छन्।

डाक्टरले राजनीतिक तनाव धेरै भयो भनेका छन्। सिजरको समस्या देखिन थालेको बताएको छ। डाक्टरले भीडभाडमा नजानु भनेका छन्। मन के मान्थ्यो साथीहरु लिन आउँछन्, उनी कुदिहाल्छन्। गफ एमसीसीकै बारेमा हुन्छन्। साथीहरु एमसीसी पास हुन थाल्यो त भनेर जिस्काउँछन्। नाम नै ‘एमसीसी’ राखिदिएका छन्।

उपचारमा करिब तीन लाख खर्च भैसक्यो। साथीहरुले जोडजाम गरेर केही पैसा सहयोग गरे। केही रकम दाइले सहयोग गरे। पार्टीले कुनै वास्ता गरेको छैन।

खाटको छेउमै हुन्छ वैशाखी। खाटमा बसेर एमसीसीका बारेमा लेखिएका समाचार पढिरहन्छन्। मनमा लागेको कुरा फेसबुकमा लेख्छन्। भात खान मन लाग्दैन। फलफूलको साहरामा दिन बितिरहेका छन्।

दुबै चोट नदेखिने छन्। चोट गहिरा छन् र बेलामा बेलामा झस्काउँछन्। माइतीघरमा प्रहरीले हानेको भाँटाको भन्दा नेतृत्वले दिएको धोकाको चोट गहिरो छ निर्ग जैसीको।

२०७५ साल माघ १४-१९ गते डबल नेकपाको केन्द्रीय समितिको बैठकमा एमसीसीबारेमा बहस भएको थियो। बैठकमा देव गुरुङ, लीलामणि पौडेल, भीम रावल र झलनाथ खनालले फरक मत राख्दै एमसीसी खारेज गर्नुपर्ने बताए।

निर्ग भोलिपल्ट आन्दोलनको नेतृत्व म गर्छु सहयोग गर्नुस् भन्न लिलामणि पौडेलको घरमा पुगे। पौडेलले ‘मैले बोल्ने ठाउँमा बोलेँ तर सडक आन्दोलनमा गएर भाषण गर्दैन’ भनिदिए। उनी अरु नेताकोमा पनि गए कसैले यो विषयमा बोल्न चाहेनन्।

उनी भन्छन्, ‘सबै प्रचण्डको पछि लागे। प्रचण्डले हरेक ठाउँमा भनेका छन्, संशोधनसहित पास गर्नुपर्छ। पहिलेदेखि नै उनको मनसाय एमसीसी पास गर्ने थियो। उनलाई लाग्छ– हाम्रा लागि मात्र अमेरिकाले एमसीसी संशोधन गर्दैन। गर्छ भने संसदमा पेस भएको विधेयक फिर्ता गरेर संशोधन गर अनि पास गर्छु भनेर सरकारले भन्न सक्नुपर्छ।’

प्रचण्डले शक्ति सन्तुलनका लागि यसको समर्थन गरेको उनको बुझाइ छ। ‘केपी ओलीले पास गर्नुपर्छ भनेर सिधै भन्नु भयो। तर प्रचण्डले ढुलमुल गरे। एमसीसी हाम्रो हितमा छैन पनि भन्छन्। संसोधन गर्नुपर्छ पनि भन्छन्। उनले एक बैठकमा एमसीसीको विषय धेरै नउछाल्नुस् भनिसकेका छन्।

प्रचण्डले एमसीसी पास गर्ने भने चुपचाप र खारेज गर्ने भने सडकमा नारा जुलुस गर्ने हाम्रा साथीहरुको प्रवृति देखियो,’ जैसीले आक्रोश पोखे।

विरोधमा साथदिन कोही आएका छैनन्। उनलाई एक्लो महसुस भइरहेको छ।

प्रचण्ड उनका रोल मोडल थिए। जसको अनुहार देख्दा उनको मन तरंगित हुन्थ्यो। जसको प्रशिक्षणका कारण उनमा उर्जा आउँथ्यो। जसको भाषण केहि दिन सुन्न नपाउँदा निन्द्रा लाग्दैनथ्यो। ती प्रचण्डले आज ‘राष्ट्रघाती’ काम गरेको उनको आरोप छ।

माइतीघरमा प्रहरीले हानेको लाठीको चोट त टाउकोमा छ। तर पार्टीले र प्रचण्डले उनको अहिलेसम्मको आस्थामाथि प्रहार गरिरहेका छन्। उनले राजनीति गर्न राजेको पार्टी यस्तो थिएन।

२०५८ सालमा निर्ग  कक्षा तीनमा पढ्थे। बाजुराको काभ्रितोलामा बोर्डिङ स्कुल खुलिसकेका थिए। गाउँका केही साथी बोर्डिङ स्कुल पढ्थे। सरकारी स्कुल पढ्ने निर्ग आधा बाटोसम्म उनीहरुसँगै हुन्थे। उनलाई लाग्थ्यो– टाइ सुट लगाएर पढ्न जान पाए? बुवा भारतमा चौकीदार। अहिले पनि उतै छन्। आमा कांग्रेसको राजनीतिमा।

माओवादी विद्रोह चर्किसकेको थियो। आफ्नो आधार इलाकामा भएका बोर्डिङ स्कुल माओवादीले बन्द गर्ने अभियान चलायो। माओवादीको एउटा नारा थियो शिक्षामा समानता। त्यो बोर्डिङ स्कुल माओवादीले आगो लगाइदिए।

उनले पछि थाहा पाए यो काम माओवादीले गरेका रहेछन्। दुई खालको शिक्षा हुनुहुँदैन त्यसकारण आफूहरुले आगो लगाएको त्यतिबेला अखिल क्रान्तिकारीका एक नेताले भनेको सुने। त्यतिबेलाको सानो दिमागले त्यो कुरा समात्यो। र उनले विद्यार्थी राजनीतिमा हेमिने अठोट लिए। पछि कैलालीमा कक्षा ९ मा पढ्दा उनी माओवादीमा संगठित भए।

त्रिचन्द्रमा उपाध्यक्ष भइसकेका उनी अखिलको केन्द्रीय सदस्य भए। उनी अहिले राजीनामा दिएर हिँडिसकेका छन्। उनी ‘यस्तो राष्ट्रघाती पार्टीमा लाग्दैन’ भन्दै तालाचावी बुझाएर हिँडेका छन्।

भन्छन्, ‘वैशाखी टेकेर भएपनि एक्लै लड्छु।’

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

साउन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्