बादल लाग्यो घामको राप कता कता
बल्झि रह्यो मन भित्र ताप कता कता।।

स्याल गाउँको द्वारे चाउरियो किन आज
खुइलियो क्यारे बनाएको छाप कता कता।।

एक्लै जाउँ डर लाग्छ साथी लैजाउँ घाती
चिल्ने होकि मिल्ने होकी चाप कता कता।।

पहिले पहिेले धार थियो टल्काउँदै हिँड्यो
खुँडे हतियार लुकाउँ भने दाप कता कता।।

दिन दशाले चित पार्छ मौसम खराब हुँदा
जता टेक्यो डुबाइ दिन्छ धाप कता कता।।

बलेको आगो ताप्न जान्छन् बाठा टाठाहरु
आफन्त समेत कसि हिँडे टाप कता कता।।

आफूलाई अग्ला ठान्छन् अरु सबै होचा
अग्लो भनि कराउनेको नाप कता कता।।

चौटा खान दौडिएका झोलमा डुबे कति
अफापै अफाप जताततै फाप कता कता।।

कति कुटे कति लुटे सक्ने बलिया सबले
कराउँछ भन्थे धुरीबाट पाप कता कता।।

साउन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्