मुलुकमा अन्तर्राष्ट्रिय बिचौलियाहरु

नेपालले यतिका धेरै परिवर्तन भोगे पनि शासकीय पद्धति सुधार उन्मुख देखिँदैन। पार्टीहरुको नेतृत्व र पार्टीहरु सुधार्ने अवस्थामा लैजान नेतृत्व गर्ने पार्टीका पहिलो र दोस्रो पुस्ता देखिँदैनन्। यिनै प्रश्नहरुमाथि घोत्लिँदा दुई सभ्यताबीच रहेको यो सानो मुलुकमा राजनीतिक अस्थीरता निरन्तर रहिरहनुको एक मुख्य कारण अन्तर्राष्ट्रिय बिचौलियाहरु अनि उनकै उद्देश्य र नारा बोक्ने रास्ट्रिय फण्डितहरुको राज्यका सबै जसो अवयवहरुमा नाटक र नौटंकी, खेलकुद, उचाल र पटाख देखिन्छ। यिनै आधारभूत आधारहरु लिएर अन्तर्राष्ट्रिय बिचौलिया र यस मुलुकमा सामाजिक विखन्डन गराउन भूमिका निर्वाह गर्ने बिभिन्न संस्थामा जोडिए रहेका फण्डितहरुबारे चर्चा, विश्लेषण गर्दै सत्य र तथ्यमा रहेर लेखिएको यो सानो लेख हो।

यसमा सामान्यतया: पद्धति, संरचना, वर्गीकरण, संयत्र अनि प्रवृति र चरित्र उतारिएको छ। यसमा जोडिएका व्यक्तिहरु नै तोक्न नसक्ने अबस्था नरहेको होइन। संस्थाहरु र व्यक्तिहरु हिजो नेपालमा संघीयता ल्याउन ठुलो भूमिका खेल्थे। आज पनि नेपालीलाई उनै संबिधान र प्रजातन्त्र अनि उदारवादको दुहाइ दिँदै नेपाल र नेपालीको नाम बेचेर अस्थीरता सिर्जना गरिरहेको अध्ययनले देखाउँछ। मूलत: फन्डका लागि कार्य गर्ने, मुलुकलाई अस्थीरतातिर लैजान हिजोका दिनदेखि नै अन्तर्राष्ट्रिय बिचौलियाको भरिया भएर पैसादेखि अनेकौँ स्वार्थमा यो मुलुक बिखन्डन गर्न काम गरिरहेका अध्ययनबाट देखिन्छ।

आधारभूत आधार तर्फ: 

विश्वव्यापी अर्थव्यवस्थाको रूपरेखा निरन्तर रूपान्तरण हुँदै गएको छ। प्राविधिक वातावरण र डिजिटल दुनियाँले जित्दै गएको छ। पश्चिमा अमेरिका, युरोपका मुलुकहरू आर्थिक बहावको मूल बहाव एसियामा पुन फर्किन्छ कि भनेर अनेक जालझेल र तानाबाना क्रियाकलापहरू गरिरहेको देखिन्छ। जस्तै: चीनलाई घेर्ने, भारत – चीन विबादमा खेल्ने, बिथ्रीडब्लु, इन्डो पेसिफिक, साउथ चाइना सीका विवादहरु आदि। अर्थात्  ध्रुबीय लडाइँ आर्थिक क्षेत्रमै देखिन्छ भने प्रभुत्वको लडाइँ सफ्ट पावरको (धर्म, संस्कार, जातजाति र वातावरण आदिभित्र खेल्ने) व्यापक प्रयोग भइरहेको छ। हालका दशकहरूमा, यी राज्य-बहुल अन्तर्राष्ट्रिय सङ्गठनहरू गभरनान्सका साथ पूरक भएका छन्। यसमा सार्वजनिक रूपमा निजी बिचौलियाहरु सम्मिलित छन्, सँगै पूर्ण रूपमा एक निजी आधारमा व्यवस्थित भएको देखिन्छन्। यो सबै आउनुको कारण वैश्विक गभरनान्स बैधानिकीकरणको बाटोमा आएकाले हो।

ट्रान्सनेसनल : यो भनेको आज “अन्तर्राष्ट्रिय सम्बन्धमा” प्रायः उल्लेख गरिने कुञ्जी शब्द हो। यसलाई सामान्य भाषामा राज्यको सीमा बाहिर स्थापित परम्परागत राज्य संरचनाहरुबाट स्वतन्त्र रूपमा कार्य गर्ने बेग्लै संस्था हो भन्ने बुझ्नु पर्दछ। ‘ट्रान्सनेसनल एक्टर्स- (अन्तर्राष्ट्रिय विचौलिया) राज्यका संरचना बाहिर- संस्थामा पैसोको लागि राज्यमा यो भूमण्डलीकरण अबस्थामा, आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक प्रक्रियाहरूको नीति, लबिङ, बार्गेनिङ, आन्दोलन आदि जस्ता बिषयहरुमा राम्रा / नराम्रा उनका फाइदा अनुसारका कार्यहरु गर्दछन्।

यिनीहरुको कार्य राज्यका पक्षमा र विपक्षमा, देशविरुद्ध साथै आतंककारी संगठनहरुसँग जोडिएको पनि पाइएको छ। अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरुको वर्गीकरण गर्दा: अन्तर्राष्ट्रिय स्तरीय, राष्ट्रिय स्तरीय, क्षेत्रीय स्तरीय, जिल्ला स्तरीय र स्थानीय स्तरीय संस्था साथै अनुहारहरू सफ्ट पावर भित्रका विभिन्न मुद्दाहरु लिएर खेलिरहेका हुन्छन्। यिनीहरूको कार्य गर्ने क्षेत्रमा प्रजातन्त्र, स्वतन्त्रता, पर्यावरण र वातावरण, महिला सशक्तिकरण, मानव अधिकार, लैङ्गिक असमानता, समानता, छुवाछुत र जातजाति आदि बिषयहरु हुन्छन्। मूलत: सफ्ट पावरका विषयहरूमा कमजोर राज्यको पक्ष लिएर घोच्न सकियोस् अनि बिकासका अबधारणाहरु जोड्न सकियोस् भन्ने अबधारणा हुन्छ तर ख्याल गर्नु पर्ने बिषय भने समस्याको समाधान हुँदैन। राज्यका सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण भित्रका कमजोर पक्षको बोली बोल्दा राज्यले कानुनी कारबाही गर्न नसकोस् अनि आफ्नो स्वार्थ अनुकूल पैसो कमाउन सकियोस् भन्नेमै लागिरहेको देखिन्छ। हामीले अध्ययन गर्दा अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुमा यसको प्रयोग ब्यापक देखिन्छ भने हाम्रो मुलुक पनि अछुतो छैन।

पहिलो, अन्तर्राष्ट्रिय बिचौलियाहरुले ल्याएका विषयहरूमा अवधारणात्मक अस्पष्टता र सम्बन्धित अनिश्चितताका प्रश्नहरू रहेका हुन्छन्। यी तुरुन्तै समाधान गर्न सकिँदैन जस्तै: छुवाछुतको प्रश्न, जातजातिको प्रश्न, बालविवाहको प्रश्न, नस्ल र जातको प्रश्न, पहिचानको प्रश्न र धर्म निरपेक्षता आदि जस्ता प्रश्नहरू। यस्ता बिषयहरु नीतिमा रहेर उठाइएको धेरै कम पाइन्छ। जस्तै : रुकुममा भएको जस्तो नरसंहार भोलि आउँदा दिनमा कसरी रोक्नेतर्फ अध्ययन, अनुसन्धान गरेर लैजान दलित आयोग र स्थानीय सरकारलाई दवाब दिनेतर्फ सोच देखिँदैन।

यहाँ विश्वकै विज्ञहरुले प्रयोग गरेको शब्द ट्रान्सनेसनल एक्टर्स/ अन्तर्राष्ट्रिय बिचौलिया प्रयोग गरेको छ भने, उनीहरूको उद्देश्यहरू: ब्यापार, बिचौलियापन, आन्दोलनका नाराहरू, दृष्टि, सोच र कार्यक्रम आदिमा नेपाल भित्र काम गर्नेहरूलाई फण्डित शब्द प्रयोग भएको छ। अर्थात्: पण्डित- सम्बन्धित क्षेत्रको/ विषयको गहिरो ज्ञान भएको व्यक्तिलाई भनिन्छ भने ; फण्डित भनेको राष्ट्रियसाथै अन्तर्राष्ट्रिय बिचौलिया/अभिनेताहरूको-कुनै स्वार्थ समूहको पैसा (फन्ड) पचाउन विद्धान देखिइने मान्छेलाई प्रयोग गरिएको छ। यहाँ फण्डितहरुले विषयबस्तुहरू उठाउँदा प्रजातान्त्रिक कानुनी अधिकार भनेर ल्याउँछन्। अर्थात्, यो लोकतन्त्रको विकासक्रम वा लोकतान्त्रीकरण पद्धतिको अझै व्याख्या भनेर परापूर्वकालदेखि स्थापित प्रजातन्त्रका मूल्य, मान्यता, लाज, शरम, घिन र नैतिकता मिचेर, स्वतन्त्रताको नाममा विखण्डनकारी भूमिका निर्वाह गर्दै आफ्नो स्वार्थ सिद्ध गरेको देखिन्छ। यो पूर्णतः बनियाँबाद अर्थात् बजार केन्द्रित अर्थ राजनीतिको एक अंश देखिन्छ। जुन जोडिएर; नव उदारवादी संरचनाको उद्देश्य अनुकूल, आफू, आफ्नो अनुकूल शक्तिको पुनर्स्थापना र एकीकृत पुँजी सङ्कलनमै गएर टुङ्गिन्छ। अझै यसलाई प्रस्ट पार्ने प्रयत्न तल गरिएको छ।

हाम्रो मुलुकमा फण्डितहरु पाल्नेमा अमेरिका, युरोपियन युनियनमा रहेका धनी मुलुकहरूका संस्थाहरू हाम्रो मुलुकमा देखिन्छन् जो सफ्टपावरमा आन्दोलन, सशक्तीकरण, सुशासन, लोकतन्त्र र मानव अधिकारका नाममा खेलिरहेका छन्। मिडिया/ नेटवर्क प्रजातन्त्रमा खेलिरहेको हेर्दा नेपालका प्राध्यापक, पत्रकारहरू, नागरिक समाज , अधिकार कर्मी, अभियन्ता, नेताहरू र बुद्धिजीवी आदि सबै जसो भेटिन्छन्।

शक्तिको विषय:

यहाँ अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरुले ऊर्जा, शक्ति र पैसा कहाँबाट प्राप्त गर्छन् भन्ने विषय केलाउँदा प्रोफेसर न्यान्सी फ्रेजर (२०१९) का शब्दहरू केलाउनु पर्दछ:

अमेरिकी राजनीतिमा प्रभुत्व जमाएको पहिलो; प्रगतिशील नवउदारवादको प्रभुत्ववादी एक ब्लक छ। यो ब्लक स्वार्थ अनुकूल राजनीतिक र सामाजिक रूपान्तरण गराउन / गर्न खप्पिस छ। यसले नयाँ सामाजिक आन्दोलनको मुख्य धारको उदारवादी धार जसमा: नारीवाद, नस्लवाद, बहु सांस्कृतिक, पर्यावरणवाद, एलजीबीटिक्यु (समलैंगिक, गे, उभयलिंगी व्यक्ति, हिजडा, क्विर– अप्राकृतिक पुरुष) र मानव अधिकारबारे विषयहरू ल्याउँछ र फैलाउने कार्यहरू गराउँदछ।

दोस्रो; अर्कोतर्फ सबैभन्दा गतिशील, कुलीन, प्रतीकात्मक र अमेरिकी अर्थव्यवस्थाको वित्तीय क्षेत्रहरू ओगटेर बसेको: वाल स्ट्रिट, सिलिकन भ्याली, र हलिवुड छ। यी पहिलो र दोस्रोबीच विरोधाभास भए पनि एकै ओछ्यानका सहयात्री हुन्। एकै ओछ्यानका अनौठो जोडीको आयोजित “वितरण र मान्यताको” बारेमा विचारहरूको एक विशिष्ट संयोजनले अमेरिका र पश्चिमा प्रजातन्त्र चलाइरहेको देखिन्छ। यहाँ वितरण र मान्यताको मिश्रण बनाउने कार्य नवउदारवादले गर्दछ। यही “विशिष्ट संयोजन”मा अमेरिका देखि संयुक्त राष्ट्र सङ्घका विभागहरू, डब्लुटिओ, विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष आदिका क्रियाकलापहरू चलायमान छन्। यहाँ स्मरणीय विषय नव उदारवादी संरचनाले हाम्रो राजनीतिक कल्पना लोकमा नकचरोको घुसपैठ गरेको छ। यसैको कारणहरूले हिंसा बढेको छ, असमानता एक सद्गुण बनेको छ। पर्यावरणलाई चौपट पारेको छ। नवउदारीकरण वास्तवमा संस्थागत सुधार र विवादास्पद समायोजनको विशाल ज्वार लहर जस्तै विश्वभर बगिरहेको छ। नव उदारवादी प्रणालीको निर्माणले पहिलेको संस्थागत रूपरेखा र शक्तिको मात्र होइन (राजनीतिक-आर्थिक मामिलामा पहिलेको राज्यको सार्वभौमिकता जस्तो गरी) श्रम र सामाजिक विभाजनमा पनि ठूलो क्षति पुर्‍याएको छ ( हार्बे, २००७) । यसले सञ्चयको अन्तहीन प्रवृत्ति र वृद्धि र विकासलाई छद्म रूपमा बढाइँचढाइँ गरेको छ (सिमोन स्प्रिगर, २०१९ )।

यही विषयहरूलाई अन्तर्राष्ट्रिय बिचौलियाहरू पनि सहज रूपले उद्देश्यहरू बनाउँछन्। जसको प्रतिफल अस्थिरता र सामाजिक विखण्डन हुन्छ भने राज्य स्खलित गर्न भूमिका खेल्दछन्। उनीहरूको चाहना जातजाति समेट्ने पुरै शासकीय व्यवस्था राज्यको समेट्ने, दरिलो पार्ने, एकीकृत हिँडाउने तर्फ नभई सानो मुद्दाहरुभित्र छिरेर सुशासन, सशक्तीकरण, प्रजातन्त्र, मानवअधिकार जस्ता भेट्नो नभएका विषयहरू उठाएर पैसो कमाउँछन्। सम्हाल्ने विषयबस्तुहरू उनीहरूसँग हुँदैन। त्यही माथि उल्लेखित विषयहरूका उद्देश्यहरू पैसोमा बोक्ने भरियाहरू; नेपालमा फण्डितहरु कहलिन्छन्।

अन्तर्राष्ट्रिय नायक / बिचौलिया/ खलनायक (ट्रान्सनेसनल एक्टर्स) के हो त ?

भूमण्डलीकरणको विकास क्रम सँगसँगै ननस्टेट अभिनेताहरू वा अन्तर्राष्ट्रिय बिचौलियाहरू जन्मिए। ट्रान्सनेसनल शब्दले अन्तर्राष्ट्रिय ( इन्टरनेशनल ) भन्ने मात्रै जनाउँदैन, यो खुल्ला शब्द हो जसले ‘राज्य बाहिर रहेको शक्ति’ जनाउँछ भनेर रिक्टर र साथीहरू (२००६) लेख्छन्। यो शक्ति राज्यबाहिर रहेर राजनीतिक समन्वय, आदान प्रदान (सञ्चार) र राष्ट्रिय सीमाहरू पार गरेर नियमन पनि गर्दछ। जस्तै: गैर सरकारी संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरू, कर्पोरेट मिडियाहरू, क्लब, नागरिक समाज, नागरिक आन्दोलन आदि आउँछन्।

यहाँ “राज्य बाहिरको शक्ति“ भन्नाले सुरुका दिनहरूमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू मात्रै बुझिन्थ्यो। हाल आएर यसको क्षेत्र र सङ्गठनहरूमा व्यापक बिस्तार हुन गएको छ। यो शक्ति सरकारको केन्द्रीय विदेश नीति हेर्ने विभागहरूले नियन्त्रण गर्न सक्दैनन्। यसमा नेटवर्क डेमोक्रेसी रहेको हुन्छ। यो राज्य बाहिरको शक्ति: सम्पर्क, गठबन्धन र राज्य सीमा नाका पारस्परिक अन्तर्क्रियालाई प्रतिनिधित्व गर्ने काम गर्छन्। विश्व राजनीतिले राज्यकेन्द्रित दृष्टान्तका हिसाबले यो शक्तिलाई ध्यानमा राखेको हुँदैन। अन्तर्राष्ट्रिय नायक/बिचौलिया दुई प्रकारका देखिन्छन्: १. मुख्यतया आर्थिक नाफा, नोकरी र आम्दानीको लागि काम गर्छन्। २. अर्को ज्ञान र विचार, धर्म फैलाउने काम गर्छन्। यी दुबैमा तात्त्विक भिन्नता छैन। नेपालमा यी दुवै प्रकारका भेटिन्छन् जुन, समाज कल्याण परिषदमा दर्ता भएका र नभएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू पर्दछन्। यिनीहरू सरकारलाई सार्वजनिकरुपमा दबाब सिर्जना गर्दछन्। जस्तै: अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्सका एजेन्डाहरू नेपाल च्याम्बर अफ कमर्सले बोकेर दबाब दिइरहेका हुन्छन्। अर्को उदाहरण, युएन वोमेनका (अन्तर्राष्ट्रिय स्तर) विषयहरू एजेन्डाहरू राष्ट्रिय महिला आयोग, नेपाल बोकिरहेको देखिन्छ। हाम्रो महिला आयोग, सिविन, साथी, सम्बोधन आदि जस्ता स्थानीय नेपालका गैरसरकारी संस्थाका एजेन्डा पनि बोकिरहेको देखिन्छ। हाम्रा धेरै मन्त्रालयमा भएका प्रोजेक्टहरू यसरी ट्रान्सनेसनल एक्टरहरुका उद्देश्यहरू बोकेर हिँडिरहेको देखिन्छ। अर्को विषय, यी नायक/बिचौलिया आदिका उद्देश्यहरूमा हेर्दा ठूलो शब्द राखिएका देखिन्छन् तर काम विविधता समेट्नेतिर होइन; विखण्डन गराउनेतर्फ केन्द्रित भएको देखिन्छ। जस्तै: समानता, लैङ्गिक समानता जस्ता शब्द राखिएका हुन्छन् तर कार्य चलिरहेको समाज भड्काउने तर्फ क्रियाकलापहरूतिर कार्यान्वयन गरेको देखिन्छ। यी फण्डितहरुको उदेश्यमा समाजमा पछाडि रहेका, छुवाछुतमा परेका जातजातिलाई उचाल्नतिर देखिन्छ तर आर्थिक अवस्था लगायत सुधार गर्नतर्फ यिनीहरुका काम कारबाही र गतिबिधि देखिँदैन।

यसरी, सन् १९४५ मा संयुक्त राष्ट्र सङ्घ स्थापना भएबाट आर्थिक र सामाजिक काउन्सिलसँगै गैरसरकारी संस्था शब्दको जन्म हुन पुग्यो। जो, सरकारी नियन्त्रण भन्दा बाहिर र मुनाफा रहितको उद्देश्यमा आए।

विश्वभरि, सामाजिक आन्दोलनहरू वैध, अझै प्रतिस्पर्धात्मक, स्थानीय, क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा विश्वव्यापी राजनीतिमा नागरिक समाजका अभियन्ता/अभिनेता भएका छन्। हामी अझै पनि उनीहरूको लामो इतिहास र उनीहरूको विकासको पथ प्रबन्धको बारेमा थोरै मात्र जान्दछौँ। हामी उनीहरूको आर्थिक आम्दानीबारे थोरै मात्रै ज्ञान राख्दछौँ। आधुनिक कालमा सामाजिक आन्दोलन र नेतृत्व गर्नेहरूको ऐतिहासिक भूगोल केलाएर ल्याउँदा सन् १७५० देखि तानिएर आउँछ।

संस्थाहरुबारे नेपालमा हेर्दा: सामाजिक कार्यहरू पहाडतिर हेर्दा ढिकुरा र पर्म; उपत्यकामा गुठीको विकास पुरानो देखिन्छ। संस्थाको अवधारणाको सुरुवात तुलसीमेहर श्रेष्ठको चर्खा अभियानबाट सुरु भएको देखिन्छ भने सन् १९२३ को चर्खा अभियान, महागुठी र सन् १९७९ को महिला आश्रम आदि देखिन्छन्। २०३४ सालमा सत्रवटा संस्था दर्ता भएका, २०४० सालमा असी वटा, २०४६ सालमा २ सय ४९ वटा यसरी बढ्दै एक्कासि २०४९ सालमा एक हजार २ सय ११ वटा पुग्दै हाल एकाउन्न हजार माथि संस्था समाज कल्याण परिषदमा देखिन्छन। समयानुकूल परिवर्तन हुँदै आउँदा संस्थाहरूको स्थापना तथा दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०३४ देखिन्छ। जसको उद्देश्य प्रस्तावनामै : “सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक, व्यावसायिक तथा परोपकारी संस्थाहरूको स्थापना तथा दर्ता गर्ने” लेखिएको पाइन्छ। अर्थात् , गैर सरकारी संस्थाहरू नेपालमा खोल्न र खेल्न दिनुको आधारभूत धरातल यही हो बुझिन्छ। अहिले आएर “सामाजिक संस्था ऐन, २०७५” को साथै नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७–०७८ सम्म समाज कल्याण परिषद्को बोर्डले बनाइसकिएको अवस्था छ। यसमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था भन्नाले अन्तर्राष्ट्रिय कानुन वा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम मान्यता प्राप्त अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सम्झनु पर्छ भनेर लेखिएको छ। नेपालमा हाल अध्ययन गर्दा यी संस्थाहरू राष्ट्रिय र स्थानीय गैर सरकारी संस्था र त्यसमा काम गर्ने फण्डितहरु प्रयोग गरी राम्रा र नराम्रा कामहरू गरिरहेको देखिन्छ। जस्तै: धर्म परिवर्तनको काम; महिला सशक्तीकरणको नाममा राँके जुलुस, नागरिक आन्दोलनको नाममा सामाजिक विखण्डन, धर्म, संस्कार र संस्कृति प्रति जनआस्था घटाउने, मानव अधिकारका नाममा अर्काको स्वतन्त्रता माथि धावा बोल्ने आदि गरिरहेको देखिन्छ। यी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थादेखि राष्ट्रिय, स्थानीय गैर सरकारी संस्था आदि अन्तर्राष्ट्रिय बिचौलिया/नायक/खलनायकको वर्गीकरण भित्रका एक सदस्यहरू पर्दछन्। यसलाई पनि विश्व र नेपालका राजनीतिक, सांस्कृतिक र आर्थिक विभिन्न मुद्दाहरूमा फाइदाको लागि खेल्ने समूहहरु सञ्चालन गर्दछन्। यहाँ महत्वपूर्ण बिषय लिँदा, संयुक्त राष्ट्र सङ्घले मिलिनियम विकास लक्ष गरेको बुँदा नं. ८ विकासको लागि वैश्विक साझेदारीको विकास सँगै यो साझेदारीका नाममा इलाइट्स वर्गले समातेर नाफा मुखी र नोकरी खाने साथै सामाजिक विखण्डन कार्यमा प्रयोग गरेको देखिन्छ। साझेदारीको अबधारणा खान राम्रो माध्यम बनेको देखिन्छ। नेपाली सन्दर्भमा अमुक पार्टीको झोला बोक्ने, पार्टीको बाहिरी खोल ओढेर स्वार्थ सिद्ध फण्डितहरुले गरेको देखिन्छ। त्यस्तै अन्य कार्यक्रम हेर्दा पौष्टिक आहारा – चाउचाउ उत्पादन गर्ने अर्को उदाहरण हो। पुरानाहरू हेर्दा: ककस, एनटिटिपी -१, जर्मनी पैसोमा ट्रेड युनियन सञ्चालन, होलिवाइन समारोह, विभिन्न एफएमलाई ओपन सोसाइटीको सहयोग, जातजाति, महिला उचाल्न सहयोग गरिरहेको विषय आदि जस्ता बिषयहरुमा कम्निस्ट र काङ्ग्रेसका मान्छेहरु सम्मिलित देखिन्छन्। हालैको उदाहरण हेर्दा नेपाल महिला आयोग नै गैर सरकारी संस्था संविधानमा उल्लेखित उसको कार्य क्षेत्र छोडेर गैर सरकार संस्थाका उद्देश्य र कार्यक्रम अनि नीति बनाउन, अध्ययन र अनुसन्धान छोडेर आन्दोलन उठाउन लागेको देखिन्छ (हेर्नुहोस् यसको ट्विटर खातामा राखिएका कार्यक्रम)। नेपालको सन्दर्भमा साझेदारीका नाममा धेरै सक्रिय भएर फण्डितहरु सन् २०१० अगाडिदेखि नै सकृय भएको देखिन्छ।

अध्ययन गर्दा नाफारहित, स्वयंसेवी भावना, स्वतन्त्र समाजका विभिन्न सरोकारहरूमा एकल र साझेदार संस्थाको रूपमा काम गर्ने उद्देश्यले गैर सरकारी संस्थाहरूको स्थापना भएको देखिन्छ। तर अहिले आएर नेपाली सन्दर्भमा यसको व्यापक दुरुपयोग भएको पनि देखिन्छ। यहाँ हाम्रा आफ्नै मौलिकता, मूल्य र मान्यतामा हुर्किएका संस्थाहरु हुर्काउने अबस्था नरहेको देखिन्छ।

वास्तविकतामा, अन्तरार्ष्ट्रिय बिचौलियाहरुको संयुक्त राज्यका सहायता एजेन्सीहरू, युरोपियन युनियन, युरोपमा सुरक्षा र सहयोगको सङ्गठन (ओएससीई) को निर्वाचन पर्यवेक्षकहरू आदि सहित विविध गहिरो मिश्रण देखिन्छ (ओरेनस्टिन, मिशेल र साथीहरू, २००८ )। यिनीहरूको मुख्य उद्देश्य राजनीतिक, आर्थिक र सांस्कृतिक परिवेशभित्र वैश्विक शासकीय ब्यबस्थाका तहगत क्षेत्रहरुमा खेल्दछन्। मध्य र पूर्वी युरोपमा कम्निस्टको पतनपछि रूपान्तरणमा व्यापक प्रभाव पारेका छन्। वास्तविक रसियाको पतनपछि कम्निस्ट नराम्ररी बिग्रिएका छन्। यसको राम्रो उदाहरण अहिले नेपालमा देखिएको छ।

यहाँ अन्तर्राष्ट्रिय बिचौलिया युरोपेली विदेश नीति विभिन्न ऐतिहासिक, वैश्विक र राजनीतिक सन्दर्भमा विकसित भएको देखिन्छ। शीतयुद्धको सन्दर्भमा हुर्काइएको र शीतयुद्ध पश्चात् विश्वमा हुर्किएको वातावरण र अवस्थाले अन्तर्राष्ट्रिय बिचौलियाको मलजल गर्न पुग्यो। संयुक्त राज्य अमेरिकाले पश्चिमी युरोपलाई आर्थिक र राजनीतिक रूपमा एकीकृत गर्न प्रोत्साहित गर्दै एक प्रभुत्ववादी भूमिका खेल्यो जहाँ नाटोको जन्म भएको भने फ्रान्सेली दबदबामा रहेको युरोपियन डिफेन्स कम्युनिटी (ईडीसी) सेलायो। अहिले भरखरै भएको जी -७ को बैठकबाट पास गरिएको बिथ्रीडब्लु आयोजनामा पनि अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरु चलायमान हुने उदेश्यहरु देखिन्छन्।

यसरी हाम्रो मुलुकमा फण्डितहरु पाल्नेमा अमेरिका, युरोपियन युनियनमा रहेका धनी मुलुकहरूका संस्थाहरू हाम्रो मुलुकमा देखिन्छन् जो सफ्टपावरमा आन्दोलन, सशक्तीकरण, सुशासन, लोकतन्त्र र मानव अधिकारका नाममा खेलिरहेका छन्। मिडिया/ नेटवर्क प्रजातन्त्रमा खेलिरहेको हेर्दा नेपालका प्राध्यापक, पत्रकारहरू, नागरिक समाज , अधिकार कर्मी, अभियन्ता, नेताहरू र बुद्धिजीवी आदि सबै जसो भेटिन्छन्।

राजनीतिको कुनै पनि पक्ष यिनीहरूबाट अछुतो छैन। यहाँ के देखियो भने राज्य र नागरिक समाजहरू र गैर सरकारी संस्थाहरूबीच फराकिलो शक्ति संरचनामा अन्तर्राष्ट्रिय सक्रियतालाई केन्द्रबिन्दुमा राखेर हेर्दा प्रजातन्त्रको समस्यासँग सम्बन्धित छ भन्ने विषय विश्लेषण गर्दा महत्त्वपूर्ण रूपले बाहिर आउँछ। हुन त धेरै हामी, विदेशीले दिएको पैसा त हो, खाए नि, भन्ने सामान्य सोच्दछौँ। तर यहाँ महत्त्वपूर्ण कुन उद्देश्य लिएर काम गरिरहेका छन् र हाम्रा कमजोरीहरू माथि टेकेर हामीलाई नै एक आपसमा कुस्ती खेलाइरहेको याद गरिरहेका छैनौँ भने अर्कोतिर उनीहरूको साझेदार मात्रै कुलीन वर्ग छ त्यो याद गरिरहेका छैनौँ। हाम्रो समाजको राष्ट्रिय समस्या, नीतितर्फ हामी ध्यान नदिएको ख्याल पनि गरिरहेका छैनौँ।

यहाँ स्मरणीय विषय अस्ट्रेलियन नेशनल विश्वविद्यालयका रिसर्च फेलो, निकोला पाइपर र स्टक होमका प्राध्यापक एन्डर्स उहलिन स्थानीय, रास्ट्रीय र अन्तर्राष्ट्रिय बिचौलियातिर उनीहरुको क्षेत्र बारे प्रश्नहरू तेर्स्याउँदै हामीलाई सुसूचित गर्छन्।

१.  मुलुकमा कस्तो प्रकारका स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरु अन्तर्राष्ट्रिय क्रियाकलापमा संलग्न छन्? तिनीहरू कस्तो प्रकारको सक्रियता प्रयोग गर्छन्?

२. मिडियाहरू, नेटवर्कहरू र सक्रिय कार्यकर्ताहरु केतिर र कसलाई लक्षित गर्छन्?

३. कस्ता प्रकारका अवरोधहरू र अवसरहरू अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरुलाई राज्यशक्तिले जुटाइदिन्छ?

४ .हामी कसरी अन्तर्राष्ट्रिय बिचौलियाको सञ्चार शक्तिको मामला र उनका कार्यकर्ताहरू बुझ्न सक्छौँ?

५. अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरुको सक्रियतामा कुन हदसम्म प्रजातान्त्रीकरण भयो? के त्यो स्थीर छ? केके प्रतिफल छन् ? के राम्रा परिणामहरू आउने सङ्केतहरु छन्?

६ .कसरी हामी यस क्षेत्रमा विभिन्न तह र लोकतन्त्रको पक्षहरूबीच कसरी भिन्नता राख्न सक्छौँ?

७ .अन्तर्राष्ट्रिय सक्रियताले कुन हदसम्म यो अन्तर्राष्ट्रिय मिडियामा उठेको प्रजातन्त्र/लोकतन्त्रलाई अघि बढाउन सक्छ?

८. आन्तरिक लोकतन्त्र, सङ्घीयता र विकेन्द्रीकरणमा अन्तर्राष्ट्रिय बिचौलियाहरूको भूमिका केके छन्?

नेपालको प्रसंगमा मूल्याङ्कन गर्दा बिचौलिया र फण्डितहरुको काम राजनीतिक चेतनाको स्तर उठाउन सहयोग गरेको देखिए पनि नेपालीको अबस्थामा खास सुधार भएको देखिदैँन। कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु संयुक्त रास्ट्र संघकै चार्टरको उलंघन गरी गैर सरकारी संस्थाबाट राइट बेस अर्गनाइजेसन भएर गरेको देखिन्छ।

प्रश्न गर्न हामीलाई गम्भीर बनाएर सिकाएका छन्। यी प्रश्नसँगै यिनीहरूले ल्याउने कार्य क्षेत्र देखाउनलाई नेपाल देखि अन्य गरिब मुलुकहरुमा: विकास, जातजाति, महिला, छुवाछुत आदिमा सामाजिक उत्थान र सशक्तीकरण भनेर, सामाजिक सेवागत भावनाले ओतप्रोत भएर, सशक्तीकरण कार्य गरेको, विकासका काममा साझेदारी संस्थाले चेतनामूलक कार्य गरेको भनेर औँल्याउछन्। हामीले यी प्रश्नहरुबाट उनीहरुको तौल, प्रतिफल र परिमाण थाहा पाउन सक्छौँ। अहिले आएर नेपालमा संघीयता ल्याउन, गणतन्त्र ल्याउन र धर्म निरप्रेक्ष्य बनाउन हिजो गाउँगाउँ नाराजुलुस गराउन पैसा खाएर सक्रिय संस्थाहरु/फण्डितहरु पछाडि लुक्न थालेका छन्। यहाँ के बुझिन्छ भने उनीहरुको सरोकार जे जसरी हुन्छ पैसासँग मात्रै सरोकार थियो।

नेपालको प्रसंगमा मूल्याङ्कन गर्दा बिचौलिया र फण्डितहरुको काम राजनीतिक चेतनाको स्तर उठाउन सहयोग गरेको देखिए पनि नेपालीको अबस्थामा खास सुधार भएको देखिदैँन। कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु संयुक्त रास्ट्र संघकै चार्टरको उलंघन गरी गैर सरकारी संस्थाबाट राइट बेस अर्गनाइजेसन भएर गरेको देखिन्छ। यहाँ के देखिन्छ भने अन्तर्राष्ट्रिय दाता, दाताबाट पैसा लिएर कार्य गर्ने अन्तर्राष्ट्रिय बिचौलिया र नेपाल सरकारसँगै काम गरिरहेको पनि विभिन्न मन्त्रालयमा कार्य गरिरहेका प्रोजेक्टहरू देखिन्छन्। यहाँ सम्बन्धित कार्यालय, अर्थ मन्त्रालय र समाज कल्याण मन्त्रालयबाट नियन्त्रण, नियमन र कारबाही गरेको देखिँदैन। नेपाल सरकार नै पहिलेदेखि यसरी चलेको अर्थ मन्त्रालयका रेकर्डहरू हेर्दा देखिन्छ। यहाँ सबै गैरसरकारी संस्थाहरूलाई नकारात्मकताको एउटै कसीमा राखेर हेरिएको होइन। तर बिचौलिया र फण्डितहरुको सङ्ख्यात्मक वृद्धिसँगै नकारात्मक प्रभाव पनि बढ्दै गएको देखिन्छ। यसमा स्वतन्त्रता र अधिकारका बिषय अगाडि सरेर सामाजिक मूल्य र मान्यता छोड्नु, लाज, शरम र घिन नलाग्नु, नैतिकताको ह्रास हुनु आदि सामाजिक रुपान्तरणमा देखिन्छ। यहाँ हाम्रा धेरै मन्त्रालयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यालयहरू राखिएका छन्।

उनीहरुको उद्देश्य अनुसार काम गर्ने प्रवृतिले फण्डित प्रवृति मौलाएको छ जसमा जसरी हुन्छ, कुन कुन उपाय लगाएर हुन्छ पैसा खानु, सेवा र सुबिधा लिनु प्रवृति सारै धेरै मौलाएको देखिन्छ। उदाहरण एक जस्तै : नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम, फेमिली हेल्थ इन्टरनेसनल, निक साई मन र विश्व स्वास्थ्य सङ्गठन आदि जस्ता नेपाल सरकारको स्वास्थ्य मन्त्रालय कब्जा जमाएर बसेको बिषय पत्रपत्रिकाले लेखेका छन्। यो सबैले फाइदा हामीलाई गर्दैन किनकि उनीहरू आफ्ना उद्देश्यहरू र बजेट अनुसार कार्य गर्छन्।

अध्ययनकै क्रममा अन्तर्राष्ट्रिय बिचौलिया वर्ग र फण्डितहरु (राष्ट्रिय बिचौलिया , क्षेत्रीय र स्थानीय वर्ग) स्वार्थ अनुकूल विभिन्न अत्यधिक धेरै विविध क्षेत्रमा काम गर्दछन् साथै “ट्रान्सनेसनल रिपब्लिक”सँग पनि जोडिएको देखिन्छ। यिनीहरू राम्रादेखि नराम्रा राष्ट्र, धर्म संस्कार, संस्कृति, आतङ्ककारी सबैजसो गतिविधिमा संलग्न भएको देखिन्छ। माथि उल्लेखित नै गरिसकेको छ, यिनले राज्य बाहिरी शक्ति प्रयोग गर्दछन्। अन्तर्राष्ट्रिय बिचौलियाहरूको ट्रान्सनेसनल प्रणालीमा विखण्डनकारी भूमिका आवश्यक हुन्छ भनेर रिसे, कोएनिग-आर्चीबुगी र जेर्न ( २००६ ) मै लेखिरहेका छन्। उनीहरूले विघटनकारी, नाजायज र कहिलेकाहिँ हिंसात्मक कार्यहरू मार्फत आफ्नो उद्देश्य अघि बढाउन खोजिरहेका हुन्छन् भनेर लेख्छन्।

यसै सन्दर्भमा, मार्कुस थायल र जेफ्री मस्लानिक( २०१७ ) मा लेख्छन्: अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरूको मुख्य पक्षले अन्तर्राष्ट्रिय प्रणालीको परिवर्तनको आङ्कलन गर्दछ। तर, राज्य सरकारहरूको ठोस भूमिका र उनीहरूको आङ्कलनको आधारमा अन्तर्राष्ट्रिय बिचौलियाहरू बारे भिन्नै धारणा राख्छन्। नव-यथार्थवादी, नव उदार संस्थागतवादी, निर्माणवादी र नव-मार्क्सवादी सिद्धान्तहरू मध्ये यथार्थवाद र नव-मार्क्सवाद यी एजेन्टहरू (फण्डितहरु) प्रति ठुलो नकारात्मक दृष्टिकोण राख्छन्।

(यो आलेखको अर्को भाग सोमबार प्रकाशित हुनेछ।)

साउन १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्