साप्ताहिक विश्लेषण (साउन १० देखि १६)

के नेपालमा काेराेनाकाे नयाँ लहर सुरु भएकाे हाे? यस्ता छन् तथ्य र तथ्यांक

कुनै पनि प्यान्डेमिकको नियति नै यही हुन्छ कि यसको अन्त्य हुनुभन्दा  पहिला यसका कैयौँ लहरहरु आउँदछन् अन्त्यमा यो हराउँछ। प्यान्डेमिकको अन्त्य कसरी र कहिले हुन्छ भन्न गार्हो हुन्छ।

करिब १०० वर्षअघि अमेरिकाबाट सुरु भएर युरोपमा फैलिएको स्प्यानिश फ्लुले विश्वको करिब एक तिहाई जनसंख्यालाई प्रभाव पारेको थियो भने करिब ५ करोड जनसंख्याको मृत्यु भई तीन वर्षमा अन्त्य भएको थियो। त्यो समय आधुनिक चिकित्सा विज्ञानको विकास हुनुभन्दा अगाडिको युग थियो र त्यति बेला भाइरस भनेको के हो भन्ने कुरा पनि राम्ररी थाहा थिएन। अहिले विश्वले विज्ञान र आधुनिकताको आकास चुमिसकेको छ, तर पनि हालको कोरोना प्यान्डेमिकले पनि कम दु:ख दिएको छैन।

प्यान्डेमिक हुनको लागि कारक जीवाणुलाई  मुख्य तया तीन वटा कुराहरुको आवश्यकता पर्दछ। पहिलो हो , यसले मानव शरीरलाई संक्रमण गरी रोग लगाउनु, दोस्रो, यो एकबाट अर्को मानिसमा सर्नु या प्रसारण हुनु र तेस्रो, मानव शरीरमा यसविरुद्धको प्रतिरोधात्मक क्षमता पहिला कहिल्यै नहुनु।

यी तीन अवस्था नभएमा कुनै पनि जीवाणुले प्यान्डेमिक गराउन सक्दैन। त्यति मात्रै होइन यी तीन अवस्था रहेसम्म कुनै पनि प्यान्डेमिकको अन्त्य हुन पनि सक्दैन। उदाहरणको लागि, मर्स (MESR)ले सन् २०१२ तिर साउदी अरेबिया र अन्य नजिकका केही देशहरुमा तहल्का मच्चाएता पनि यसले ठूलो प्यान्डेमिकको रुप लिन सकेन किनभने यसको जीवाणुमा  एकबाट अर्कोमा सर्ने ठूलो क्षमता थिएन। त्यस्तै मसौमी रुघाखोकीले पनि प्यान्डेमिकको रुप लिन सक्दैन किन भने यसको जीवाणु प्रति मानव शरीरमा राम्रै प्रतिरोधात्मक क्षमताको  विकास भइसकेको छ।

कोरोनाको सवालमा माथि उल्लेख गरिएका तीनै कुराहरु छन् जसले गर्दा प्यान्डेमिक आज पनि निरन्तर लम्किरहेको छ। यी तीन कुराहरु मध्ये पहिलो कुरा अर्थात् कोरोना भाइरसको प्रकृतिलाई परिवर्तन गर्नु मानव क्षमताभित्रको कुरा होइन किनकि यो एक प्राकृतिक कुरा हो।

दोस्रो कुरा अर्थात् संक्रमण एकबाट अर्कोमा सर्ने कुरालाई भौतिक दूरी कायम गर्ने र मास्क लगाउने गरेर केही हदसम्म नियन्त्रण गर्न सकेता पनि मानव जाती त्यति धैर्यवान देखिँदैन जत्तिको कोरोना संक्रमण प्रसारण रोक्नको लागि आवश्यक पर्दछ।

तेस्रो कुरा अर्थात् जीवाणुविरुद्धको प्रतिरोधात्मक क्षमताको विकास गर्नु  मानव क्षमताभित्र केही हदसम्म पर्दछ जसको प्रयास हाल भ्याक्सिनको रुपमा तीव्र गतिमा जारी छ।

रोगविरुद्धको प्रतिरोधात्मक क्षमता बढ्ने अर्को उपाय  भनेको प्राकृतिक उपाय हो। धेरैभन्दा धेरै मानिसलाई कोरोना संक्रमण भइसकेपछि समुदायमा रोगप्रति प्रतिरोधात्मक शक्तिको विकास हुन्छ जसलाई हर्ड इम्युनिटी भनिन्छ। तर त्यसको लागि कम्तीमा समुदायमा भएका दुईतिहाई जनसंख्यामा यो संक्रमण लागिसकेको हुनु पर्दछ। दुईतिहाई जनसंख्यामा रोग फैलिएमा त्यसको सामाजिक, आर्थिक र मानव क्षतिको परिणाम कस्तो होला? त्यो हाम्रो कल्पनाभन्दा निकै पर छ।

प्यान्डेमिकको दैनिक अवस्था कस्तो रहेको छ भनी हेर्ने विभिन्न तरिका मध्ये एक अर्को हो प्यान्डेमिकको दैनिक ग्रोथ फ्याक्टर। यो दुई दिनको नयाँ संक्रमणबीचको तुलना हो जसले आजको नयाँ संक्रमण हिजोको भन्दा कति घटेको या बढेको छ भन्ने जनाउँदछ। यदि यो १ भन्दा कम हुँदै गएमा संक्रमण घट्दै गएको भन्ने बुझिन्छ भने १ भन्दा माथि भएमा संक्रमण बढ्दै गएको बुझिन्छ।

चित्र न. १ ले दक्षिण एसियाको विगत करिब १ महिनाको दैनिक ग्रोथ फ्याक्टर देखाएको छ। चित्रमा धनुरेखाले दैनिक ग्रोथ फ्याक्टरको प्रवृत्ति देखाएको छ जुन विस्तारै बढ्ने क्रममा देखिन्छ। हाल प्यान्डेमिकको नयाँ लहर फेरि सुरु हुँदै छ भन्ने कुराको यसले केही हदसम्म पुष्टि गर्दछ।

पछिल्लो समय करिब एक डेढ महिनादेखि दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु घट्ने दरमा कमी आएको छ र यी दरहरु स्थिर रुपमा अगाडि बढिरहेका छन्द। दक्षिण एसियाली देशहरुको विगत १५ दिनको दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र न.२ र ३ मा देखाइएको छ।

चित्रमा देखाइए जस्तै दक्षिण एसियाली देशहरुमा हाल दैनिक संक्रमण र दैनिक मृत्यु स्थिर रुपमा देखा परिरहेका छन् र २-३ हप्ता अघि भन्दा फरक हाल केही बढ्न खोजेको जस्तो देखिन्छ। पछिल्लो समय बंगलादेश र श्रीलंकामा हालसम्मकै सबैभन्दा ठूलो लहर चलिरहेको छ भने पाकिस्तानमा विगत एक महिनादेखि नयाँ लहर सुरु भएको छ जुन अघिल्लो लहरको हाराहारीमा पुग्न लागेको छ।

भारतमा दैनिक नयाँ संक्रमण संख्या घट्न छोडेको छ भने नेपालमा नयाँ संक्रमण संख्या केही बढेको छ। दैनिक नयाँ मृत्युको हकमा पनि दक्षिण एसियाली देशहरुमा यो संख्या पछिल्लो समयमा केही बढ्दै गएको देखिन्छ।

दक्षिण एसियामा हाल दैनिक संक्रमण औसतमा करिब ५७००० छ जुन गत हप्ता ४७००० जति थियो। भारतपछि दैनिक संक्रमण र मृत्युमा बंगलादेश हाल पनि अन्य देशहरुभन्दा निकै माथि देखिन्छ।

चित्र न.४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको गत पछिल्लो १५ दिनको,जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University)र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै बंगलादेश र नेपालको संक्रमण दर अझै पनि दक्षिण एसियामा सबै भन्दा उच्च छ र यसको हालसम्म घट्ने कुनै लक्षण देखिएको छैन। त्यति मात्रै होइन पछिल्लो समय युरोप, अमेरिका र जापानमा पनि संक्रमण दर निकै बढेको  देखिन्छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुलाई २९ का दिनसम्ममा ३४९५६७७६ जनामा यो संक्रमण लागिसकेको छ भने ४८६३५३ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ जुलाई २५ देखि ३१ (बि.सं. २०७८साउन १० देखि १६)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ जुलाई २५ देखि ३१ (बि.सं. २०७८ साउन १० देखि १६) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, साउन १६ गते शनिबारसम्म देशभरि जम्मा १६३७२ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६९५३८९ पुगेको छ। विगत दुई महिनादेखि साप्ताहिक संक्रमण संख्या कम हुँदै गएकोमा विगत केही हप्तादेखि यो साप्ताहिक संख्या क्रमश: बढ्दै गई ११६७४ बाट १३१३१ हुँदै गत हप्ता १६३७२  पुगेको हो।

त्यस्तै,साप्ताहिक मृत्यु पनि वृद्धि  हुँदै नगएता पनि १६० देखि १६५ का बीच स्थिर रुपमा रहेको देखिन्छ। यसरी साप्ताहिक संक्रमण र मृत्यु बढ्नु गत हप्ता दैनिक परीक्षण केही बढी गरिएको कारणले गर्दा हो। दुई हप्ता अगाडि साताभरि जम्मा ६५४५७ परीक्षण गरिएकोमा गतहप्ता जम्मा ७४९५१ गरिएको थियो। यसले फेरि पनि कोरोना संक्रमण हाम्रो समाजमा लुकेर बसेको पुष्टि हुन्छ। यसरी पछिल्लो समय साप्ताहिक परीक्षण करिब १०००० ले वृद्धि हुँदै आएको छ।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा ३५.२% जति देखिएको छ। विगत केही हप्तादेखि यो अनुपात क्रमश: बढ्दै गएको छ जुन हाल काठमाडौँमा देखिएको बढ्दो भिडभाडका कारणले हुन सक्दछ। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर कास्की,मोरङ, झापा, सुनसरी, रुपन्देही, नवलपरासी आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर(Positivity Rate)     


                                       

प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न.६ ले  नेपालको गत हप्ताको दैनिक संक्रमण दर देखाएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेता पनि पहिलाको दाँजोमा संक्रमण दर (पोजिटिभिटीदर) घट्ने क्रम रोकिएको जस्तो देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम१४.५६%देखि अधिकतम२५.२२% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२२.०१% रह्यो जुन दुई हप्ताअघि २०% थियो। नेपालको संक्रमण दर,साप्ताहिक रुपमा,पछिल्लो लहरपछि पहिलो पटक फेरि बढेको यो पहिलो पटक हो। यसभन्दा पहिला विगत दुई महिनादेखि साप्ताहिक संक्रमण दर क्रमश: घट्दै गएको थियो।

संक्षेपमा, विश्वमा कोरोना प्यान्डेमिकका कैयौँ लहरहरु आउने र जाने क्रम जारी छ र हालसम्म यस प्यान्डेमिकको अन्त्य हुने कुनै लक्षण देखिएको छैन। पछिल्लो समय विश्वका लगभग सबै ठाउँहरुमा कोरोना संक्रमणको संख्या फेरि बढिरहेको छ। करीब दुईतीन हप्ता अघिको दाँजोमा हालको नेपालको दैनिक संक्रमण र मृत्यु फेरि विस्तारै बढेको जस्तो देखिन्छ।

माथिका यी सबै तथ्यहरुले विश्व, दक्षिण एसिया र नेपालमा फेरि अर्को कोरोना प्यान्डेमिक लहर आउँदै छ भन्ने शंकालाई पुष्टि गर्दछ। अर्को लहर आउने लक्षण देखिसकेपछि त्यसको रोकथाम गर्नु नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ। त्यति भन्दाभन्दै पनि हाल हाम्रो समाजमा त्यसको कुनै लक्षण देखिँदैन, न नागरिकको तर्फबाट न त सरकारको तर्फबाट। यो दुखद कुरा हो। पहिला यस्तै भुलको कारण नेपाली जनताले धेरै दुख पाइसकेका छन्। यदि जनचेतना नबढ्ने हो भने फेरि पुरानै अवस्था नदोहरिएला भन्न सकिँदैन।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

prabinshrestha@hotmail.com

डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।

साउन १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्