चीनले उचाल्ने स्वर्णपदकको भार

सन् १९८४ सम्म पनि ओलम्पिकबाट टाढै रहेको चीन कसरी विश्व विजेता बन्दैछ

४९ किलोग्राम तौल समूहमा भारोत्तोलनमा चीनकी होउ झिहुइले जारी टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् । तस्बिर : डग मिल्स/न्यूयोर्क टाइम्स

टोकियो– होउ झिहुइले १२ वर्ष पूरा गरेकै क्षणदेखि उनको भाग्यबाट छुट्टिका दिनहरु लगभग खोसिएजस्तै भयो। साताको ६ दिनै उनलाई एउटै मिसनको भारी बोकाएर राख्ने गरिएको छ। त्यो हो, उनको आफ्नै वजनभन्दा दुई गुणा तौललाई कसरी हावामा उचालेर थामिरहने।

उनको लगातारको समर्पण, परिवारसँगको विछोड, खोसिएको बालापन र निरन्तरका पिडादायी परिस्थितीहरुले बोकाएका तनावहरुले अन्ततः बल्ल शनिबार प्रतिफल दियो। अर्थात उनले जारी टोकियो ओलम्पिक अन्तर्गत ४९ किलोग्राम तौल समूहको भारोत्तोलनमा स्वर्ण पदक हाँसिल गरिन्। त्यति मात्र होइन उनले यसअघिका तीनवटा ओलम्पिक रेकर्डलाई समेत पछारिन्। यो एक यस्तो सफलता थियो जसलाई प्राप्त गर्नका निम्ति चिनियाँ महिला भारोत्तोलन टोलीका प्रत्येक सदस्यले हरेक प्रतिस्पर्धाको मोर्चामा दबाब झेलिरहेका हुन्छन्।

‘चिनियाँ भारोत्तोलन टोली असाध्यै संगठित छ र मैदानमा डटेको बेला टिमबाट पाइने प्रोत्साहनले धेरै नै सहयोग मिलिरहेको हुन्छ,’ स्वर्ण पदक पहिरेपछि २४ वर्षिया होउ भनिरहेकी थिइन्, ‘हामी चिनियाँ खेलाडीहरुले एउटै कुरामा ध्यान केन्द्रित गरेका हुन्छौं, त्यो हो प्रशिक्षण।’

ओलम्पिकमा सहभागी चीन एक यस्तो मुलुक हो जसले उसको खेलाडी जमातलाई एकसुत्रीय मन्त्र पढाएको हुन्छ– ‘राष्ट्रको गौरवका खातिर जसरी पनि स्वर्ण पदक जित्नै पर्छ।’ रजत र काँस्य पदकलाई त उनीहरु गन्दै गन्दैनन्। टोकियोमा आजसम्मकै सबैभन्दा ठूलो टोली अर्थात् चार सय १३ सदस्यीय टिम पठाइरहँदा उसको एउटै लक्ष्य छ, जसरी हुन्छ स्वर्णपदक तालिकामा सर्वोच्च स्थान हाँसिल गर्ने। यद्यपि यो उपलब्धिको भारी बोकेका खेलाडीहरुले चुकाउनु परिरहेको मूल्यलाई लिएर चिनियाँ जनसाधारणमा चिन्ता बढ्दै गइरहेको छ।

‘हामीले जेसुकै गरेर भएता पनि स्वर्ण पदकमा पहिलो स्थानको सुनिश्चितता गर्नै पर्छ,’ चिनियाँ ओलम्पिक कमिटिका प्रमुख गोउ झोंगवेनले ओलम्पिक उद्घाटन हुँदैगर्दाको बेलुकी भनेका थिए।

चीनको यो पारा कुनै समयको शक्तिशाली सोभियत संघले गाडेको जरोबाटै झ्याङ्गिएको हो। चिनियाँहरु पनि सरकारले चलाएका दुई हजारभन्दा बढी खेलकूद स्कुलहरुमा पूर्णकालीन तवरले प्रशिक्षण प्रदान गरिएका दसौं हजार केटाकेटी उत्पादन गर्न तल्लीन रहन्छन्। यसरी खेलाडी उत्पादन गरिरहँदा उनीहरुको ध्याउन्न पश्चिमाहरुले कमै लगानी गरिरहेका अलिक थोरै महत्वका खेलकूद अनि एकै विधामा बढीभन्दा बढी स्वर्ण पदक दिनसक्ने किसिमका खेलतर्फ लक्षित हुन्छ। ताकि कसरी हुन्छ सक्दो धेरै स्वर्णपदक जुटाउन सकियोस्।

उदाहरणै हेरौँ न। सन् १९८४देखि ओलम्पिकमा सहभागिता जनाउन थालेयता चीनले जितेका ७५ प्रतिशत स्वर्णपदक केवल छ वटा खेलमा सीमित छ। टेबुलटेनिस, सुटिङ, डाइभिङ, ब्याडमिन्टन, जिमनास्टिक र भारोत्तोलन। चीनले जति स्वर्णपदक हाँसिल गर्छ त्यसमध्ये दुई तिहाइ पदक दिलाउने काम महिला खेलाडीले गरिरहेका हुन्छन्। त्यसैले त अहिले पनि टोकियो ओलम्पिकमा सहभागीता जनाउने चिनियाँ टोलीका सदस्यमध्ये झण्डै ७० प्रतिशत महिला छन्।

बेइजिङलाई स्वर्णपदकमा केन्द्रित उसको रणनीति अघि बढाउन सन् २००० को सिड्नी ओलम्पिकले धेरै नै सहयोग गरिदियो जतिबेला महिला भारोत्तोलनलाई नयाँ विधाका रुपमा भित्र्याउने काम गरियो।

खेलकुदका बडेबडे केन्द्रहरुले यो विधालाई विशिष्ट श्रेणीमै राखेर हेरे अर्थात् पश्चिमा मुलुकहरुमा महिला खेलाडीहरुले यसका निम्ति कोषको जोहो गर्न भिड्नु पथ्र्यो। त्यसबाहेक तौलसम्वन्धि थुप्रै कक्षाहरु पार गरेता पनि यो विधाले जम्मा चारवटा स्वर्ण समेट्थ्यो।

उता बेइजिङस्थित खेलकूद क्षेत्रका महारथीहरुको निम्ति महिला भारोत्तोलन आम जनसमूदायमा कत्तिको लोकप्रिय छ वा छैन भन्ने कुराले कुनै मतलब राख्थेन। अर्कातिर संभावित खेलाडीका हिसाबले खेलकूद प्रणाली भित्र प्रवेश गराइएका अबोध किशोरीहरुलाई त यस्तो भारी उचाल्नुपर्ने कुनै खेलकुद छ भन्ने थाहा पनि हुँदैन थियो।

चीनको विशाल झण्डाले छोपिएको बेइजिङस्थित भारोत्तोलनको राष्ट्रिय टोली प्रशिक्षण केन्द्रमा तैयार हुँदैगरेका खेलाडीलाई उनीहरु के चाहन्छन् भन्ने भन्दा पनि राष्ट्रप्रति उनीहरुको ठूलो दायित्व छ भनेर घोकाइएको हुन्छ।

‘यो प्रणाली असाध्यै मजबुत छ,’ रियो दि जेनेरियोमा आयोजित पछिल्लो ओलम्पिकमा चिनियाँ भारोत्तोलन टोलीका प्रमुख ली हाओ भन्छन्, ‘र, सायद त्यसले गर्दा नै हाम्रो भारोत्तोलन टिम अन्य मुलुकहरुको भन्दा धेरै अग्रणी देखिने गर्छ।’

ओलम्पिकको गौरवलाई समात्न थुप्रै मुलुकहरु हानाथाप गर्ने गर्छन्। कुनै समय अमेरिका र सोभियत संघले त ओलम्पिकको मैदानलाई एक प्रकारले शीतयुद्धकालीन रणमैदानै बनाइदिएका थिए। तर, बेइजिङको निम्ति ओलम्पिकका स्वर्णपदकहरुको बेग्लै माने छ। सन् १९४९ मा ‘पिपुल्स रिपब्लिक अफ चाइना’मा रुपान्तरित यो मुलुक सदियौंदेखि विदेशीहरुबाट भोगेका पीडा र पराजयहरुको विरुद्धमा एक रुपान्तरित क्रान्तिकारी शक्ति बनेर उभिन चाहन्छ।

उतिबेलै अध्यक्ष माओत्से तुंगले आफ्नो पहिलो लेखमा उक्त मुलुक अब ‘दी सिक म्यान अफ एसिया’ (एसियाको रोगी मानिस)को पहिचानबाट उठेर आफ्ना पाखुराहरु बलियो बनाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका थिए।

त्यसपछि दसकौंसम्म एकखाले राजनीतिक संघर्षको अखडा ओलम्पिकको मैदान पनि बन्न पुग्यो। तर, चीन यसबाट टाडै रह्यो। कारण थियो ताइवान। ताइवानले त्योताका ‘रिपब्लिक अफ चाइना’का नामबाट ओलम्पिकमा भाग लिँदै आइरहेको थियो। त्यसैले बेइजिङले सन् १९८४ सम्मै गृष्मकालीन ओलम्पिकमा आफूलाई समाहितै गराएन। तर, पछि गएर ताइवानले आफूलाई ‘चाइनिज ताइपेइ’ नामबाट सहभागी गराएपछि बल्ल चीनको सहभागीता सुरुभयो।

सन् १९८८ मा चीनले पाँचवटा स्वर्णपदक हाँसिल गरेको थियो। त्यसको दुइ दसकपछि जब बेइजिङआफैँले ओलम्पिक आयोजना ग¥यो, त्यहि मुलुकले स्वर्णपदकका मामलामा संयुक्तराज्य अमेरिकालाई समेत पछाडि धकेलिदियो।

त्यसपछि लण्डनमा सन् २०१२ मा आयोजित ओलम्पिकमा चीन फेरि स्वर्णपदकका मामलामा दोश्रो स्थानमा झरेको थियो भने त्यसपछि रियो दि जेनेरियोमा आयोजित सन् २०१६ को ओलम्पिकमा त उसलाई बित्पातै निराश पार्नेगरि चीन अमेरिका र बेलायतपछि तेश्रो स्थानमा ओर्लन पुगेको थियो।

यस्तो अवस्थामा स्वदेश फर्किएपछि चिनियाँ खेलकूद पदाधिकारीहरुले उनीहरुको मेहनतमा दोब्बर बढोत्तरी गरे। अर्कोतर्फ चीनमा यो समयमै ह्वात्तै बढ्न पुगेको मध्यमवर्गीय परिवारका अभिभावकहरुले उनीहरुका सन्तानलाई खेलाडीका रुपमा राज्यलाई सुम्पन अलिक संकोच पनि मान्न थालेका थिए। कुनै समयको यो भोको मुलुकमा टन्न खान पिउन पाइन्छ भनेरै पनि खेलकूदका स्कुलहरुमा मनग्गे खेलाडी जुटाउन सकिन्थ्यो। यस्तो अवस्थामा खेलकूद केवल धनीमानी वर्गको हातमा सीमित हुन नपुगोस् भनेर बेइजिङले ‘प्रत्येक बच्चाले दौडन, खेल्न र भकुण्डोलाई लात्ताले हिर्काउन पाउनै पर्छ’ भन्ने नीति लियो।

यसले ओलम्पिकमा जित्ने खेलाडीहरुको शान र मान त बढाउँथ्यो नै, तर त्यसरी विजयी हासिल गर्नेहरु दशौं हजार केटाकेटीमध्येबाट छानिएका एकदुइ मात्र हुन्थे। बाँकी छाँटिएका खेलाडीहरुको हकमा अब उनीहरुको कठीन जीवन उभिएको हुन्थ्यो। खेलकुदमै केन्द्रित रहेर कमै पढेलेखेका, शरिर पनि बिग्रेका र खेलकूदको प्रणालीभन्दा बाहिर जानुपरे उनीहरुलाई रोजगारीको पनि बिरलै अवसर मिल्थ्यो।

तैपनि बेइजिङले आफूलाई योजनाहरु सहित निरन्तर अघि बढाइरह्यो। तेक्वाण्डो, क्यानोइङ, सेलिङ (डुंगा) जस्ता कार्यक्रमहरु थपिँदै गए। बलियो हत्केला भएका केटाकेटीहरु तिरन्दाजीतर्फ पठाइए। चौंडा छाती भएका ग्रामीण किशोरीहरुलाई भारोत्तोलनतर्फ लगियो।

‘ग्रामीण भेगका वा कमजोर आर्थिक पृष्ठभूमिका केटाकेटी गरिबीमा दुःखले हुर्किने भएकाले उनीहरु चरम कठिनाइ पनि भोग्नसक्ने किसिमका हुन्छन्,’ प्रशिक्षक ली हाओ भन्छन्, ‘त्यसैले उनीहरु भारोत्तोलनका लागि उपयुक्त हुन्छन्।’

बेइजिङले ओलम्पिकको तयारी गर्ने क्रममा बढी ध्यान अत्यन्त कडा तथा नियमित परिश्रमका आधारमा तयार हुने खेलाडीमा दिनेगरेको छ। धेरै खेलाडीहरु मिलेर खेल्ने र परस्पर सहकार्यमा तत्काल लिइएका निर्णयहरुले विजयी बनाउने किसिमका प्रतियोगीताहरुमा उसको रुची कमै जाने गर्छ। एउटा महिला भलिबल बाहेक चीनले ठूलो टिमसहित खेलेर विजयी हासिल गर्ने कुनै पनि प्रतियोगीतामा कहिल्यै ओलम्पिक स्वर्णपदक जितेको देखिँदैन।

टोकियोमा पनि बेइजिङको त्यहि रणनीति अघि बढिरहेको देखिन्छ। यतिबेला २३ स्वर्णपदकसहित चीन अग्रस्थानमा छ भने २० स्वर्णपदक सहित अमेरिका र १७ स्वर्णपदकसहित जापानले उसलाई पछ्याइरहेको छ। चीनले उसको पहिलो स्वर्णपदक महिलाहरुको दस मिटर दुरीमा एयर राइफल प्रतियोगीताबाट प्राप्तगरेको थियो।

टोकियो ओलम्पिकमा चिनियाँ टोली । तस्बिर :डग मिल्स/न्यूयोर्क टाइम्स

अर्कातर्फ चीनले अत्यन्तै बढी आश गर्ने टेबलटेनिस, डाइभिङ र भारोत्तोलनजस्ता सदैव बलियो रहँदै आएको क्षेत्रमा उसले सबै स्वर्ण सोहोर्न भने सकेन। थप निराशाका रुपमा खेलको सुरुवाती चरणमै उसको अग्रणी पौडिवाजले औषधि प्रयोग गरेको अभियोगमा खेलबाटै प्रतिबन्धित भइदिए। त्यसैगरि पुरुषहरुको फुटबल, भलिबल र बास्केटबलजस्ता टिमहरु छनौट चरणबाटै बाहिरिन पुगे।

चीनमा ओलम्पिकका निम्ति तयार पारिने खेलाडीहरुको त्याग सायदै अन्तका खेलाडीहरुसँग तुलना गर्न सकिन्छ। खेलाडी तयार पार्ने स्कुलहरुमा प्राज्ञिक पठनपाठनका काम असाध्यै थोरै हुन्छ। विश्वविजेता बनेका कतिपय खेलाडीहरु पनि अर्का खेलाडीसँग एउटै कोठा साझेदारी गर्न बाध्य भइरहेका हुन्छन्। आफ्ना परिवारसँग भेटघाटका अवसर पनि उनीहरुले वर्षमा थोरैपटक मात्र पाउने गर्छन्।

सोमबार मात्र चिनियाँ भारोत्तोलक लियाओ क्युयुनले ५५ किलोग्राम तौल समूहको प्रतिस्पर्धामा भाग लिएपछि उनलाई उनकै परिवारको सन्देश एकजना पत्रकार मार्फत् प्राप्त भएको थियो। ती महिला भारोत्तोलक र पत्रकार एकै प्रान्तका थिए।

चीनका महिला भारोत्तोलक खेलाडीको अवस्था जटिल छ। अवकाश पछि उनीहरुले पाउने सुविधा डाइभर (डुब्की लगाउने) वा जिमन्यास्टले भन्दा निकै कम हुन्छ।

जेजस्तो भएता पनि यतिबेला रन्किएको टोकियो प्रतिस्पर्धामा पुराना दुःखका कुराहरु थाँती रहनपुगेका छन्। सोमबार मात्र लिआओले ५५ किलो तौल समूहमा आफूलाई विश्वच्याम्पियनकै दाबेदारीमा उभ्याइरहेकी थिइन् जसको दुइ दिनपहिले होउले कम तौल समूहमा स्वर्णपदक जितेकी थिइन्।

प्रतिस्पर्धाको अन्तिम चरणमा एक फिलिपिन्सकी प्रतिस्पर्धीले उनको स्वर्णपदक सपनालाई बिटुलो बनाइदिइन्।

त्यसपछि २६ वर्षिया लिआओ उभिएको उभियै रुन थालिन्। उनको स्वास थामिएको थियो। उनलाई अंगालोमा बेरेर कोच पनि रुन थाले। यति हुँदाहुँदै पनि रातो आँखा पारेकी लिआओ चिनियाँ पत्रकारहरुका प्रश्नको उत्तर दिन खडा भइन्। एक पत्रकारले ‘रजत पनि ठूलो उपलब्धि हो’ भनेर सुनाए। लिआओले भुइँतिर हेर्न थालिन्।

‘आज मैले सकेसम्म कोशिस गरेकी थिएँ,’ उनले भनिन्। त्यसपछि फेरि आँसु बग्न थाल्यो।

बितेका वर्षहरुमा उनले उचालेका निर्मम भारीहरुको वजन कम्ती पीडादायी थिएन।

‘यी चोटहरु वर्षौंदेखिका हुन्,’ उनले शरिरका घाउहरुबारे भनिन्, ‘एकपछि अर्को थपिँदै गएका।’

लिआओले गहिरो स्वास फेरिन्। आफुले पहिरेको पोशाककै एउटा कुनाले आँसु पुछिन्।

‘अब राष्ट्रिय प्रतियोगीताहरु आउने छन्,’ उनले भनिन्, ‘म मेरो हुनान प्रान्तबाट सहभागी हुनेछु।’

चीनमा त्यहाँको राष्ट्रिय प्रतियोगीताहरुमा बेग्लाबेग्लै प्रान्तले प्रस्तुत गरेको खुबीकै आधारमा उनीहरुले खेलकूदको बजेट हात पार्नेगरेका छन्।

लिआओका निम्ति ओलम्पिक सकिएको छ। उनी अब बेग्लै जिम्मेवारीमा देखिनेछिन्।

साउन १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्