नेपालमा अन्तर्राष्ट्रिय बिचौलियाहरु- भाग २

नेपालमा संरचनागत रूपले फण्डितहरुको अवस्था

अन्तर्राष्ट्रिय बिचौलिया, राष्ट्रिय बिचौलिया, स्थानीय नागरिक समाज, नागरिक आन्दोलनबारे पहिलेदेखि नै बहसका विषयहरू नेपालमा देखिन्छ। दाताहरूले दिएको पैसाले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आफ्नै प्रशासन र प्राविधिक संयन्त्र प्रयोग गरेर काम गर्थे। सेवा र सुविधा सोझै जनस्तरमा पुग्दथ्यो। जस्तै : केयर नेपालले आरुघाट उँभो बनाएका पुलहरू, खानेपानी त्यस्तै हेल्भिटासले कर्णालीमा गरेका राम्रा कामका उदाहरणहरू हुन्। जब साझेदारीमा जाने नीति र अवधारणा आयो, तब यो सबै विवादास्पद बन्न पुगेको देखिन्छ।

सहायताका विषयहरू अध्ययन गर्दा, हाम्रो अर्थ मन्त्रालयभित्र पसेर प्राविधिक तथा अन्य सहायता विवरण आ.व. २०६१/६२ देखि हेर्दा द्विपक्षीय, बहुपक्षीय स्रोत तथा अन्तर्राष्ट्रिय गै.स.सं. मार्फत प्राप्त सहयोग समेत हेर्दा विकास र विकसित भइसकेको हाम्रो अबस्था देखिन्छ। त्यहाँ यो आर्थिक वर्ष अगाडिका रेकर्डहरू देखिदैँनन् भने त्यहाँदेखि यता पनि काम गरेका धेरै संस्थाहरूले रकम उल्लेखित गरेको पाइँदैन। यहाँ, नेपाली उचाल्ने, पछार्ने, घोप्टो, नेप्टो र चेप्टो पार्न कसले कति ल्यायो र खायो आदिको हिसाब राज्यले राखेको देखिँदैन भने, यहाँ पटक्कै राज्यको नियन्त्रण र नियमन देखिँदैन। यिनै दाता, अन्तर्राष्ट्रिय बिचौलिया र राष्ट्रिय स्तरका बिचौलियाको शक्तिमा र प्रत्यक्ष/अप्रत्यक्ष दबाबमा नेपालको शासकीय पद्धति चलेको देखिन्छ।

यहाँ अध्ययन गर्दा समाज कल्याण परिषद्ले ‘सामाजिक सङ्घसंस्थाको अनुगमन, सुपरिवेक्षण एवं मूल्याङ्कन निर्देशिका २०७१ (चौथो संशोधन सहित)’ ल्याएको देखिन्छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू मार्फत प्राप्त सहयोगको विवरण (आर्थिक वर्ष २०६१।६२) मा हामीले क्यानडा, जापान, संयुक्त राज्य अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड आदि दातृ मुलुक र संस्थाले दिएको रकम रु. ४५४५५५५ ( नोट: हजारमा धेरैको रकम खुलेको देखिँदैन) त्यस्तै , आब ०६०/०६१ मा १०,०५,९४,२०( हजारमा ) देखिन्छ। यी अन्तर्राष्ट्रिय नायक/बिचौलिया संस्थाहरु मार्फत जस्तै: सेसी, कारितास, बाल कल्याण कार्यक्रम, मानवताका लागि बसोबास, वाटर एड, प्लान इन्टरनेशनल, योमोगी नो काई, वर्ल्ड नेवर्स, सेभ द चिल्डेन, अक्सफाम, यूनाइटेड मिसन टु नेपाल, वर्ल्ड भिजन, भ्रष्टाचार विरुद्धको सहकार्य, आम्दा इन्टरनेशनल आदि गरी जम्मा १३६ संस्थाहरूले काम गरेको देखिन्छ।

बिस २०१२ देखि अध्ययन गरेर आउँदा वैदेशिक सहायताको इतिहासले हामीलाई खान सिकायो, लगाउन सिकायो (उपभोक्ता वादी बनायो ) तर यो साठी वर्षको इतिहासमा हामीलाई उत्पादनमुखी बनाएन। अन्तर्राष्ट्रिय बिचौलिया मोटाए, राष्ट्रिय , क्षेत्रीय र फण्डितहरु मोटाए; हाम्रा बेरोजगारी, गुण स्तरीय शिक्षाजस्ता बिषयमा उल्लेखनीय सुधार भएको देखिँदैन।

हाम्रो पेरिस सिद्धान्त, अक्रा एक्सन एजेन्डा र बुसान परिणाममा आधारित सहयोग प्राप्त गर्ने आदि विषयमा हाम्रो सक्रिय सहभागिता देखिन्छ। अर्थ मन्त्रालयले ( २०७५) , सङ्घीय नेपालमा वैदेशिक सहायता परिचालन: एक अध्ययन पनि गरेको देखिन्छ तर कसले पैसा ल्यायो, कति खायो, कुन बाटो छिरायो, कता पुर्‍यायो, केही देखिँदैन। यसैलाई टक्सार म्यागेजिनका सम्पादक गजेन्द्र बुढाथोकी राज्यको कानुनी संरचनाभन्दा बाहिर बसेर अर्थोपार्जन गर्ने तर राज्यको प्रणालीमा नदेखिने वा गणना नहुने छाया अर्थतन्त्र हो भनेर लेख्छन्।

नेपालको औसत ५५ प्रतिशतसम्म अर्थतन्त्र अनौपचारिक अर्थतन्त्रको रूपमा रहेको देखिन्छ। यसैभित्र समेटिने चलखेलको कारणहरूले नेपालमा फण्डितहरु मोटाएको देखिन्छ भने प्रतिफल खासै देखिँदैन। हाम्रो मुलुकको अध्ययन गर्दा पुरै रूपले दाता, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र बिचौलियाहरुको कब्जामा मुलुक देखिन्छ। उदाहरणका लागि: अर्थ मन्त्रालयले बनाएको दाता द्वारा प्राप्त हुने प्राविधिक र अन्य सहयोग विवरण आ ब २०७८ /०७९ को हेर्दा अठार मन्त्रालय, आयोगहरू, प्राधिकरण सम्मिलित हुने देखिन्छन् भने एक सय छब्बीस अन्तर्राष्ट्रिय गैर सरकारी कार्यालय पनि सम्मिलित हुने रेकर्ड देखिन्छ। दुवैतर्फ खर्च हुने कुल अनुमानित रकम रु १५६६८ ४५७५ ( हजारमा ) देखिन्छ।

यही विषयमा समाज कल्याण परिषद्तिर मोडिँदा, नेपालमा काम गर्ने २४५ अन्तर्राष्ट्रिय गैर सरकारी संस्था देखिन्छन् जसमा सबै भन्दा धेरै अमेरिकी संस्था छन्। गैर सरकारी संस्थाको वृद्धि हेर्दा बिस २०३४/०३५ सालमा जम्मा सत्र वटा देखिन्छन् भने २०७५/०७६ सालमा ५०३५८ देखिन्छन् जसमा सबै भन्दा धेरै प्रदेश बागमतीमा मात्रै २५९९२ देखिन्छन्। ०७८ वैशाख महिनादेखि असार २७ गते सम्म गैससको परियोजना विवरण हेर्दा : कोभिड दोस्रो लहरमा काम गर्न स्वीकृति लिएका ११४ वटा गैर सरकारी संस्था देखिन्छन् भने खर्च गर्ने रकम रु ४८३ ४५५ ८४२.७३ देखिन्छ। यसरी कोभि भित्र हेर्दा नेपालका गैर सरकारी संस्थाले १८ अर्बदेखि माथि विभिन्न नामका कार्यक्रम सञ्चालन गर्ने गरेको देखिन्छ। यसमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको लगानी १६ अर्ब देखिन्छ।

तहगत हेर्दा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, सुप्रा नेशनल र स्थानीय, कर्पोरेट मिडिया र नेटवर्किङसँगै उपल्लो केही कर्मचारी बिचौलिया/ नायक/खलनायक भएर नेपालको सरकार चलाइरहेको देखिन्छ। संवैधानिक निकायहरूदेखि मन्त्री सांसद, सल्लाहकार जस्ता राज्यका मुख्य भूमिकामा रहने व्यक्तिहरू दाता, अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी संस्था र उनको स्वार्थसँग जोडिएका मान्छेहरूको बाहुल्य देखिन्छ।

चौधरी फाउन्डेसनले बिल एन्ड मलिन्डा गेट फाउन्डेसनबाट पोषणसम्बन्धी कार्यक्रमका लागि ८ करोड ८२ लाख १८ हजार रुपैयाँ लिएको देखिन्छ। अब, यो पोषणयुक्त चाउचाउ कति नाबालकले पाए र पोषण के छ?

यसरी नेपाल र नेपालीका नाममा आएका सहयोग भारतदेखि अन्य मुलुकका कन्सल्ट्यान्ट हुँदै फण्डितहरुले खाएर मोटाएको देखिन्छ भने उनैका अर्ती प्रजातन्त्र र लोकतन्त्र अनि पद्धतिप्रति उनीहरुको व्याख्या पत्र पत्रिकामा पढेर हाँस्नु सिवाय नेपालीसँग अन्य विकल्प रहेको देखिदैँन। राज्य उनीहरु बिचौलिया, ब्यापारी, सहयोग गर्ने बैंक, अनुदान दिने अगाडि निरीह छ साथै उनीहरुको स्वार्थ अनुकुल संलग्न भएर विकासका तथ्यांक पस्कन हतारो भएको देखिन्छ। यसले मुलुकलाई राम्रो बाटो हिँडाएको छैन।

लोकतान्त्रिक वैधानिकता, चरित्रहरू र मापन

अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय- बिचौलियाहरूले राज्य र अन्तर राज्य सम्बन्धका आधारमा आफ्नो आकार लिएका हुन्छन् भनेर भुल्न हुँदैन। उनीहरूले प्रयोग गर्ने लोकतन्त्रको वैधानिक हतियारमा: उत्तरदायित्व, जनसहभागिता, समावेशिता, पारदर्शिता, सुशासन, प्रतिनिधित्व, वैचारिक बहस, लबिङ र बार्गेनिङ देखिएका छन्। जस्तै: संबैधानिक नियुक्ति ठिक भएन तिम्रो भनेर सरकारलाई अन्तर्राष्ट्रिय बिचौलियाहरुले चिठ्ठी र बक्तब्य दिएको हिजोअस्तिको स्मरणीय छ। कुनै पनि मुलुकको आन्तरिक मामलामा यो अनौठो मानिन्छ। अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरुको जब, कुनै पनि पार्टीहरुमा र सरकारमा पहुँच पुग्दा; त्यहाँ व्यवस्थापकीय पदमा आफ्ना भरियाहरु नियुक्ति गरेको देखिन्छ। जस्तै: नेपालका संवैधानिक पदहरुमा केही नियुक्तिहरु हिजो उनीहरुको उद्देश्य र मातहत काम गरेका ब्यक्तिहरु भर्ना गरेको प्रस्ट देख्न सकिन्छ।

अन्तर्राष्ट्रिय बिचौलिया र फण्डितहरुको वर्गीकरण प्राध्यापक उहलिनका आधारहरु लिएर लिएर गर्दा

१. अन्तर्राष्ट्रिय/ राष्ट्रिय कर्पोरेसनहरूका नायक/ खलनायकहरु: यसमा विभिन्न कार्यक्रमहरू होस्ट गर्नेदेखि लिएर जलविद्युत् आयोजनामा सम्मिलित कम्पनीहरू- नीति नै परिवर्तन गरेर पीडीए गर्ने/नगर्ने र अन्य प्राकृतिक स्रोत र साधनको दोहन गर्ने आदि पर्दछन्। जस्तै: कर छल्ने एनसेल, कोकाकोलाको सेयर बेचबिखनबाट पटक पटक स्वामित्व परिवर्तन गुपचुप राखी कर छली, चन्द्रा गिरी केवल कार – सरकारी जग्गा प्रयोग, बालुवाटार जग्गा, ट्रस्ट जग्गा प्रकरण आदि। यिनीहरू राजनीतिक पार्टीहरू र नागरिक समाज भन्दा नेपालमा भिन्न छन् तर विश्व बजार अर्थव्यवस्था सञ्चालनमा सहभागी भएको देखिन्छन्। यो प्रजातान्त्रिक शासकीय व्यवस्थामा आर्थिक स्रोतहरू र गतिशीलता मार्फत उनीहरू आफ्नो शक्ति मार्फत पार्टीहरू र सरकारलाई घुमाउँछ्न्।

२. अन्तर्राष्ट्रिय नागरिक समाज अभिनेताहरू: यिनीहरू धार्मिक मान्यतासहित मानवीय विचार र मूल्यहरूबाट अभि प्रेरित हुन्छन्। यिनीहरूको आन्तरिक सङ्गठनात्मक संरचना उद्देश्य फैलाउने मिडिया (नेटवर्क) देखि नेपालका औपचारिक कार्य गर्ने गैरसरकारी संस्थासम्म जोडिएको छ। पैसाको प्रयोगले नेपालका सांसद अर्थात् अत्यधिक राजनीति कर्मी साथै गैरराजनीतिक व्यक्तिहरू प्रयोग गरेको देखिन्छ। यसका प्रशस्त उदाहरणहरू हामी पञ्चायतकालदेखि देख्दै र भोग्दै आएका छौँ। हाल नेपालमा धर्म परिवर्तनको पाटो यही मार्फत गरेका छन् भने यिनका प्रकाशनहरू हेर्दा सामान्य बिकासका कुराहरु लेखिएको पनि भेटिन्छ। यस भित्र अध्ययन गर्दा, औपचारिक सङ्गठनात्मक संरचना नभएका अभियन्ता जो सामाजिक आन्दोलन भन्छन् अनि प्रयोग सामाजिक सञ्जाल गर्छन्। सामाजिक रूपान्तरण गर्ने कट्टर लक्ष बोकेको द्वन्द्व गर्ने र आन्दोलन गर्ने विषय ल्याउँछन्। त्यस्तै अर्को, एड्भोकेसी गैर सरकारी संस्थाहरु  औपचारिक छन्। हाम्रो द्वन्द्वकालीन अवस्थामा राम्रो पैसा दाताहरूबाट लिएको देखिन्छ। यी पेसागत मान्छेहरू विभिन्न मुद्दाहरूमा राजनीतिक निर्णय कर्ताहरूसँग लबिङ, नीति र कानुन निर्माणमा दखल राखी आम्दानी गर्छन्। जस्तै: संसद् पुनर्स्थापनाको मुद्दामा यिनीहरूको सहभागिता अर्को उदाहरण देखिन्छ। अर्को उदाहरण, अन्तर्राष्ट्रिय श्रम सङ्गठन पनि हो। अगाडि जाँदा , सेवा र सुविधा दिने सँग सँगै हाम्रा कमजोरी छुवाछुत , मानव अधिकार, फेद नै नभएको सशक्तीकरण, सुशासन जस्ता विषयहरूमा खेलेर सामाजिक विखण्डनमा भूमिका निर्वाह गरिरहेका गैर सरकारी संस्थाहरू अन्तर्राष्ट्रिय धार्मिक कलाकारहरू पनि नेपालमा काम गरिरहेको देखिन्छ। यिनै संस्थासँग प्रत्यक्ष र प्रत्यक्ष जोडिएका विभिन्न अभियन्ताहरू मिडिया डेमोक्रेसीको प्रयोग गरी धर्म, संस्कृति, रीतिथिति, चाडपर्वमाथि आक्रमण गर्दै पश्चिमी क्रिस्चियानिटी र नेपाललाई अस्थिरतामा राख्न भूमिका खेलिरहेको अनेकथरिको सडक आन्दोलनदेखि अभियन्ता नामको नाटक देखिन्छन्। यहाँ यिनै फण्डितहरुको भूगोल बिचार र विश्लेषण गर्दा फस्टाउने र नेपालमा स्थापित हुनुको कारणहरूमा: वैश्विक आर्थिक रूपरेखामा रूपान्तरण हुनु, एसिया क्षेत्रमा अर्थतन्त्र बलियो बन्दै जानु, सर्किट र अन्तरक्रिया बढ्नु, ग्लोबल उत्पादन नेटवर्कमा फरक, फरक शक्ति सम्बन्ध स्थापित हुनु र अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल स्थापित हुनु देखिन्छ।

अर्को आन्तरिकतिर अध्ययन गर्दा, देशको अर्थ–राजनीति अवस्था कमजोर हुनु, पार्टी नेतृत्व, सांसद र कर्मचारी थोरै पैसा, सेवा र सुविधामा बिक्री हुनु अनि नीति, नियन्त्रण, नियमन र कानुन फितलो हुनुसाथै प्रक्रिया र पद्धति बनाउन/ बसाउन संस्थागत विकास नहुनु देखिन्छ।

३. ट्रासनेशनल अर्थ राजनीतिका उद्देश्यहरू बोकेर राजनीति गर्ने नायकहरू सम्मिलित राजनीतिक दलहरू: राजनीतिकशास्त्रका प्राध्यापक कार्ल म्यागनुस जोहन्सन (१९९७) मै भन्छन्; अर्थ –राजनीतिको बहावमा अन्तर्राष्ट्रियकरण भइरहेको छ। यो बहुस्तरीय शासकीय व्यवस्थाका कारणहरूले हुन गयो। नेपालका पार्टीहरूमा बहुस्तरीय गभर्नेन्स, गैरसरकारी संस्थाहरुले उचालेका मुद्दाहरु बोकेर हिँडेको देखिन्छ। समाजवाद भनिएको छ, त्यसमा कुनै दृष्टि विचार र कार्ययोजनामा काम गरेको देखिँदैन। यसमा धेरै बिचौलियाहरूको उद्देश्य र नारा बोक्ने पार्टीगत रूपले माओवादी पार्टी देखिन्छ भने अर्कोतिर एमाले र नेपाली काङ्ग्रेसमा रहेका गुट र उपगुटले आंशिक रूपले गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय बिचौलिया वर्गले बोकेका मानिसहरू काँधमा राखेर राजनीति गरिरहेको देखिन्छ।

यिनीहरुसँग नेपालको भूगोल अनुसार आफ्ना उद्देश्य, विचार, दृष्टि र कार्ययोजना नभएको प्रस्ट हुन्छ। यी पार्टीहरु कसरी विविधता समेट्नेतिर लागेको देखिँदैन, उनीहरु शक्ति, कुर्सी र स्रोतसाधन कसरी प्रयोग गर्ने स्वार्थबाट बाहिर निस्कन अत्यावश्यक भइसकेको छ। यहाँ यी पार्टीहरुमा सम्मिलित बौद्धिक भनाउँदो वर्गको दोहोरो चरित्र देखिन्छ। पार्टीको गुणगान गाउँछ तर दाताका उद्देश्यहरूमा काम गर्छ। यही बिचौलिया र फण्डितहरुको ज्ञानको सागर कै (नोलेज) स्रोतमा पार्टीको वैचारिक धरातल देखिन्छ। यी नायकहरू आन्तरिक राज्यका समस्याहरू अन्तर्राष्ट्रियकरण नेटवर्किङ मार्फत गरेर खेल्न सिपालु हुन्छन्। आएका अवसरहरू, उनीहरूको स्वार्थी मनसायलाई नगदमा बदल्छन् भने अवरोधहरूलाई अन्तर्राष्ट्रियकरण गरी मुद्दाहरु पन्छाउँछ्न् वा पार्टी र गुटकरण गरेर एक अर्कोप्रति आक्षेप विकसित गरी राजनीतिकरण गरेर नेपालीलाई मूर्ख घाँस खाने बनाउँदै आएको देखिन्छ। उदाहरण: अगाडि नै रहेको एमसिसी, बिआरआई आदि भूराजनीतिमा, आन्तरिक र अन्तर्राष्ट्रिय मुद्दाहरु छन्। यस्तो पार्टी गैरसरकारी संस्था भन्दा फरक हुन्छ, शक्ति हातमा पार्न निर्वाचनमा जान्छ। यसले राजनीतिक मुद्दाहरु हाम्रोजस्तो मुलुकमा जातजाति, सुकुम्वासी, मानव अधिकारजस्ता विषयहरू समाउँछ भने अन्तर्राष्ट्रिय बिचौलिया वर्गदेखि उपल्लो स्तरमा स्थापित इलाइट्सहरुको भरिया बन्छ। यी राष्ट्रिय पार्टीहरू वैचारिक पहिचान, स्वायत्तता, कार्य स्वतन्त्रताको अर्थमा वकालत गर्छन्।

४. अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू : वैश्विक बजार अर्थतन्त्रमा एकीकृत आर्थिक संसाधनहरूबाट लाभ लिने तर प्राथमिक रूपले लाभ नलिने संस्थाहरू जस्तै : फोर्ड, सोरोस्, गेट्स जस्ता संस्थाहरू हुन्। उनीहरूको उद्देश्य नागरिक आन्दोलनका कलाकारहरूको क्रियाकलापमाथि लगानी गर्नु हो। भोगेल (२००६) का शब्दहरूले यिनीहरूको उद्देश्य प्रस्ट पार्दा, वैश्विक पुँजीवाद र अमेरिकी प्रजातन्त्रको प्रचारप्रसार गर्नु हो। जस्तै: नेपालमा पनि जर्ज सोरोसको लगानी ओपन सोसाइटीमा देखिन्छ, ओपन सोसाइटीले यहाँ अमेरिकी प्रजातन्त्रको प्रचारप्रसार गर्न फण्डितहरुले उनीहरूको उद्देश्यमा काम गरिरहेको देखिन्छ। यी संस्थाहरू आर्थिक रूपले कम पारदर्शी छन् र देखिन्छन्।

अर्कोथरि हेर्ने हो भने ज्ञान मीमांसा खोज्नेहरू र विभिन्न बौद्धिक वर्गहरू पनि कन्सल्ट्यान्टको रूपमा राज्यको नीति निर्माणमा विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा/ऋण कार्यक्रममा बिचौलिया बनेर कार्य गरेको देखिन्छ। नेपाललाई ऋण र सहयोग दिनेहरूले पनि आफ्नो उद्देश्यको घेरा बाहिर जाँदैन भनेर सीमित घेराभित्र यो वर्ग पालेको देखिन्छ जो उठ् भन्दा उठ्छ र बस भन्दा बस्दछ जो चाकरी र चाप्लुसीमा माहिर छ। उता पार्टीको नेतृत्वमा रहनेको पनि चाकरी यही बौद्धिक वर्ग हुँ भन्नेले गर्दछ। यही प्रस्ट हाल नेपालको अर्थ – राजनीतिको बहावमा देखिन्छ।

५. शरणार्थी बसाई सराइ आएकाहरूको समूह : नेपालको सन्दर्भमा यहाँ सन् १९४७ भारत – पाकिस्तान विभाजन हुँदा छिरेका, सन् १९७१ मा बङ्गलादेश छुट्टिँदा छिरेका, भारतले ल्याएर थुप्रो लगाइदिएका भुटानी, स्व. इन्दिरा गान्धीले इमर्जेन्सी लगाउँदा छिरेका, पन्जाब आन्दोलन र भारतीय बम काण्ड आदिसँग जोडिएका छिरेका आदि देखिन्छन्। यो समूह राज्य सिमानाहरू पार गरेर आएको, जुन भूमिबाट आयो त्यही जस्तो मूल्य मान्यता र पहिचान खोज्दछ। छिमेकी मुलुकले आतंककारी गतिविधिमा संलग्न पनि भनेको छ भने भारतीय नागरिक नेपालको सांसद बनेको प्रस्ट लेखेका छन्। यस वर्गको बौद्धिक र इलाइट्स वर्गलाई अन्तर्राष्ट्रिय नायकहरूले प्रयोग गरेको देखिन्छ।

यहाँ तहगत हेर्दा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, सुप्रा नेशनल र स्थानीय, कर्पोरेट मिडिया र नेटवर्किङसँगै उपल्लो केही कर्मचारी बिचौलिया/ नायक/खलनायक भएर नेपालको सरकार चलाइरहेको देखिन्छ। संवैधानिक निकायहरूदेखि मन्त्री सांसद, सल्लाहकार जस्ता राज्यका मुख्य भूमिकामा रहने व्यक्तिहरू दाता, अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी संस्था र उनको स्वार्थसँग जोडिएका मान्छेहरूको बाहुल्य देखिन्छ। त्यस्तै , लेखक र बुद्धिजीवीहरू पनि जोडिएको देखिन्छ। यीमाथिका अध्ययनका आधारहरू लिँदा हामी पुरै बनियाँबादतिर र राज्यको विखण्डनतिर यात्रा तय गरिरहेका छौँ। यो रोक्नु पार्टीहरूको र सरकारमा रहनेहरूको मुख्य जिम्मेदारी देखिन्छ। मुलुकले राम्रो बाटो समाएको छैन। सुध्रनु बाहेक हामीसँग विकल्प छैन।

(यो लेख नेपालमा अन्तर्राष्ट्रिय बिचौलियाहरु शीर्षक लेखको दोस्रो भाग हो। यो लेखको पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस्।)

लेखक ‘सङ्घीयताको अर्थ – राजनीति’ पुस्तकका लेखक हुन्।

साउन १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्